५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

‘मापदण्ड पालना नगरे संक्रमण भयावह’

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगरे नेपालले पनि कोरोना संक्रमणबाट गम्भीर असर झेल्नुपर्ने अवस्था आउने बताएका छन्। उनले मंगलबार भर्चुअल सम्मेलनमा दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको र नेपालमा पनि अवस्था फरक नरहेको भन्दै संक्रमण नियन्त्रण गर्न हरेक व्यक्ति, टोल सुधार समिति, गैरसरकारी संस्था, स्थानीय तहका हरेक निकाय, प्रदेश सरकार र संघीय सरकार सबैे गम्भीर हुनुपर्ने बताए।

सबैले जनस्वास्थ्य मापदण्ड अपनाए लकडाउनमा जानुनपर्ने उनको भनाइ थियो। ‘लकडाउन गर्ने कि नगर्ने, हामीमै भर पर्छ। सबैले मापदण्ड पालना गरेमा लकडाउन गर्नु पर्दैन’, उनले भने। स्वास्थ्यमन्त्री त्रिपाठीले अहिले देखा परेको कोरोनाको नयाँ भेरियन्टले थप जोखिम निम्ताएको बताउँदै सबैलाई गम्भीर हुन सचेत गराए। ‘नयाँ भेरियन्टको कोरोना संक्रमणलाई हल्का रूपमा नलिनुहोला’, उनले भने। कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका रहेको जानकारी दिँदै मन्त्री त्रिपाठीले सबै अभिभावकलाई सचेत हुन अनुरोध गरे।  

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले अहिलेकै अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालना नभएमा तीन महिनाभित्रमा ६ लाखभन्दा बढी संक्रमित हुने प्रक्षेपणअनुसार नै उपचार व्यवस्थापनको तयारी भइरहेको बताए। संक्रमण गति तीव्र भएअनुसार निजी अस्पताल र सरकारी अस्पताललाई गत वर्षकै जस्तो परिचालन हुन आदेश दिइसकेको, गत वर्ष बनेका क्वारेन्टिन तथा आइसोलेसन सेन्टरलाई पुनः तयारी अवस्थामा राख्ने काम भइरहेको उनले जानकारी दिए। पौडेलका अनुसार कोरोना संक्रमितको उपचारका लागि २ हजार हाइडिपेन्डेन्सी युनिट, ४ सय आइसियु र अक्सिजन ट्यांकी तयारी अवस्थामा छन्।

सीमानाकामा एक हजार क्षमताको होल्डिङ सेन्टरको तयारी गरिएको, निजी अस्पतालका बेड कोभिड उपचारमा प्रयोग गर्न आदेश दिइएको, हरेक प्रदेश र स्थानीय निकायलाई आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न निर्देशन दिइएको उनले बताए। गत वर्षको अनुभवअनुसार १४ सातासम्म कोरोना संक्रमण गति उच्च हुने र त्यसपछि बिस्तारै घट्ने देखिएको बताउँदै उनले दोस्रो लहर सुरु भएको ५ साता पार भइसकेको जानकारी दिए।

संक्रमणदर १६.९ प्रतिशत

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर १६.९ प्रतिशत रहेको छ। त्यस अवधिमा ७ हजार ५ सय ४८ वटा नमुना परीक्षण भएकोमा १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये पाँच सय पाँच जना काठमाडौंका छन्। यति बेला नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ पुगेको छ। सक्रिय संक्रमितमध्ये १ सय ९० जनाको संस्थागत आइसोलेसनमा, ४० जनाको आइसियुमा र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा हालसम्म २ लाख ८५ हजार ९ सयजना कोरोनाबाट संक्रमित भइसकेका छन्। यस्तै गत २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप आठजनामा मृत्युपछि संक्रमण पुष्टि भएको छ। यीसहित नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ हजार ९१ पुगेको छ।

प्रकाशित: ८ वैशाख २०७८ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App