८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सिलिन्डर नहुँदा अक्सिजन अभाव

विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन रिफिलिङ गर्ने क्षमता भए पनि सिलिन्डर नहुँदा अक्सिजन अभाव भएको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ।

सिलिन्डर नभएकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको संघका अध्यक्ष गौरव शारडाले बतााए। ‘उपत्यकाबाहिरका ग्यास रिफिलिङ उद्योग ५० प्रतिशत क्षमतामा मात्र चलेका छन्,’ उनले भने, ‘सिलिन्डर नहुँदा उद्योगले अक्सिजन भर्न पाएनन्।’ सरकारले सिलिन्डर उपलब्ध गराउने हो भने आवश्यक जति अक्सिजन उपलब्ध गराउने उद्योगीको तर्क छ। संघका अनुसार अहिले मुलुकभर करिब ६०/७० हजार अक्सिजन सिलिन्डर छन्। केहीले अनावश्यक रूपमा स्टक गरेको बताए पनि सिलिन्डर कम हुनु नै अभावको मुख्य समस्या भएको उद्योगी बताउँछन्।

मुलुकमा निजी क्षेत्रले दुई दर्जन अक्सिजन ग्यास उद्योग सञ्चालन गरेका छन्। तीमध्ये आठवटा उपत्यकामा छन्। डेढ दर्जन उद्योग चितवन, बुटवल, भैरहवा, नेपालगन्ज, वीरगन्ज, विराटनगर, सुनसरीलगायतका ठाउँमा छन्। राजधानीका उद्योगले पूर्ण क्षमतामा सिलिन्डर भरे पनि बाहिरका उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको शारडाले बताए। ‘कोभिड संक्रमण बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएको छ,’ उनले भने, ‘सिलिन्डर नहुँदा उपत्यकाबाहिरका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन पाएनन्।’  

निजी क्षेत्रले सञ्चालन गरेका उद्योगमा दैनिक १७ हजार सिलिन्डर भर्ने क्षमता छ। तीमध्ये उपत्यकाका आठ उद्योगले दैनिक आठ हजार सिलिन्डर भर्न सक्छन्। केही सरकारी अस्पतालमा पनि अक्सिजन भर्ने प्लान्ट छन्। विगतमा अक्सिजनको धेरै माग नहुने भएकाले उद्योगले धेरै सिलिन्डर खरिद गरेनन्। कोभिडको उपचारमा अक्सिजन अनिवार्य भएकाले माग एक्कासि बढेको छ तर सिलिन्डर नहुँदा उद्योगले भर्न पाएका छैनन्। उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले खाली सिलिन्डर ल्याउने व्यवस्था मिलाउनुपर्ने अध्यक्ष शारडा बताउँछन्। उद्योगलाई सिलिन्डर उपलब्ध गराउन सके उत्पादन वृद्धि गर्न सकिने उनको तर्क छ।  

सिलिन्डर बनाउने उद्योग नेपालमा नभएकाले भारत, चीनलगायतका मुलुकबाट ल्याउने गरिन्छ। सिलिन्डर भए यहाँका उद्योगले अक्सिजन रिफिलिङ गर्न सक्छन्। निजी क्षेत्रका उद्योगले ४७ लिटर र १० लिटर क्षमताका सिलिन्डर भर्दै आएका छन्। ग्यास उद्योगीले सरकारले सिलिन्डर ल्याउन सहजीकरण गर्ने हो भने बजारमा अभाव नहुने बताउँछन्। क्षमता भएर पनि सिलिन्डर अभावले भर्न नपाएको एभरेस्ट अक्सिजन उद्योगका सञ्चालक शिव घिमिरेले बताए। 

‘सिलिन्डर नहुँदा उद्योगले अक्सिजन भर्न पाएका छैनन्,’ घिमिरेले भने, ‘जनताको जीवन बचाउने हो भने एयर लिफ्टिङ गरेर खाली सिलिन्डर विदेशबाट ल्याउनुपर्छ।’ सरकारले सहयोग गरे चीनबाट सिलिन्डर ल्याउन सकिने उनले बताए।  ग्यासका सिलिन्डर अभाव भएपछि विदेशबाट ल्याउने तयारी भएको सरकारले जनाएको छ। करिब २० हजार सिलिन्डर चीनबाट ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्। तीमध्ये पहिलो खेपमा दुई हजार सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाउनेबारे छलफल सुरु भएको सरकारले जनाएको छ।

