coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोनाले निम्त्याएको अवसर र चुनौती

कुनैबेला सुगम जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित थियो, बाँकेको नरैनापुर। नेपालगन्ज–बघौडा हुलाकी सडक भर्खरै सम्पन्न भएपनि विद्युत्य स्वास्थ्य जस्ता अत्यावश्यक सेवाबाट भने उक्त क्षेत्र पछाडि नै थियो। विद्युत् र स्वास्थ्य सेवा विस्तारका लागि वर्षौं अघिदेखि स्थानीयले आवाज उठाउँदै आए पनि पूरा हुन सकेको थिएन।  

गत वर्ष २०७७ वैशाखमा कोरोना भाइरस कोभिड–१९ को महामारीबाट नरैनापुर नराम्ररी प्रभावित भयो। नेपाल–भारत सीमासँगै जोडिएको नरैनापुरमा फैलिएको महामारी नियन्त्रण गर्न हम्य पर्‍यो। गाउँमा विद्युत् नभएका कारण सुरुका चरणमा नरैनापुरका कोरोना संक्रमितलाई नेपालगन्ज र दाङका आइसोलेसनमा राखियो। नरैनापुरमा फैलिएको कोरोना महामारी नियन्त्रणमा ल्याउन केही महिनासम्म नेपाली सेना नै  परिचालन गरियो।  

नरैनापुरका कोरोना संक्रमितलाई आफ्नै ठाउँमा आइसोलेसन बनाएर राख्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले तयारी गर्‍यो। तर, विद्युत् अभावका कारण आइसोलेसन सञ्चालन गर्न असम्भव भयो। स्थानीय प्रशासनको अगुवाइमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नरैनापुरमा विद्युत् पुर्‍याउने संकल्प गरे।  

विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणले यसअघि नै ठेक्का लगाए पनि त्यहाँको काम सुस्त थियो। नरैनापुरमा आइसोलेसन केन्द्र स्थापना गर्ने भएपछि सर्व पक्षीय दबाबका कारण प्राधिकरणले छोटो प्रक्रियाबाट विद्युत् विस्तारको काम अगाडि बढायो। फलस्वरूप नरैनापुरमा बत्ती बल्यो। नेपाल विद्युत् प्राधिकरण प्रदेश–५ डिभिजन कार्यालयले नेपालगन्जस्थित सव–स्टेसनबाट नरैनापुरलाई सिधैं जडान गरिदियो। नेपालगन्जको सव–स्टेसनबाट नरैनापुरको अन्तिम बिन्दु (नेपाल–भारत सीमा)सम्म करिव ४६ किलोमिटर दूरी छ। नरैनापुरलाई नेपालगन्जको सव–स्टेसनबाटै ११ केभी क्षमताको विद्युत् उपलब्ध गराइएको छ।  

हरेक पटक हुने चुनावमा दलका उम्मेदवारले विधुतीय करणको मुद्दालाई आफ्नो घोषणा पत्रमा समेट्थे। पूर्वराजा, पूर्वप्रधानमन्त्री तथा बहालवाला मन्त्री समेत पुगेर नरैनापुरवासीलाई सधैं आश्वासन मात्रै बाँड्थे। नरैनापुरवासीले दशकौंदेखि पाउँदै आएको आश्वासन करिब २३ वर्षपछि पूरा भयो। त्यो पनि कोरोना महामारीको समयमा। विद्युत् सेवा विस्तार भएपछि नरैनापुरका स्थानीयले अहिले स्वास्थ्य, सञ्चार, शिक्षा, खानेपानी लगायत सुविधा प्राप्त गरेका छन्।  

कोरोना महामारीलाई लक्षित गरेर नरैनापुरमै आइसोलेसनका लागि पर्याप्त पूर्वाधार तयारी अवस्थामा राखिएको छ। वर्षौंदेखि अलपत्र परेको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको सेवा सुचारु भइरहेको छ। अहिले स्वास्थ्यका कर्मचारी नियमित रूपमा नरैनापुरमै बस्न थालेका छन्।  

