७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सिकिस्त भएर अस्पताल आउँदा बचाउन कठिन

कोरोना संंक्रमितको उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बनाइएको आइसोलेसन वार्ड। तस्बिर: उमेश/नागरिक

पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको शनिबार बेलुकी साढे ७ बजे यहाँको गण्डकी मेडिकल कलेजमा ज्यान गयो। शनिबार मात्रै ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएकै दिन ती पुरुषको ज्यान गएको हो।

उनी मात्र नभई पोखरामा पछिल्लो दुईदिनमा कोरोनाका आठजनाको संक्रमितको मृत्यु भयो। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तीमध्ये सातजना संक्रमित पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा थिए। एकजना संक्रमितले भने होम आइसोलेसनमा ज्यान गुमाएका छन्। मृत्यु हुनेमा चारजना पुरुष र चारमहिला रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ।  

निर्देशनालयका अनुसार ज्यान गुमाएका अरू व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको अवधि खासै धेरै छैन। तर, उनीहरूले ज्यान भने कोरोनाकै कारण गएको छ। चिकित्सकहरूका अनुसार बिरामीहरू सकेसम्म अस्पताल जानै नपरे हुन्थ्यो भन्ने चाहन्छन्। अस्पतालसम्म पुग्न ढिलाइ गर्दै घरमै बसेर आफुखुसी औषधि खाइरहेका हुन्छन्। अन्तिम अवस्था आइपरेपछि मात्र बल्ल अस्ताल पुग्ने चलन छ। अन्तिम अवस्थामा अस्पताल पुग्दा बचाउन कठिन हुने गरेको चिकित्कसकको भनाइ छ।

चिकित्सकहरूका अनुसार बिरामीहरू सकेसम्म अस्पताल जानै नपरे हुन्थ्यो भन्ने चाहन्छन्। अस्पतालसम्म पुग्न ढिलाइ गर्दै घरमै बसेर आफुखुसी औषधि खाइरहेका हुन्छन्। अन्तिम अवस्था आइपरेपछि मात्र बल्ल अस्ताल पुग्ने चलन छ। अन्तिम अवस्थामा अस्पताल पुग्दा बचाउन कठिन हुने गरेको चिकित्कसकको भनाइ छ।

शारीरिक अवस्था कमजोर भएर अस्पताल पुगेका कतिपय व्यक्तिमा त कोरोना नै पुष्टि भएको हुँदैन, तर, अवस्था भने नाजुक भइसकेको हुन्छ। कठिन अवस्थामा अस्पताल पुगेका बिरामीलाई बचाउन धौधौ हुने गरेको चिकित्सक बताउँछन्। ‘जति बिरामीले ज्यान गुमाएका छन्, उनीहरूमध्ये अधिकांश बेलैमा अस्पताल नआएर हो,’ फिजिसियन डा. सरोज पोखरेलले भने, ‘बिरामीले कोरोनालाई सामान्य रुघाखोकी भनेर घरमै बस्दा कडाखालको निमोनिया बनाउने गरेको छ। जसका कारण ज्यान जाने गरेको छ।’ पोखरेलका अनुसार रुघाखोकी भनेर लामो समयदेखि घरमै बसेका बिरामीलाई निमोनियाले गलाइसक्दा बल्ल अस्पताल आउने गरेका छन्। त्यसले गर्दा ती बिरामीलाई बचाउन कठिन हुने गरेको उनले बताए।  

‘अस्पताल आएका बिरामीलाई हामीले बचाउनका लागि केही न केही उपाय लगाउँछौ,’ पोखरेलले भने, ‘तर अस्पताल नै नआएपछि हाम्रो पनि केही लाग्दैन। स्वास्थ्यमा समस्या आउनासाथ चिकित्सकको परामर्श लिने हो भने खासै समस्या हुँदैन।’ घरमा बसेका बिरामी अन्तिम अवस्था भएसम्म अस्पताल नआउँदा मृत्युदर बढेको उनले बताए। ‘अलिकति समस्या भयो भने पनि घरमै बस्दा निको होला भनेर अस्पताल आउँदैनन्, त्यसले गर्दा पनि समस्या भएको हो,’ उनले भने। रुघाखोकी भनेर घरमै बस्दा पनि बढी समस्या निम्तिने गरेको पोखरेलले बताए।

