१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

बाँकेमा कोरोना: चौबिस घण्टामा ७ सय २३ जना संक्रमित, २ सय ४४ डिस्चार्ज

भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत कोरोना संक्रमित। तस्बिर: अर्जुन/नागरिक

बाँकेमा तीव्ररुपमा बढिरहेको कोरोना संक्रमणले अवस्था झन्–झन् भयावह बन्दै गएको छ। यहाँका अस्पतालबाट बितेको २४ घण्टाभित्र डिस्चार्ज हुनेभन्दा तेब्बर बढी संक्रमित फेला परेका छन्। पछिल्लो रिपोर्ट अनुसार बाँकेमा नयाँ ७ सय २३ जनालाई कोरोना संक्रमण पष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा परीक्षण गर्दा संक्रमित फेला परेका हुन्।

भेरी अस्पतालमा ४ सय ४१, मेडिकल कलेजमा १ सय २८, बागेश्वरी ल्याबमा १ सय ५२ र जमुनाहा हेल्थडेस्कमा २ जनामा कोरोना संक्रमण देखिएको हो। भेरी अस्पतालमा बिहिवार बेलुकी २ सय १४ जनालाई संक्रमण देखिएकोमा शुक्रबार बिहान थप २ सय २७ जनालाई कोरोना पोजेटिभ भएको हो। अस्पतालले आफ्नो फेसबुक पेजमा तथ्यांक सार्वजनिक गरिसकेको छ।  

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले कोरोना संक्रमित निको भएर दिनहुँ डिस्चार्ज हुने क्रम बढेपनि नयाँ संक्रमित हुनेको संख्या त्यो भन्दा धेरै हुने गरेको बताएका छन्। उनका अनुसार यहाँका अस्पताल तथा आइसोलेशन कक्षबाट २४ घण्टाभित्र २ सय ४४ जना डिस्चार्ज भएका छन्। यसमध्ये १ सय ४४ पुरुष र १ सय जना महिला रहेका छन्। बाँकेमा अहिलेसम्म पुरुष ३ हजार ५ सय र महिला २ हजार ६६ गरी कुल ५ हजार ५ सय ६६ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै यहाँ संक्रमित हुनेको संख्या ९ हजार नाघिसकेको छ।

भेरी अस्पतालमा अहिले १ सय ३० बेडको जनरल, ६० बेडको आईसियु र १० बेड भेन्टिलेटर सुविधासहितको कोभिड वार्ड सञ्चालनमा छ। संक्रमितको चाप बढेपछि सबै बेड भरिभराउ छन्। कोभिड वार्ड खाली नभएपछि संक्रमितहरु अस्पतालको इमेरजेन्सी लगायतका वार्डमा राखिएको छ। भेरी अस्पतालमा अहिले १ सय २९ पुरुष र १ सय १५ महिला गरी २ सय ४४ जना भर्ना छन्। यसमध्ये ८८ जना सिकिस्त छन्। यस्तै नेपालगन्ज मेडिकल कलेजमा ४३ जना पुरुष र २३ महिला गरी ६६ जना भर्ना छन्। यसमध्ये २९ जना सिकिस्त छन्।

होटल ह्वाईट हाउस मनिकापुरमा ३५ पुरुष र ९ जना महिला गरी ४४ जना रहेका छन्। कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा १० जना पुरुष र २ जना महिला गरी १२ जना भर्ना छन्। होम आईसोलेशनमा १ हजार ६ सय ४३ पुरुष र १ हजार ५ सय ४३ गरी ३ हजार १ सय ८६ जना बसिरहेका छन्। बाहिरी जिल्लाका १ सय ९२ जनाको बाँकेमा उपचार भइरहेको छ।  

प्रकाशित: १७ वैशाख २०७८ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App