८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना संक्रमितले भरियो भेरी अस्पतालको कोभिड वार्ड

पछिल्लो २४ घण्टाभित्र २ सय ८९ संक्रमित फेला

कोरोना संक्रमितको उपचार भइरहेको भेरी अस्पतालको कोभिड वार्ड। तस्बिर: नागरिक

समुदाय स्तरमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण झन् भयाबह बन्दै गएको छ। कोरोना संक्रमित दिनहुँ बढ्दै जाँदा यहाँका अस्पतालहरु भरिभराउ भएका छन्। कोरोना संक्रमित र आशंकित ब्यक्तिको धेरै संख्यामा उपचार गरिरहेको भेरी अस्पतालसँग रहेको कुल १ सय ४२ क्षमताको कोभिड वार्ड अहिले पुरै भरिएको छ।

अस्पतालसँग कुल १ सय ४२ कोभिड बेडमध्ये ९५ बेडको जनरल, ४० बेड आईसियु र भेन्टिलेटरसहितको ७ वटा बेड रहेको छ। कोभिड वार्डको कुल १ सय ४२ बेड मध्ये करिव ४० जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको र आईसियु तथा भेन्टिलेटरमा गम्भिर अवस्थाका बिरामीको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए। ‘हामीसँग उपलब्ध रहेको १ सय ४२ बेड पुरै प्याक भइसकेको छ, यि बेड खाली नहुँदा सम्म कसैलाई पनि भर्ना गर्नसक्ने स्थिती छैन,’ थापाले नागरिकसँग भने ‘सबै बेड प्याक भइसकेका छन्, दिनहुँ संक्रमितको ग्राफ उच्च छ, अस्पतालले नै थेग्न गाह्रो भइसक्यो।’ अस्पतालकै स्वास्थ्यकर्मी संक्रमित भएपछि पनि उनीहरुको उपचार गर्ने बेड खाली नभएको उनले सुनाए।

कोरोना संक्रमित र आशंकितको उपचार गर्नका लागि कोभिड वार्डमा स्वास्थ्यकर्मीको निकै अभाव भएको उनले सुनाए। यसअघि नियुक्त गरिएका केही करार सेवाका कर्मचारीबाट काम चलाउनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ। मेसु थापाले भने, ‘अहिले आईसियुमा  एक जना स्वास्थ्यकर्मीले ५ जनालाई हेर्नुपर्ने स्थिती छ, जनरल वार्डमा त झन् एक जनाले १५ देखी २० जनालाई हेरिरहेको स्थिती छ, खासमा एक जना स्वास्थ्यकर्मीले बढीमा दुई जनासम्म मात्र हेर्नुपर्ने हो।’ संक्रमितको संख्याभन्दा स्वास्थ्यकर्मीको संख्या कम हुँदा समस्या भइरहेको उनको भनाई छ।  

पछिल्लो २४ घण्टाभित्र बाँकेका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणबाट २ सय ८९ जना नयाँ संक्रमित फेला परेका छन्। कुल ३ सय ५३ जनाको पिसिआर जाँच गर्दा १ सय ६६ जना पुरुष र १ सय २३ जना महिलामा कोरोना पोजेटिभ भएको हो । यि मध्ये बाँके जिल्लाका मात्रै २ सय १९ जना नयाँ संक्रमित रहेका छन्।  

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा परिक्षण गर्दा यस्तो रिपोर्ट आएको हो। ‘बाँकेका १ सय २७ जना पुरुष र ९२ जना महिला रहेका छन्,’ जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले भने ‘कोरोना संक्रमणको दर निकै डर लाग्दो हिसाबले बढिरहेको छ।’

केन्द्रका अनुसार अहिलेसम्म जिल्लामा कुल संक्रमितको संख्या ५ हजार ८ सय ९६ पुगेको छ। यसमध्ये ३ हजार ६ सय ८९ पुरुष र २ हजार २ सय ७ जना महिला संक्रमित भएका छन्। यहाँका प्रयोगशालामा अझै ३ सय ५३ वटा स्वाब जाँच प्रक्रियामा रहेको केन्द्रले जनाएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुने बाँकेको संख्या ६४ र बाहिरी जिल्लाका मृतकको संख्या ९८ पुगेको छ। हालसम्म फेला परेका संक्रमित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, होटल ह्वाईट हाउस मनिकापुर, कोहलपुर नगरपालिकाको कोभिड अस्पताल र होम आइसोलेशनमा छन्। केन्द्रका अनुसार भेरी अस्पतालमा महिला र पुरुष गरी १ सय ९ जना भर्ना छन्। यि मध्ये ३५ जना सिकिस्त छन्। यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३२ जनाले उपचार गराइरहेका छन्।  

यि मध्ये १८ जना संक्रमित सिकिस्त रहेको बताइएको छ। होटल ह्वाईट हाउस मनिकापुरमा ११ जना, कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ५ र होम आइसोलेशनमा ९ सय ८९ जना बसिरहेका छन्। यसैगरी जिल्ला बाहिरका ५७ जनाले पनि उपचार गराइरहेका छन्। 

प्रकाशित: ८ वैशाख २०७८ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App