७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

उदयपुरमा सक्रिय संक्रमितको संख्या १ सय ५

सदरमुकामस्थित उदयपुर जिल्ला अस्पताल। तस्विरः महेश्वर/नागरिक

उदयपुरमा एकपछि अर्को गरी कोभिड भेरिएन्ट संक्रमितको संख्या बढ्दैछ। बुधबार मात्र २७ नयाँ थपिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ५ जना पुगेको छ। बुधबार १४ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

नयाँ संक्रमितहरुमा त्रियुगा नगरपालिकाका १० महिलासहित १८, चौदण्डीगढी नगरपालिकाका २ महिलासहित ४, कटारीका १ महिलासहित ४ र बेलका नगरपालिकाका १ पुरुष रहेका छन्। हालसम्म उदयपुरमा कोविडका कारण मृत्यु हुनेको संख्या १ महिलासहित ३ पुगेको छ। वैशाख ५ गते एक महिलाको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको थियो भने अघिल्लो दिन एक पुरुष र बुधबार विहान थप १ पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

कोभिड भेरिएन्टको महामारीले अधिकतम बिरामी अक्सिजन नपाएर मृत्यु रोज्न बाध्य भईरहेको समाचार आईरहेका बेला उदयपुरका अस्पतालहरुको अवस्था र पूर्व तयारी कस्तो छ भन्ने विषयमा धेरैलाई जिज्ञासा हुनु स्वभाविक हो। सदरमुकाममा ५० शय्यााको जिल्ला अस्पताल, चौदण्डीगढी नगरमा २२ शय्याको उदयपुर कोविड अस्पताल र ८ वटै स्थानीयतहमा १० देखि १५ शय्यासम्मका नगर तथा गाउँ अस्पताल सञ्चालनमा रहे पनि अक्सिजन भने पर्याप्त जोहो छैन।  

कटारीमा १५ शैयाको अस्पताल, चौदण्डीगढीमा कोभिड अस्पतालबाहेक १५ शय्याको नगर अस्पताल तथा बेलकामा १० शय्याको नगर अस्पतालसहित ताप्ली, उदयपुरगढी, लिमचुङबुङ तथा रौतामाई गाउँपालिकामा पछिल्लो समय १०÷१० शय्याका गाउँ अस्पताल सञ्चालनमा ल्याइए पनि अक्सिजन भने छैन। हाल व्याप्त कोभिड संक्रमणकालमा जटिलखाले बिरामीलाई उपचार गर्न नभई नहुने अक्सिजनको छ छैन भन्ने कुरा मुख्य चासोको विषय हो।  

गम्भीर संक्रमितलाई अत्यावश्यक हुने अक्सिजन, आईसियु तथा भेन्टिलेटरको व्यवस्था उदयपुरमा पर्याप्त नभए पनि काम चलाऊ भने रहेको स्रोतल जनाएको छ। उदयपुर जिल्ला अस्पतालमा १० थान साना (५ लिटर) र १० थान ठूला (१०) लिटरका गरी २० थान अक्सिजन सिलिण्डर मौज्दात रहेको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले बताएका छन्। उनका अनुसार नेपाल सरकारको नियमानुसार ५० शय्याासम्मका अस्प्तालमा २० थान अक्सिजन सिलिण्डर राख्न दिने व्यवस्था अनुसार अक्सिजन सिलिण्डर काम चलाउ अवस्थमा छ।  

कुनै पनि बेला गम्भीरखाले बिरामी आउन सक्ने भएकाले अक्सिजनको व्यवस्था गरिएको डा. मण्डल बताउँछन्। अहिले कोभिड माहामारीको समय भएकाले जटिल बिरामीलाई अक्सिजन अनिवार्य तयारी हालतमा राखिएको डा.मण्डल्ले बताए। २० थान सिलिण्डरबाट एकैचोटी २० जनासम्मलाई उपचार गर्न सकिने र खाली भएका सिलिण्डर भर्न पठाउँदा तत्काल पाइयो भने धेरै बिरामी बचाउन सकिने डा. मण्डल बताउँछन्।  