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट नरैनापुर गाउँपालिका प्रभावित हुँदा स्थानीय स्तरमै आइसोलेसन बनाउने प्रयास विद्युत् अभावका कारण असफल भएपछि काम अगाडी बढाउन प्राधिकरणलाई दबाब बढेको थियो।  कोरोना महामारीकै बीच प्राधिकरणले ठेकेदार कम्पनी रेनु कन्स्ट्रक्सनलाई ताकेता गरेपछि जेठ ८ गतेबाट नरैनापुरको मटेहियादेखि कटकुइँयासम्म मुख्य लाइन विस्तारको काम थालिएको थियो। कोरोना महामारीकै बीच सरुवा भएर जिल्ला आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर करुङवाङले नरैनापुरमा वैकल्पिक रूपमा भए पनि विद्युत् विस्तारको काम गर्न प्राधिकरण, ठेकेदार तथा जनप्रतिनिधिबीच निरन्तर छलफल र समन्वयकारी भूमिका निभाएका थिए। जुन कार्यले छोटो समयमै सफलता पायो। नरैनापुरमा विद्युत् विस्तार गर्न सम्भव हुनुमा कोरोना महामारी नै प्रमुख कारण भएको प्राधिकरण प्रदेश नम्बर पाँच डिभिजन कार्यालय नेपालगन्जका प्राविधिक बताउँछन्।  

बघौडा क्षेत्रका रूपमा चिनिने त्यहाँ साविक गंगापुर, मटेहिया, नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँया गाविस थिए। स्थानीय तह पुनर्संरचनापछि ६ वटा गाविसलाई मिलाएर नरैनापुर गाउँपालिका बनेको हो। नरैनापुर गाउँपालिका हाल प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ र प्रदेश सभा–१ (क) मा पर्छ। नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बघौडावासीको बत्ती बाल्ने वर्षौंदेखिको सपना बल्ल पूरा भएको बताउँछन्। बत्ती पुगेपछि नरैनापुरमा विकासका अन्य धेरै पूर्वाधार बन्ने क्रममा रहेको उनको भनाइ छ। ‘नरैनापुरमा महामारी आएकै कारण बत्ती विस्तार गर्न सम्भव भएको हो, कोरोना महामारीले निम्त्याएको यो हाम्रो लागिमहत्वपूर्ण र ऐतिहासिक अवसर हो,’ शाह भन्छन्।  

कोरोना महामारीले निम्त्याएको अर्कोमहत्वपूर्ण अवसर हो, भेरी अस्पतालको स्तरोन्नति। जनशक्ति र स्रोतसाधनको अभाव जहिले पनि खेप्दै आएको भेरी अस्पतालमा कोरोना संक्रमणका कारण विभिन्न भौतिक संरचना थपिए, जसलाई अस्पतालका चिकित्सकमहत्वपूर्ण अवसरका रूपमा लिन्छन्। भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाका अनुसार अस्पतालमा आइसियु, भेन्टिलेटर, वार्डलगायत उपकरण तथा भौतिक संरचना थपिएका छन्। ‘कोभिड व्यवस्थापन राम्रो गरेबापत अस्पताल सबैतिरबाट चिनियो,’ उनले भने, ‘कोभिडका कारण अस्पतालको केही स्तरोन्नति भयो, अस्थायी दरबन्दीले समग्र काममा टेवा पुग्यो।’ थापाका अनुसार पहिले अस्पतालसँग ३ वटा भेन्टिलेटर रहेकोमा अहिले संख्या १५ पुगेको छ।  

अस्पतालमा वार्ड तथा आइसियुको क्षमता बढेको थापाले सुनाए। ‘संख्या बढेपछि जति पनि आइसियु बनाउन सकिन्छ, हरेक बेडमा अक्सिजन पाइपलाइन जडान गरिएको छ, जीर्ण भौतिक संरचनालाई मर्मतसम्भार गरेर नयाँ वार्ड बनाएका छौं,’ उनले भने। अस्पतालले कोरोनाका कारण अवसर र चुनौती दुवैको सामना गर्‍यो। संक्रमित र अन्य बिरामीको एकैसाथ उपचार गर्दा चुनौती आएको मेसु थापाको बुझाइ छ। उनले थपे, ‘कोभिड र ननकोभिडलाई सेवा दिँदा  चुनौती भयो।’

भेरी अस्पताल जस्तै कोरोनाको समयमा चर्चित भयो, बाँके, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल। भर्खरै सञ्चालनमा आए पनि पर्याप्त साधनस्रोत अभावको समस्या खेपिरहेको अस्पतालमा कोरोनाका कारण धेरै नै स्तरोन्नति भयो। अस्पतालका प्रमुख डा. कृष्ण आचार्य भन्छन्, ‘कोरोना महामारीका बेला हाम्रो अस्पतालमा ४० बेडको आइसोलेसन बनाइयोे, आइसोलेसन बनाउँदा करोडौंका भौतिक संरचना थपिए, यसले गर्दा अस्पताललाई सेवा विस्तार गर्न सहज भयो।’ क्यान्सर र कोभिडका बिरामीको एकै ठाउँमा उपचार गर्दा केही चुनौती आएको उनी सम्झिन्छन्।  