गण्डकी मेडिकल कलेज (सिजएमसी) की मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घले पनि अन्तिम अवस्थामा अस्पताल आउँदा बिरामीले ज्यान फाल्ने गरेको बताउँछिन्। ‘अस्पताल आएको एक–डेढघण्टामै बिरामीको ज्यान जाने गरेको छ। यो हुनुमा अस्पताल आउनको ढिलाइले हो,’ घलेले भनिन्, ‘बेलैमा अस्पताल आउने हो भने बचाउन सकिन्छ। तर, सिकिस्त भइसकेका बिरामीसामु चिकित्सकको पनि केही लाग्दैन।’ शरीरमा अप्ठेरो हुनासाथ अस्पताल आउने हो भने बचाउन कुनै कठिनाइ नभएको उनले बताइन्।  

घलेका अनुसार कोरोनाका संक्रमित बिरामी पछिल्लो समय अन्तिम अवस्थामा मात्र अस्पताल आउँछन्। अस्पताल आइसक्दा उनीहरूको अक्सिजन लेभल निकै घटेको हुन्छ भने उनीहरूमा कडा निमोनिया देखिइसकेको हुन्छ। ‘बिरामीको ८० प्रतिशत फोक्सोले त कामै गर्न छाडेको हुन्छ। त्यो अवस्थामा मात्र बिरामी बल्ल अस्पताल आउँछन्,’ घलेले भनिन, ‘बेलैमा आउने हो भने बचाउन खासै गाह्रो हुँदैन।’ उनका अनुसार हतारमा अस्पताल आउने बिरामीमध्ये अधिकांश निमोनियाले ग्रस्त भएका हुन्छन्।  

संक्रमण पुष्टि भए पनि अधिकांश बिरामी घरैमा बस्दा समस्या भएको उनले बताइन्। ‘घरमै बसेका सबैलाई अक्सिजनको तह मापनको यकिन तरिका पनि थाहा हुँदैन। जथाभावी मापन गर्दा रिजल्ट गलत पनि आउनसक्छ,’ घलेले भनिन्, ‘त्यसले झुक्याउन पनि सक्छ। त्यही भएर बैलैमा अस्पताल आउनुपर्छ भन्ने हो।’ ‘होम आइसोलेसनमा बस्दा फरक पर्दैन। तर, स्वास्थ्यमा केही जटिलता देखियो भने तुरुन्तै अस्पताल आउनुपर्छ। हामीले बेड नपुगे भुँइमा बिछ्यौना बिछयाएर भएपनि उपचार गर्छाैं घलेले भनिन्, ‘स्वास्थ्यमा अप्ठेरो हुनासाथ अस्पताल आउँदा ज्यान जोगिन्छ। हामी पनि बिरामी बचाउन केही न केही उपाय त अपनाउँछाैं नै। घरमै बसेर निको हुँदैन।’ उनका अनुसार जिएमसीमा ज्यान गुमाएका अधिकांश संक्रमित अन्तिम अवस्थामा मात्र अस्पताल आएका थिए।  

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार पछिल्लो दुईदिनमा ज्यान गुमाउनेमध्येमा पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुष हुन्। उनको शनिबार दिउँसो होम आइसोलेसनमै मृत्यु भएको छ। उनमा गत विहीबार मात्र कोरोना पुष्टि भएको थियो। पोखरा–२६ की ५८ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ। त्यस्तै पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको थियो। त्यस्तै दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षिय पुरुषको पनि गण्डकी मेडिकल कलेजमै मृत्यु भएको थियो। पोखरा–१६ का ७३ वर्षीया महिलाको मेडिप्लस अस्पतालमा मृत्यु भएको निर्देशनालयले बताएको छ।

पोखरा–१० की महिलाको पनि मेडिप्लस अस्पतालमै मृत्यु भएको थियो। पोखरा–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्य भएको निर्देशनालयको भनाइ छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ का७५ वर्षीय पुरुषको आइतबार बिहान साढे १० बजे मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।  

गण्डकी प्रदेशमा अहिलेसम्म २३१ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले बताएको छ। प्रदेशमा अहिले सबैभन्दा बढी संक्रमित कास्कीमा छन्। कास्कीमा मात्र ११ सय बढी संक्रमित रहेको निर्देशनालयले बताएको छ। प्रदेशका ११ मध्ये दुईवटा हिमाली जिल्ला मनाङ र मुस्ताङमा मात्र अहिले संक्रमित शून्य छन्। अरू सबै जिल्लामा संक्रमित बढिरहेका छन्। 

प्रकाशित: २१ वैशाख २०७८ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App