coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भीडभाड हुने गतिविधिमा रोक, अटेर गरे कारबाही गरिने

सुर्खेतमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि भीडभाड हुने गतिविधिमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने सबै खाले गतिविधिमा रोक लगाएको हो । हाल विश्वभर देखा परेको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम कम गर्न प्रशासनले भीडभाडजन्य गतिविधिमा रोक लगाएको जनाएको छ ।  

माहामारीको रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  

सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न अपिल गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए । उनका अनुसार मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतवन्ध, धार्मिक अनुष्ठान, मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्नुपर्ने छ ।

विवाह वा ब्रतवन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई २५ जनामा नबढ्ने गरी कार्य गर्नुपर्ने छ । त्यस्तै सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक तालिम, प्रशिक्षण जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नेपर्ने छ ।

भौतिक रूपमा उपस्थित भइ गर्नैपर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र (विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्र) मा वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थिति नभइ अन्य वैकल्पिक शिक्षण विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने र अन्य पालिकाको हकमा संक्रमणको दर र जोखिमलाई मध्यनजर गरी सम्बन्धित पालिकाले व्यवस्था मिलाउनु पर्ने प्रशासकीय अधिकृत लामिछानेले बताए । ‘विद्यालय तथा कलेजका पूर्वनिर्धारित परीक्षा कार्यक्रम जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने छ,’ उनले भने ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने, एकपटकमा २५ जनाभन्दा बढी जम्मा भेला नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई व्यक्तिको बीचमा दुई मिटर दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटकपटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने गरी सपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने, जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चालकको हुने उनको भनाइ छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य रूपमा प्रयोग गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजको व्यवस्था गर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक निशंक्रमित गर्ने, मास्क नलगाउने व्यक्ति सवारी साधनमा प्रवेश गर्न नदिने, लामो दुरीमा यातायात सञ्चालन गर्दा बीच बाटोमा यात्रु ओराल्ने र राख्ने कार्य नगरी अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनु पर्ने छ । 

कार्यालय र पसल जस्ता सार्वजनिकस्थलमा सेनिटाइजर र मास्क प्रयोग अनिवार्य गर्नुपर्ने भन्दै उनले भने, ‘होटल तथा रेष्टुरेन्टहरू जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी विहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिने, सो सेवा सञ्चालन गर्दा रेष्टुरेन्टका कामदारहरूले अनिवार्य रूपमा मास्क भाइजर र पन्जा लगाउने, सेवाग्राहीलाई मास्क, सेनिटाइजरको व्यवस्था र दुई मिटरको भौतिक दुरी कायम गर्ने साथै होटल, रेष्टुरेन्टलाई नियमित रूपमा निसंक्रमण  गर्नुपर्ने छ ।’

सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउन प्रशासनले सबैलाई अनुरोध गरेको छ । प्रत्येक स्थानीय तहले आआफ्नो स्थानीय तहमा बाहिर जिल्लाबाट आउने नागरिकको अभिलेख राख्ने र निगरानीको व्यवस्था मिलाउने, सोको लागि स्थानीय टोल विकास संस्था, उपभोक्ता संस्था, सहकारी संस्था, सामुदायिक वन, शिक्षक, आमा समूह, नागरिक समाजसमेतको सहयोग लिन र नेपाल सरकारबाट भएको आदेशको परिपालना नगरेको अनुगमनको क्रममा फेला परेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । पछिल्लो समय सुर्खेतमा पनि कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ ।

भारतमा तीव्र रुपमा फैलिँदै गएको र रोजगारीका लागि त्यहाँ गएका नागरिक घर फर्किंदा सुर्खेतमा जोखिम समेत बढ्दै गएको छ । छिमेकी जिल्ला नेपालगन्जमा पनि कोरोना भाइरस दैनिक बढ्दो क्रममा छ । नेपालगन्जबाट दैनिक सयौं यात्रु आवतजावत गर्दा सुर्खेतमा कोरोना भाइरसको जोखिम बढेको छ ।

प्रकाशित: ७ वैशाख २०७८ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App