सरकारले सिलिन्डर उपलब्ध गराए आवश्यकताअनुसार अक्सिजन ग्यास उपलब्ध गराउने उद्यमीहरूले बताएका छन् । सरकारले भने सिलिन्डर आयात गर्न बल्ल छलफल सुरु गरेको छ ।

उत्पादन हुने अक्सिजन ग्यास सिलिन्डर ६० प्रतिशत अस्पताल र करिब ४० प्रतिशत औद्योगिक प्रयोजनमा प्रयोग हुँदै आएको थियो। हाइड्रो, ग्रिल, सिमेन्ट, सिसा उद्योग, वर्क सपलगायतका औद्योगिक क्षेत्रमा अक्सिजन प्रयोग हुन्छ। कोभिड संक्रमण बढेपछि औद्योगक प्रयोजनका लागि अक्सिजन बिक्री रोक्न सरकारले निर्देशन दिएको छ। अहिले पनि केही सिलिन्डर उद्योगधन्दामा प्रयोग गरको पाइएकाले ती सिलिन्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

यही गतिमा कोभिडको संक्रमण फैलँदै गए अबको १०/१५ दिनमा अक्सिजन ग्यासको हाहाकार हुने संघका अध्यक्ष शारडा बताउँछन्। कोभिडका बिरामी सिरियस भएपछि आइसियु, भेन्टिलेटलरको अभाव हुँदा अक्सिजन दिएर उपचार गरिँदै आएको छ। अस्पतालमा बेड अभाव हुन थालेपछि आइसोलेसन सेन्टरमा अक्सिजन दिएर उपचार सुरु गरिएको छ। ग्यास सिलिन्डरको अझै अभाव हुन देखिन्छ। विभिन्न जिल्लामा स्थानीय तहले पनि अक्सिजन ग्याससहितका आइसोलेसन सेन्टर बनाउन थालेका छन्। सिलिन्डर लगेर फेरि उद्योगमा ल्याएर रिफिलिङ गर्न धेरै समय लाग्न सक्छ।

मुलुकभरका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीलाई आवश्यकताअनुसार अक्सिजन अपुग भएपछि अन्य क्षेत्रमा अक्सिजन ग्यास प्रयोगमा रोक लगाएको हो। स्वास्थ्य संस्थामा मात्र नभएर व्यक्तिले घरमा समेत अक्सिजन ग्यास होल्ड गर्न थालेपछि अक्सिजन अभाव भएको बताइएको छ। संक्रमितको संख्या दिनानुदिन वृद्धि हुँदै जाँदा अक्सिजनको माग उच्च छ। यहाँका अक्सिजन उत्पादकले माग पूरा गर्न सकेका छैनन्। ‘सरकारको निर्देशनपछि औद्योगिक क्षेत्रलाई अक्सिजन सिलिन्डर दिन छाडेका छौं,’ अध्यक्ष शारडाले भने।

सरकारले मोबाइल अक्सिजन ग्यास प्लान्ट राख्न पहल सुरु गर्नुपर्ने अध्यक्ष शारडाको सुझाव छ। ‘अहिलेको तुलनामा बिरामी बढ्दै जाँदा यहाँ उत्पादन गरेको ग्यासले पुग्ने अवस्था हुँदैन,’ उनले भने, ‘सरकारले मोबाइल रिफिलिङ प्लान्ट ल्याउनुपर्छ।’ दातृ निकायसँग समन्वय गरेर यो काम तत्काल सुरु गनुपर्ने उनले बताए। वैकल्पिक व्यवस्था नगर्ने हो भने अवस्था झन् भयावह हुने उनी बताउँछन्।  

अक्सिजन सिलिन्डर लुकाउन थालेपछि सरकारले कारबाही गर्ने चेतावनी दिएको छ। उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिन्डर लुकाउनेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने सरकारले जनाएको छ।  

यता निजी क्षेत्रले पनि अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगलाई आफूसँग मौज्दात रहेका सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपिल गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष मोर, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बिहीबार संयुक्त विज्ञप्ति निकाली स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन ग्यास उद्योगीहरूलाई अनुरोध गरेका छन्।

प्रकाशित: २४ वैशाख २०७८ ००:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App