कोरोना महामारीका कारण जिल्लामा धेरै राम्रा काम भएका छन् भने कतिपय काम नराम्ररी प्रभावित भएको छ। विशेषगरी यहाँको आर्थिक क्षेत्र तहसनहस भएको छ। लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी राप्तीपारि नरैनापुरको विद्युतीकरणलाई एउटामहत्वपूर्ण उपलब्धि मान्छिन्। ‘आइसोलेसन स्थापना गर्नका लागि नरैनापुरमा बत्ती चाहियो, तर तत्काल बत्तीपुर्‍याउन सम्भव थिएन, ठुलै संघर्ष र मेहेनत गरेर बत्ती पुर्‍याइएको हो,’ उनले भनिन्।

राप्तीपारिको विद्युतीकरणसँगै भेरी अस्पताल लगायत स्वास्थ्य क्षेत्रमा राम्रो सुधार आएको प्रदेश सांसद केसीको बुझाइ छ। उनले थपिन्, ‘कोरोनाका कारण स्वास्थ्य क्षेत्रलाई बजेट छुट्याउने काम भयो, कतिपय आइसोलेसन निर्माण गर्ने काम भयो, कोरोनासँगै स्वास्थ्यमा लगानी गर्ने काम भयो, कोरोनाका कारण मान्छेको जीवन शैलीमा परिवर्तन भएको छ, यो एउटामहत्वपूर्ण अवसर हो।’  

कोरोनाले जिल्लाको अन्य विकास निर्माण र आर्थिक क्षेत्रलाई भने ठुलो असर गरेको सांसद केसी बताउँछिन्। ‘कोरोनाले आर्थिक क्षेत्र त नराम्ररी प्रभावित भयो नै, अहिले पनि उद्योगी व्यवसायी माथि उठ्न सकेका छैनन्, ठूलो समस्या पैदा गरेको छ, तर केही त ठूलै उपलब्धि पनि भएका छन्,’ उनले भनिन्।  

कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने वातावरण बनाएको सम्बद्ध सरोकारवाला बताउँछन्। नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर भन्छिन्, ‘कोरोनाले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने वातावरण बनाइदियो, स्वास्थ्य र सरसफाइको कुरामा नागरिकलाई सचेत गराउने काम कोरोना महामारीले गरायो, धेरै भौतिक संरचना बनेका छन्, स्वास्थ्यको क्षेत्रमा बजेट विनियोजन गर्ने काम भएको छ।’ सीमानाका व्यवस्थितका साथै महामारीमा काम गर्ने सन्दर्भमा सरोकारवालाबीच समन्वय र सहकार्य गर्ने बानीको विकास भएको उपप्रमुख थापाको बुझाइ छ। कोरोना महामारीका कारण स्रोतसाधनको अभाव तथा संघ, प्रदेश र स्थानीय तहबीच भने समन्वय अभाव भएको उनी बताउँछिन्।

कोरोना महामारीबाट अवसरसँगै आर्थिक क्षेत्रमा चुनौती आएका छन्। विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ कोरोनाले अवसर र चुनौती दुवै ल्याएको तर्क गर्छन्। ‘कोभिड नियन्त्रणको बहानामा सीमा बन्द गरियो, यसबाट सीमा क्षेत्रमा हुने गलत कार्य रोकियो, अबैध लागु औषध ओसार–पसारकालोबजारी, तस्करीको काम बन्द भयो,  नेपाली उपभोक्ताले नेपालमै सामान खरिद गरे, त्यसको फाइदा नेपाली व्यापारीलाई भयो,’ उनले भने, ‘अवैध रूपमा भित्रिने सामान वैधानिक बाटोबाट आयो, धेरै राजस्व संकलन गर्ने अवसर प्राप्त भयो।’ कोरोना महामारीले सबैभन्दा बढी आर्थिक क्षेत्र तहस नहस भएको श्रेष्ठको ठहर छ। उनका अनुसार भारतीय मजदुरले काम गर्ने ठुला उद्योग प्रभावित भएका छन्। कोरोनाले सिक्टा सिँचाइ आयोजनालगायत थुप्रै विकास निर्माण काममा असर पुर्‍याएको  संयोजक श्रेष्ठको भनाइ छ। 

प्रकाशित: ११ वैशाख २०७८ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App