८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अक्सिजन दिनुपर्ने बिरामी बढे

कोरोना महामारीको पहिलो लहरको तुलनामा लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन्। ‘पहिला सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले भने, ‘अहिले लक्षण कडा खाले छन् र रोगले छिटो च्याप्ने गरेको देखिएको छ।’ 

उक्त अस्पतालले भारतबाट तरल अक्सिजन ल्याएर प्लान्टमा राखी पाइपमार्फत सीधै बेडमा पुर्‍याउने गरेको छ। राजभण्डारीले दुईतीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमा सकिने अवस्था आएको बताउँदै त्यसपहिले नै भारतबाट आपूर्ति हुने जानकारी दिए। डा. राजभण्डारीले भनेझैं भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले हालै गरेको एक अध्ययनअनुसार पहिलो लहरमा ४१ दशमलव ५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पथ्र्यो भने दोस्रो लहरमा ५४ दशमलव ५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक रहेको छ।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. विमल पाण्डेले पनि यसपालि अक्सिजन चाहिने बिरामी धेरै भएको बताए। ‘भाइरसमा आएका उत्परिवर्तनले संक्रामकता बढेको देखिन्छ’, उनले भने, ‘यसपटक युवा पनि गम्भीर रूपमा बिरामी परेका छन्।’ त्रिवि टिचिङ अस्पतालका चिकित्सक डा. सुवास आचार्य अहिले संक्रमितको संख्या ह्वात्तै बढेकाले सोही अनुपातमा अक्सिजन पनि बढी आवश्यक देखिएको तर्क गर्छन्।  

‘यो बिल्कुल तथ्यांकको कुरा हो। पछिल्ला २ सातामा संक्रमण ह्वात्तै बढेको छ। रोगीको संख्या बढेपछि अक्सिजन चाहिने बिरामीको संख्या पनि स्वाभाविक रुपमा बढ्छ,’ उनले भने। दिनको १० हजारको दरमा १० दिनमा १ लाख संक्रमित भएर त्यो संख्याको १० प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपरे स्थिति ज्यादै चुनौतीपूर्ण हुने र अस्पतालका क्षमताले समेत नथेग्ने उनको तर्क छ।  

कोरोनाको पछिल्लो लहरका लागि भाइरसको नयाँ भेरियन्ट जिम्मेवार रहेको तर्क एकातिर छ भने अर्काेतिर आमजनसमुदायले स्वास्थ्य मापदण्ड अवलम्बन नगर्दा यो अत्यधिक हिसाबले फैलिएको दाबी पनि छ। संक्रमितको संख्यामा आएको कमीका कारण सरकारी अधिकारीले कोरोना महामारी रोकथाम भएको ठान्दा प्रतिकार्यका लागि आवश्यक पहल नभएको तर्क पनि छ।

सुरुमा बेलायत तथा दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएकोमा पछिल्ला दिनमा ‘डबल म्युटेन्ट’ भाइरस भारत तथा नेपालमा देखिएको छ। नेसनल जोग्राफीका अनुसार दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्र राज्यमा बी.१.६१७ नामकरण गरिएको भेरियन्टमा दुईवटा उत्परिवर्तन (म्युटेसन) देखिएका छन्। बंगलादेश, पाकिस्तानलगायतका देशमा देखिएको पछिल्लो महामारीका लागि यही भेरियन्टलाई जिम्मेवार ठानिएको छ। वासिङ्टन विश्वविद्यालयले गरेको सर्भेले पनि नयाँ भेरियन्टले यसअघि संक्रमित भइसकेका व्यक्तिमा विकसित प्रतिरक्षा क्षमतालाई पनि उछिन्ने देखाएको छ।  

प्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटको एसियाका लागि क्षेत्रीय कार्यदलले हालै जारी गरेको रिपोर्टमा पनि पछिल्लो लहरमा संक्रमणको तीव्रता अत्यधिक रहेको छ। त्यही कारण बिरामीको संख्या ह्वात्तै बढेको तर्क उक्त प्रतिवेदनमा छ। लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीको संख्या पनि यसपटक अत्यधिक छ। यही कारण थाहै नपाई धेरै मानिसमा रोग सर्ने गरेको छ। उक्त प्रतिवेदनले मृतकको संख्या र गम्भीर बिरामीको संख्या पनि बढ्ने चेतावनी दिएको छ। प्रतिवेदनमा बिरामीको अवस्था बिस्तारै बिग्रँदै जाने र यसले केही महिनामा मृत्युदर बढाउन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: १३ वैशाख २०७८ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App