१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

सूचना आयो, खोप आएन

भक्तपुरकी राधेलक्ष्मी खाइतू (नाम परिवर्तन) लाई आइतबार नै थाहा थियो कि उमेर पुगेका सम्पूर्ण नागरिकलाई नेपाल सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क लगाइदिंदै छ भनेर । तर उनी पहिलो दिन अत्याधिक भीडभाड होला भनी खोप लगाउन आइनन् । त्यसको भोलिपल्ट सोमबार विहान ६ नबज्दै उनी भक्तपुर नगरपालिकाद्धारा सञ्चालित च्याम्हासिंहस्थित जनस्वास्थ्यमा लाइनमा उभिन आइन् खोप लगाउन । खोपका लागि बिहान ८ बजेदेखि मात्रै लाइनमा बस्न सूचित गरिए पनि भीडभाड होला भनी उनी विहान ६ बजेदेखि नै लाइनमा बस्न आइन् उनी । तर उनले दिनको साढे १ बजिसक्दा पनि खोप लगाउने पालो पाइनन् ।  

‘विहान खाना नै नखाई अहिलेसम्म लाइनमै छु तर खोप पाएको छैन, उनले नागरिकसँंग भनिन्, खोप लगाउनको लागि खाना नखाइ पनि दिन मिल्छ कि मिल्दैन, केही थाहाँ छैन तर पनि लाम बसिरहेको छु ।’  

विहानैदेखि खोप केन्द्रमा लामो लाइन थियो । त्यहाँं महिला र पुरुषका लागि छुटाछुटै लाइन थियो । एक लाइन मात्रै भएको भए एक किलोमिटरसम्म लाइन हुने लाइन बसेकाहरु भन्दै थिए । लामो लाइनकै कारण त्यहाँं समयसमयमा गाडी जाम भइरहेको थियो । अत्याधिक भीडभाडका कारण त्यहाँं माइकिंगको पनि व्यवस्था थियो । माइकिग गरी कुपन नभएका व्यक्तिहरु लाइनमा नबस्न आग्रह गरिरहेको थियो । घण्टौ लाइन बस्दा पनि खोप नपाएर फर्कनु परेपछि सेवाग्राहीहरु सवैलाई खोप दिने सूचना मात्रै आएको तर नपाएको भन्दै निराश भएर फर्केका थिए ।  

व्यवस्थित गर्नका लागि खोप केन्द्रले कुपनको पनि व्यवस्था गरेको थियो । तर खोप पाउने आशामा कुपन नभएकाहरु पनि लाइनमै बसिरहेका थिए । कुपन नभइनभइकन पनि लाइनमा बसिरहेकाहरु भन्दै थिए, खोप नै सकेको छ भन्ने भन्छन्, तर पनि खोपको आशामा कुपन नभएकाहरु पनि लाइनमै बसिरहेका छन् ।  

नागरिककर्मी दिउँसो १ बजे पुग्दा जनस्वास्थ्य केन्द्रमा हुलमुल थियो । सबैजना लाइनमा उभिएर बसेका थिए । खोप सकियो रे, लिन गएछ भन्छन्, कहिले आउँछ केही थाहा छैन, उनीहरु भन्दै थिए । तर पनि सबैजना खोप आउने आशमा लाइनमा बसिरहेका थिए ।  

जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले खोप लगाउनेहरु थामिनसक्ने अवस्थामा रहेको स्वीकारे । अत्याधिक भीडका कारण बीचमा खोप सकेर लिनु जानपर्दा सोमबार खोप दिन बन्द गर्नुपरेको डा. लासिवाले बताए । उनले मंगलबार विहान ८ बजेबाट पुनः खोप दिन सुरु गर्ने बताए । केन्द्रले राखेको तथ्यांक अनुसार आइतबार त्यहाँंबाट एक हजार आठ सय ५८ जना र सोमबार एक हजार तीन सय ५७ जनाले खोप पाएका छन् ।  

जिल्लामा चार वटा ठाउँंमा खोप दिइरहेको बताइएको छ तर यसबारे आधिकारिक जानकारी छैन । भक्तपुर जिल्ला जनस्वास्थ्यका प्रमुख कृष्ण मिजारले आफूलाई यसबारे थप जानकारी नै नभएको बताउँछन् । सरकारले आइतबारदेखि १९ वर्षदेखि ५९ वर्षसम्मका सम्पूर्ण नागरिकहरुलाई निःशुल्क खोप लगाइदिने निर्णय गरेको थियो ।

प्रकाशित: १३ वैशाख २०७८ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App