१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

कोभिड संक्रमितको उद्वारका लागि हेलिकोप्टर प्रयोग गरिने

क्याप्शन

कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्वारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ। बिहीबार प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले कम्तिमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिइ सञ्चालन गर्ने र माथिका विकट क्षेत्रहरुको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो।

भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दै। महामारी उपचार नपाएर नागरिकको मृत्यु हुन सक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो। अहिले पनि कर्णालीको हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन भने अन्य जिल्लामा सहज सडक पहुँच छैन। जसले गर्दा नागरिक उपचारबाट वञ्चित छन्। सरकारले एम्बुलेन्स र विकट क्षेत्रमा हेलिकोप्टर व्यवस्था गर्ने भएपछि कर्णालीवासीको मनोबलसमेत उच्च रहेको छ। साथै प्रदेश विपद व्यवस्थापन केन्द्रले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न र उपचारलगायत उद्वारका लागि नौवटा निर्णय गरेको जिल्ला विपद व्यवस्थापन केन्द्रले जनाएको छ।

कोरोना भाइरसको नियन्त्रण तथा उपचारको लागि खरिद गर्न आवश्यक स्वास्थ्य सामाग्री विशेष परिस्थितअनुरुपको प्रक्रिया अपनाइ खरिद गर्न स्वीकृति लिन सामाजिक विकास मन्त्रालयले प्रदेश सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने, कोभिड संकट व्यवस्थापनको लागि आवश्यक जनशक्ति पूर्ति गर्न, कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेटसहित एकीकृत सेवा व्यवस्थापन गर्ने तथा कोभिड संकट व्यवस्थापनसम्बन्धी ठोस योजना बनाइ विस्तृत प्रस्ताव तयार गर्ने र अर्को बैठकमा पेश गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवविक्रम बुढाथोकीले जानकारी दिए।

‘कर्णाली प्रदेशभित्र सञ्चालन हुने एम्बुलेन्सहरुको सेवा दिने स्थल छनोट र सेवा प्रदायक संस्थाहरु छनोट प्रक्रिया निर्धारण गरी जिपिएसमार्फत एम्बुलेन्स सेवा व्यवस्थापन प्रणालीको एप्स सञ्चालन गर्ने गराउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य गर्ने निर्णय भयो,’ उनले भने, ‘कोभिड बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन कोभिडसम्बन्धी विशेष अस्पतालहरुलाई सामाजिक विकास मन्त्रालयले आवश्यक सहयोग र निर्देशन गर्ने निर्णय भएको छ।’ 

कोरोना रोगको संक्रमण दिन प्रतिदिन समुदायमा फैलिसकेकोले यसको नियन्त्रण र उपचारको लागि अब कठिन अवस्था सिर्जना हुने भएकोले औपचारिक कार्यक्रममा बढीमा २५ जना र अनौपचारिक कार्यक्रममा बढीमा पाँचजनाभन्दा बढी भेला हुन नदिन र कोभिडसम्बन्धी सुरक्षा सतर्कता अपनाउन जनसमुदायमा प्रचारप्रसार गर्ने र नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षा निकायहरुले कडाइका साथ पालना गराउने व्यवस्था मिलाउने निर्णय भएको भन्दै उनले भने, ‘कोभिड आइसोलेसनको लागि आवश्यकतानुसार निजी क्षेत्रको होटेलहरुलाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने निर्णय भएको छ।’

कर्णाली प्रदेशअन्तर्गतका कोभिड अस्पतालको लागि चौबिसै घण्टा विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाउन

नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने प्रदेश विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। त्यस्तै स्थानीय तहहरुको लागि कोभिड–१९ व्यवस्थापनको लागि आवश्यक व्यवस्था गर्न सहयोग गर्ने र स्थानीय तह (पालिकाहरु) मा पठाइएको रकमको प्रगति विवरण बुझ्ने निर्णय भएको छ।

प्रकाशित: ९ वैशाख २०७८ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App