७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाविरुद्ध जुट्दै सहयोग: एम्बुलेन्स, शववाहन, अक्सिजन र औषधि निःशुल्क

पर्सामा बढ्दो कोरोनाको त्रास र थपिँदै गएका मृत्युका घटनाबीच समस्यासँग जुध्न सहयोग र साथ जुट्न थालेको छ। यहाँ निःशुल्क अक्सिजन, एम्बुलेन्स र शववाहनको व्यवस्था भएको छ। एउटा गैरसरकारी संस्थाले सरकारी अस्पताललाई ६ वटा भेन्टिलेटर सहयोगस्वरूप दिएको छ। त्यस्तै नेसनल मेडिकल कलेजले १ सय ७२ शय्याको अस्थायी कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ।  

वीरगन्ज महानगरपालिकाले निःशुल्क अक्सिजन बैंक स्थापना गरेको हो। कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि महानगरपालिका र लायन्स क्लब इन्टरनेसनलको साझेदारीमा निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको नगरप्रमुख विजय कुमार सराबगीले जानकारी दिए। वीरगन्ज महानगरपालिका परिसरमा स्थापना गरिएको अक्सिजन बैंक सञ्चालनमा ल्याइएको हो। अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचार प्रभावित भइरहेको अवस्था सामना गर्न निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको नगरप्रमुख सराबगीले बताए।  

त्यस्तै कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका संक्रमितका लागि आवश्यक पर्ने औषधि किटसमेत महानगरपालिकाले निःशुल्क वितरण गर्न थालेको छ। महानगरले कोरोना संक्रमितका लागि घरघरमैं औषधि निःशुल्क वितरण सुरु गरेको जनाएको हो। कोरोना संक्रमितलाई लक्षणअनुसार चलाइने सहयोगी औषधि प्रदान गरिएको नगरप्रमुख सराबगीले जानकारी दिए। पारासिटामोल, भिटामिन सी, भिटामिन डी, एसिडिटी रोक्ने औषधि र एटिन्बायोटिक जस्ता आठ प्रकारका औषधि महानगरले उपलब्ध गराएको छ। संक्रमितलाई औषधिको प्रयोग विधि र मात्रासमेत बताउने गरिएको छ।  

एम्बुलेन्स र शववाहन सहयोग  

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवको संसदीय क्षेत्र विकास कोष र वीरगन्ज महानगरको संयुक्त लगानीमा निःशुल्क एम्बुलेन्स र शववाहन बुधबारदेखि सञ्चालनमा ल्याइएको छ। एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद यादवले महामारीको समयमा निःशुल्क एम्बुलेन्स सेवाले थोरै भए पनि मानिसलाई सहयोग मिल्ने विश्वास व्यक्त गरे। पोहोर कोरोना संक्रमण बढेको बेला एम्बुलेन्स तथा शववाहनको अभावमा कोरोना संक्रमित तथा संक्रमितका आफन्तले सास्ती खेप्नुपरेको उनले सम्झिए। यसपटक त्यस्तो समस्या खेप्न नपरोस् भनेर एम्बुलेन्स खरिदका लागि आफ्नो संसदीय विकास कोषबाट ४६ लाख रूपैयाँ उपलब्ध गराएको सांसद यादवले बताए।  

सानो पाइलाद्वारा भेन्टिलेटर सहयोग

गैरसरकारी संस्था सानो पाइलाले वीरगन्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ। ‘श्वासप्रश्वासमा समस्या देखिएका कोरोना संक्रमितको उपचारमा उपयोग हुने विश्वासका साथ भेन्टिलेटर हस्तान्तरण गरेका हौं,’ संस्थाले जारी गरेको विज्ञप्तिमा छ।  

यसअघि नारायणी अस्पतालमा मात्र १० वटा भेन्टिलेटर थिए। जसमध्ये ५ वटा कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा थिए भने बाँकी पाँच अन्य प्रकारका सिकिस्त बिरामीको उपचारका लागि प्रयोगमा रहेका थिए। नारायणी अस्पतालमा अब प्रयोगयोग्य भेन्टिलेटरको संख्या १५ पुगेको छ। जसमध्ये ११ वटा कोरोना संक्रमितका लागि उपयोगमा आउने भएको छ। गत मंगलबार सानो पाइलाकी सचिव डा.सुष्मा तिवारीले नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरेकी थिइन्। गैरनाफामूलक कम्पनी ‘भेन्टिलेटर सर्भिस’ सँगको सहकार्यमा सानो पाइलाले नेपाल नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटरको व्यवस्था गरेको हो।  

१७२ शय्याको कोभिड अस्पताल

वीरगन्जमा नेसनल मेडिकल कलेजले कोरोना संक्रमितका लागि १७२ शय्याको कोरोना अस्पताल बनाएर संक्रमितको उपचार सुरु गरेको छ। विगतमा बाबा इन्टरनेसनल होटल सञ्चालन रहेको भवनलाई अस्थायी कोरोना अस्पताल बनाएर अघिल्लो वर्षजस्तै कलेजले कोरोना संक्रमितका लागि उपचार सुरु गरेको हो।  

अस्पतालले जनाएअनुसार यस अस्थायी कोरोना विशेष अस्पतालमा ६ वटा भेन्टिलेटरसहित २० शय्याको सघन उपचार कक्ष (आइसियु) पनि छ। त्यस्तै १२ शय्याको आकस्मिक स्क्रिनिङ वार्ड बनाइएको छ। गत बुधबारदेखि नै लक्षणसहितका कोरोना संक्रमितको उपचार सुरु गरिसकिएको कलेजका प्रबन्ध निर्देशक महमद बसरुद्दिन अन्सारीले बताए।

प्रकाशित: १९ वैशाख २०७८ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App