७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कतै नयाँ, कतै पुरानै आइसोलेसन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार पारेको आइसोलेसन सेन्टर । तस्बिर : दमन राई/नागरिक

कोरोना भाइरसका संक्रमितलाई लक्षित गर्दै खोटाङका स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थामा जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्नै तरिकाले आइसोलेसन सेन्टर निर्माण गरिरहेका छन् । कोभिड–१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि कतिपय स्थानीय तहले पुरानो आइसोलेसन सेन्टरलाई नै नयाँ आइसोलेसन सेन्टरकारुपमा व्यूँताएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । फेला परेका संक्रमितलाई सम्वन्धित स्थानीय तहले आ–आफ्नो आइसोलेसन सेन्टरमा लगेर उपचारमा राख्ने छन् ।  

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गते बसेको बैठकले नगरपालिकालाई ३० बेडको र गाउँपालिकालाई २० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्देशन अनुशार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैसाख १५ गते ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । दिनानुदिन कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो । 

आइसोलेसन सेन्टरका लागि १० सिलिण्डर अक्सिजन ल्याइसकिएको र थप १० थान अक्सिजन सिलिण्डर ल्याउने तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र ५ जना महिला संक्रमितलाई राखेर उपचार सेवा उपलव्ध गराउन मिल्ने आइसोलेसन सेन्टर निर्माण गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्र्रको ठूलो हलमा पुरुष र अर्को सानो कोठामा महिलालाई राख्नेगरी बेड मिलाइएको छ ।  

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले स्थायी कोभिड अस्पताललाई नै आइसोलेसन सेन्टरकारुपमा तयारी अवस्थामा राखेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा गत मंसिर ११ गते स्थापना गरिएको स्थायी कोभिड अस्पतालमा १० बेडको आइसोलेसन सेन्टर बनाइएको मेयर इवन राईले बताए । एमबिबिएस डाक्टर सहितको सो अस्थायी कोभिड अस्पताल संघीय सरकारले उपलव्ध गराएको १० लाख र नगरपालिकाको लगानीमा स्थापना गरिएको हो ।  

यस्तै, ऐसेलुखर्क गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा बनाइएको ५ बेडको पुरानै आइसोलेसन सेन्टरलाई नयाँ आइसोलेसन सेन्टरकारुपमा उपयोग गर्ने तयारी गरेको छ । स्वास्थ्य केन्द्रमा अक्सिजन सहितकै आइसोलेसन सेन्टर व्यवस्था गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । कोभिड–१९ लाई मध्यनजर गर्दै केपिलासगढी गाउँपालिकाले बाक्सिलाबजारमा रहेको बसपार्कमा १६ बेडको नयाँ आइसोलेसन सेन्टर निर्माण गर्ने तयारी गरेको छ । आइसोलेसनका लागि आवश्यक अक्सिजन भने खरिद गर्न नपाइएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । यस्तै, खोटेहाङ गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताललाई नै आइसोलेसन सेन्टर बनाउने भएको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा स्थापना  

गरिएको ५ बेडको अस्थायी कोभिड अस्पताललाई आइसोलेसन सेन्टरकारुपमा उपयोगमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । जन्तेढुंगा गाउँपालिकामा भने आइसोलेसन सेन्टरका लागि उपयुक्त स्थानको अभाव भएको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए । यद्यपी, आवश्यक आइसोलेसनको व्यवस्थापन गरिने पोखरेलको भनाई छ ।  

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताललाई नै आइसोलेसन सेन्टरमा रुपान्तरण गर्ने भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित १० बेडको अस्थायी कोभिड अस्पताललाई आइसोलेसन सेन्टरकारुपमा उपयोगमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । बराहपोखरी गाउँपालिकामा आवश्यक आइसोलेसन सेन्टर स्थापनाका विषयमा आगामी बुधबार बैठक बोलाइएको गाउँपालिकाका उपाध्यक्ष गोमा मगरले बताईन् । यस्तै, रावाबेँसी गाउँपालिकाले २० बेडको नयाँ आइसोलेसन सेन्टर निर्माण सुरु गरेको छ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डको हरम्टारमा साप्ताहिक हाट लाग्ने स्थानमा टिनले बारेको र टिनकै छाना हालेर आइसोलेसन सेन्टर निर्माण सुरु गरेको हो । यस्तै, शारदा माबि खार्पामा १० बेडको क्वारेन्टिन बनाउने तयारी गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।  

साकेला गाउँपालिकाले अक्सिजन सहितको २० बेडको आइसोलेसन सेन्टर निर्माण गर्दैछ । साकेला गाउँपालिका–२ रतन्छास्थित स्वास्थ्यचौकीमा स्थापना गरिएको ५ शैयाको अस्थायी कोभिड अस्पतालमा १५ बेड थप गरेर आइसोलेसन सेन्टर स्थापनाको तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । ‘हामीसँग अस्थायी कोभिड अस्पतालमा पाँच बेडको आइसोलेसन अलरेडी छ । अव १५ बेड थप गर्छौँ,’ मगरले भने, ‘अक्सिजन सिलिण्डर भने चार वटा मात्र पाइयो । पुरानो अक्सिजन सिलिण्डर पाँच वटा थियो । अव हामीसँग भएको अक्सिजन सिलिण्डर संख्या नौ पुगेको छ ।’

प्रकाशित: २० वैशाख २०७८ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App