‘पर्याप्त मात्रामा नभए पनि हुँदै नभएको अवस्था होईन, बजारमा अक्सिजन किन्न नपाइए चिन्ताको कुरा हो तर, सिलिण्डर अभावमा बिरामी तड्पिनु पर्ने अवस्थ भने छैन’ डा. मण्डलले भने ‘२० थान सिलिण्डरले गम्भीर खालका २०–४० जना बिरामीलाई पालो गरी उपचार गर्न सकिन्छ।’ तर, बिरामीको चाप एक्कासी बढ्यो भने चाही समस्या आउन सक्ने भएकाले थप सिलिण्डर व्यवस्था गर्नेतर्फ पनि अस्पतालले तयारी गरिरहेको उनले बताए।  

गतवर्षको कोभिड कहरकै बेला जिल्लाको चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित बेलटारमा स्थानीयतहहरुको सक्रियतामा उदयपुर कोविड अस्प्ताल सञ्चालनमा ल्याएको छ। त्यहाँ पनि १० थान अक्सिजन सिलिण्डर तैनाथ हालतमा राखिएको नगर स्वास्थ्य संयोजक तेजबहादुर पोखरेलले बताए। उनका अनुसार २ थान साना र ८ थान ठूला अक्सिजन सिलिण्डर कोविड अस्पतालमा तैनाथ गरेर राखिएकोमा ३ वटा प्रयोगमा ल्याइएको छ। दुईदिनअघि भर्ना भएका गम्भीर खालका कोविड संक्रमितलाई अक्सिजन दिएर उपचार भईरहेको उनले बताए।  

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले कोविड अस्पतालमा १० थान र नगर अस्पतालमा १० थान अक्सिजन सिलिण्डर तैनाथ राखिएकाले तत्काल गम्भीर बिरामीलाई उपचार गर्न खाँचो नहुने बताए। मेयर राईका अनुसार दुवै अस्पतालमा गरी २० थान सिलिण्डर मौज्दात रहेको थप सिलिण्डरको माग गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयमा पत्राचार गरिएको छ।  बजारक्षेत्रमा सामान्य अक्सिजनको जोहो भए पनि गाउ अस्पतालमा भने कुनै व्यवस्था नभएको स्थानीय स्वास्थ्य संयोजकहरुले बताएका छन्। 

लिमचुङबुङ गाउँ अस्पताल बाराहामा भर्खरै सञ्चालनमा आएको १० शय्याको अस्पतालमा अक्सिजन सिलिण्डर नभएको स्वास्थ्य शाखा प्रमुख नौलसेर राईले बताए। उनका अनुसार बर्थिङ सेन्टरमा भने सुत्केरीलाई आवश्यक पर्नसक्ने भन्दै एक–एक थान सिलिण्डर जोहो गरेर राखिएको छ। तर, अस्पतालकै लागि भने हाललाई कुनै व्यवस्था नभएको र किन्ने कार्यक्रम पनि छैन । भर्खरै सञ्चालनमा आएको अस्प्ताल भएकाले अक्सिजन सिलिण्डर राख्ने कुनै योजना नभएको राईले बताए।

उता, ताप्ली, उदयपुरगढी, रौतामाई गाउँ अस्पतालहरुमा पनि अक्सिजन सिलिण्डरको व्यवस्था नभएको बताइएको छ। सदरमुकाम र बजारक्षेत्रबासीलाई अक्सिजन समस्या उत्ति नपरे पनि सडकको दुरावस्था, वर्षाको मौसम र दुर्गम ठाउँ भएकाले कोविडले साह्रो पारेमामा गाउँले जीवनलार्य अक्सिजन सिलिण्डरको अभावले कठिनाई हुने आँकलन गरिएको छ। जिल्लाका पहाडी गाउँपालिकाहरु अत्यन्त बिकट, अधुरा कच्ची सडक र वर्षायाममा पहिरो र हिलाम्य हुने हुँदा सदरमुकाम आउन १२ घण्टादेखि २ दिनसम्म लाग्ने दुरीका छन्।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले सबै अस्पतालमा अक्सिजनको पहुँच नपुगेको जनाएको छ। साविकका प्रत्येक गाविसका साविक उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गरिएको र त्यसैलाई भर्खर मात्र गाउँ अस्पतालमा परिणत गरिएको हुनाले अक्सिजनको पहुँच नहुनु स्वभाविक भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदी बताउँछन्। गाउँमा अक्सिजन भए पनि दक्ष जनशक्ति अभाव भएकाले जटिलखालका बिरामीलाई तत्काल सदरमुकाम र सुविधासम्पन्न अस्पताल रिफर गर्नु नै अन्तिम बिकल्प रहेको उनले बताए।

प्रकाशित: २३ वैशाख २०७८ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App