coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सातजना नक्कली डाक्टर पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने सातजना नक्कली डाक्टरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ। शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा सिआइबीले उनीहरुलाई पक्राउ गरिएको हो।  

एमबीबीएस अध्ययनका लागि बंगलादेश जान एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्कलगायतका विवरण सच्याइएको अनुसन्धानबाट खुलेको सिआइबीका प्रवक्ता गंगा पन्तले जानकारी दिइन्। ‘आवश्यक नाम, जन्म मिति, उत्तीर्णाङ्क थपघट गरेर किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र बनाएका रहेछन्,’ उनले भनिन्, ‘सोही आधारमा बंगलादेश एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएको देखिएको छ।’  

सप्तरी बिष्णुपुर गाउँपालिका–२ घर भइ हाल मोरङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो–६ घर भइ हाल जनकपुर उपमहानगरपालिका–७ जिरोमाइल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, धनुषा सवैला नगरपालिका–५ घर भइ हाल ललितपुर महानगरपालिका–२ महालक्ष्मीथान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङस्थित साविकको चामे गाविस–५ घर भइ हाल रुकुम पश्चिम चौरजहारी बस्ने ३१ वर्षीय डा. दीपेन्द्र गौतम, सप्तरी सकरपुरा–१ घर भइ हाल मोरङ महानगरपालिका–३ बरगाछी बस्ने ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरी महानगरपालिका–५ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ आदर्श बस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका–२ सानेपाका २९ वर्षीय फराज हुसेन खाँलाई पक्राउ गरेको सिआइबी प्रवक्ता गंगा पन्तले जनाइन्।

मोहमद न्यूरो हस्पिटल विराटनगर, सुभाष जनकपुर चिल्ड्रेन हस्पिटल, मोहम्मद शाहिद दीर्घायु गुरु हस्पिटल चाबहिल र दीपेन्द्र रुकुम पश्चिमको चौरजहारी मिसन अस्पतालमा कार्यरत थिए। केहीलाई अस्पतालबाट र केहीलाई कोठामा पक्राउ गरेको सिआइबीले जनाएको छ। उनीहरुले व्यक्तिगत लाभका लागि नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्कसिट किर्ते गरी लिखतसम्बन्धी कसूर अपराध गरेका सिआइबीकी प्रवक्ता पन्तको भनाइ छ। यस विषयमा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७८ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App