coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

फाइल तस्बिर

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाइ गरेको छ। बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।

कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए। ‘सामाजिक र धार्मिक गतिविधिमा पनि अब निगरानी गछौं,’ प्रजिअ अधिकारीले भने, ‘धार्मिक कार्यमा बाहिरी जिल्लाबाट समेत सहभागी हुन आउने भएकाले संक्रमणको जोखिम उच्च छ।’  

विवाहलगायत पारिवारिक उत्सवहरूमा स्थानीय तहका जनप्रतिनिधिसहित सुरक्षा निकायले समेत निगरानी गर्ने कोभिड–१९ संकट व्यवस्थापन समितिले जनाएको छ। विवाह र मलामीमा प्रशासनले तोकेको संख्याको व्यावहारिक कार्यान्वयनको सम्भावना भने न्यून भए पनि भौतिक दूरी कायम गर्न र मास्कको अनिवार्य प्रयोग गर्न प्रोत्साहन गरिएको समितिका एक सदस्यले बताए। बैठकले जिल्लामा प्रवेश गर्ने मुख्य दुई नाकामा सुरक्षा व्यवस्था कडा गरेको छ।

कोरोना भाइरस संक्रमण फैलिएका जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत लुकीछिपी आउने गरेको पाइएपछि कालीपुल र रत्नेचौरको नाकाबाट प्रवेश गर्ने सवारीसाधनमा आउनेका पासअनुसार नागरिकता वा परिचय खुल्ने कागजात देखाउनुपर्ने, ट्राभल हिस्टीको जानकारी लिने, संक्रमति फैलिएका जिल्लाबाट आउनेलाई कम्तिमा १० दिने होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए। उनका अनुसार बैशाख मसान्तसम्म सिनेमा हल, सभासम्मेलन, खेलकुद गतिविधि, मठमन्दिर, गुम्बा चर्चमा नियमित पूजा, ध्यान र प्रार्थनाबाहेकका कार्यहरू पूर्ण रूपमा बन्द गरिएको छ।

सातबुँदे निर्देशनमा जमघट, भौतिक दूरी, मास्कको प्रयोग तथा भेला र जमघटमा कडाइ गरिएको छ। संक्रमणको जोखिम बढेपछि परिस्थितिलाई गम्भीर रूपमा लिँदै बेनीबजारमा माइकिङसमेत गरिएको छ। बेनीमा पोखरा, काठमाडौंलगायत क्षेत्रबाट आवतजावत गर्नेबाट समुदायमा कोरोना फैलिएको अनुमान गरिएको छ। जिल्लाभित्र भारतीय मजदुरबाट कोरोना फैलिएको थियो।

प्रकाशित: ९ वैशाख २०७८ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App