१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

कोरोना संक्रमण झन् भयावह: एकैदिन ३ सय २२ संक्रमित फेला, थप दुईको मृत्यु

लकडाउन गर्न सर्वसाधारणको माग

बाँकेमा कोरोना संक्रमण झन् भयावह बन्दै गएको छ। दिनहुँ संक्रमितको संख्या अत्यधिक रुपले बढिरहेको छ। वितेको २४ घण्टाभित्र नेपालगन्जका विभिन्न प्रयोगशालाबाट ३ सय २२ जना संक्रमित फेला परेका हुन्। कुल ६ सय ३२ जनाको स्वाब परिक्षण गर्दा १ सय ९४ जना पुरुष र १ सय २८ महिला गरी ३ सय २२ जना संक्रमित फेला परेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ। फेला परेका संक्रमित मध्ये बाँकेका मात्रै २ सय ६४ जना रहेको केन्द्रका फोकल पर्सन तेज ओलीले बताए । ‘बाँकेका मात्रै १ सय ५५ जना पुरुष र १ सय ९ जना महिला छन्,’ उनले भने।  

भेरी अस्पतालको कोभिड वार्ड, आईसियु र भेन्टिलेटर सबै संक्रमितले भरिएका छन्। केन्द्रका अनुसार भेरी अस्पतालमा ८६, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २३, होटल ह्वाइट हाउस मनिकापुरमा ७, कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ५ र होम आइसोलेशनमा ८ सय १२ जना संक्रमित रहेका छन्।  

संक्रमण नियन्त्रण बाहिर गएपछि सर्बसाधारणले लकडाउन गर्न स्थानीय प्रशासनसँग माग गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत यहाँका नागरिक समाज, बुद्धिजिवी, सर्बसाधारणले बजारमा भिडभाड कायमै रहेको हुँदा तत्काल लकडाउन गर्न माग गरेका हुन्। बजारमा किनमेल गर्ने सर्बसाधारणको भिड कायमै छ । ‘बाँकेमा कोरोना संक्रमणको अवस्था भयावह भन्दै गएको छ, तरपनि स्थानीय प्रशासन मौन छ, अब तत्काल लकडाउन गरियोस्,’ सामाजिक सञ्जालमा अधिकांसले लेखेका छन्।  

थप दुई जनाको मृत्यु

तीव्ररुपमा फैलिएको कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३५ बर्षिया महिला र ७७ बर्षिय पुरुषको मृत्यु भएको हो। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दवा निवासी ३५ बर्षिया महिलाको मृत्यु भएको हो।  

उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार पिसिआर जाँच गरेर अस्पताल भर्ना गरिएको थियो। सोमबार बिहान भर्ना भएकी उनको दिउँसो मृत्यु भएको हो । महिलाको मृत्यु भएपछि बेलुका आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको केन्द्रका फोकल पर्सन तेज ओलीले बताए । यस्तै शिक्षण अस्पतालमै कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ७७ बर्षिय पुरुषको मृत्यु भएको हो । उनको सोमबार मात्र कोरोना पोजेटिभ आएको थियो।  

स्वास्थ्यमा समस्या देखिएपछि बिहान अस्पतालमा स्वाब दिएर घर गएका थिए। साँझ रिपोर्ट पोजेटिभ आएपछि अस्पताल जादै गर्दा ती पुरुषको सोमबार राती ९ बजेतिर शिक्षण अस्पतालको प्राङगनमै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। यो सँगै कोरोना पोजेटिभबाट बाँकेका मृतकको संख्या ६३ पुगेको छ।

प्रकाशित: ७ वैशाख २०७८ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App