coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा थपिए २ सय ९१ संक्रमित,९६ बेडको कोभिड अस्पताल सञ्चालन

प्रदेश १ मा ९६ बेडको कोभिड अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ । सरकारले कोरोना संक्रमितको उपचारका लागि विराटनगरमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याएको हो।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा कोभिड अस्पताल निर्माण गरिएको हो । विराटनगरस्थित कोसी कोभिड १९ उपचार केन्द्रसँगै नागरिक केयर सेन्टर पनि निर्माण गरिएको छ।

अस्पतालमा शुक्रबारदेखि बिरामी भर्ना सुरु गरिएको छ। बिरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गरेका थिए।

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताए। उनले संक्रमण दर बढेसँगै उपचारको प्रबन्ध पनि गर्दै गएको बताएका छन्।

निजी अस्पतालहरुसँग पनि छलफल भइरहेको र विराटनगर बाहेक जिल्लास्तरमा पनि २० बेडसम्मको आइसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिएको मुख्यमन्त्री राईको भनाइ छ । ‘विराटनगरमा संक्रमण बढ्दै गएकाले चेनब्रेक आवश्यक छ । प्रदेशको ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भइसकेको छ । विराटनगरको रानी, झापाको काँकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भान्टाबारी, सोलु, ओखलढुंगा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय भइसकेको छ।’  

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको र अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताइन्।  

यसैबीच प्रदेश १ मा शुक्रबार २ सय ९१ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, तेह्रथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुासर प्रदेश १ मा कोरोना संक्रमितको संख्या हालसम्म ३२ हजार ६ सय ५१ पुगेको छ। संक्रमितमध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४१ रहेको छ।  

१ नं. प्रदेशमा शुक्रबार ८ सय ७४ जनाको पिसिआर परीक्षण गरिएको जनाउँदै परीक्षण गरिएकामध्ये १ सय ६ महिला र १ सय ८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले उल्लेख गरेको छ।

प्रकाशित: १७ वैशाख २०७८ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App