७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

महामारीमा नागरिकको उपचार निःशुल्क गर्न माग

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विपन्न नागरिकको सबै प्रकारको उपचार निःशुल्क गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै उनले सरकारको जुनसुकै कोषमा रहेको रकम नागरिकको जीवन रक्षाका लागि खर्च गर्नुपर्ने बताएका हुन्।

‘कर्णाली प्रदेशका कोरोना प्रभावित जिल्लाका सबै स्थानमा तत्काल पीसीआर परीक्षणलाई अभियानका रुपमा तीव्रता दिई कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक बनाइयोस्,’ उनले भने, ‘अक्सिजन, भेन्टिलेटर र आवश्यक औषधिको अभाव हुन नदिन सबै प्रकार पहुँचको प्रयोग गरियोस्।’

प्रदेश  र जिल्ला अस्पतालहरुमा पर्याप्त बेडहरुको प्रबन्ध गर्न थप काम गर्नुपर्ने भन्दै उनले विपन्न नागरिकहरुको सबै प्रकारको उपचार प्रदेश सरकारले निःशुल्क व्यवस्था गर्नुपर्ने माग राखे। दिनरात नभनी बिरामीको जीवन रक्षा गर्न आफ्नो जीवनलाई खतरामा राखी अहोरात्र खटिरहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्ने अन्य वातावरण निर्माणका साथै प्रदेश सरकारका तर्फबाट यथेष्ट अतिरिक्त आर्थिक सुविधा उपलब्ध तत्काल गराउनु पर्ने उनको भनाइ छ।

स्थानीय सरकारहरुलाई प्रदेश सरकारका तर्फबाट थप बजेट उपलब्ध गराइ यो अभियानमा समन्वयात्मक तरिकाले स्थानीय तहलाई थप क्रियाशील बनाउने वातावरण निर्माण गरियोस् भन्दै उनले भने, ‘निषेधाज्ञा जारी गरिएका कारणले दैनिक जीवन गुजारा गर्न नसक्ने मजदुरलगायत विपन्न परिवारलाई बिहान बेलुकीको खानासमेतको व्यवस्था गर्ने गरी राहत प्याकेज व्यवस्था गरियोस् ।’

साथै प्रदेश सरकार चनाखो नबन्दा कर्णालीमा कोरोना भाइरसको जोखिम बढेको उनको आरोप छ। ‘पहिलो चरणको कोरोना संक्रमणको अनुभवबाट शिक्षा लिइ कर्णाली प्रदेशको राजधानी र कतिपय जिल्लाका स्थानहरु कोरोना महामारीको हटस्पट बन्न सक्छन् भनेर दुई महिना अघिनै अनुमान गरी, गर्न सक्ने पूर्वतयारी र व्यवस्था समयमै नगर्नु सरकारको ठूलो कमजोरी मात्र होइन लापरबाही पनि हो,’ उनी भन्छन्, ‘सरकारले त्यतिबेला नै चनाखो भएको भए यस्तो स्थिति हुने थिएन।’ सरकारले विगतको काम गर्ने तरिका र मानसिकतामा आमूल परिवर्तन गरी प्रदेश सरकारको जुनसुकै कोषमा रहेको रकमलाई प्रयोग गरी कर्णाली प्रदेशका नागरिकको जीवन रक्षालाई प्रथम र अहिलेलाई सरकारको एक मात्र लक्ष्य निर्धारण गरी युद्धस्तरमा सम्पूर्ण व्यवस्था गर्न सरकार गम्भीर बन्नु पर्ने उनको भनाइ छ । ‘नागरिकको जीवन रक्षा गर्ने कार्यमा कर्णाली प्रदेश कांग्रेस संसदीय दल र सिंगो नेपाली कांग्रेस पार्टी सरकारको साथमा रहने वचन र विश्वास हामी सरकारलाई दिलाउन चाहान्छौं,’ उनले भने।

प्रकाशित: २४ वैशाख २०७८ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App