१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

कोरोना संक्रमण तीव्र, रोकिएन मृत्युदर

नेपालगन्जमा कोरोना संक्रमण तीव्र रूपले बढ्दै गएको छ। संक्रमण बढ्दै जादाँ मृत्युदर पनि बढ्दै गएको छ। बितेको २४ घण्टाभित्र बाँकेमा २ जना संक्रमितको मृत्यु भएको छ। नेपालगन्जको भेरी अस्पतालमा उपचाररत स्टाफ नर्सको मृत्यु भएको हो।

दाङस्थित एक स्वास्थ्य संस्थामा कार्यरत तुलसीपुर नगरपालिका–६ निवासी २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको भेरी अस्पतालका एनेस्थेयोलोजिस्ट डा. पारश पाण्डेले जानकारी दिए। ‘कोभिडले स्वास्थ्य अवस्था गम्भीर भएपछि स्टाफ नर्सको मृत्यु भयो, अझै तीन/चार जना बिरामी उस्तै अवस्थाका छन्, बचाउन गाह्रो छ,’ उनले भने। उपचारका क्रममा अस्पतालको कोभिड वार्डमा भर्ना भएकी स्टाफ नर्सको सोमबार बिहान साढे १० बजे मुत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि नेपालगन्ज आएकी थिइन्। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार यही वैशाख १ गते कोहलपुरको बागेश्वरी ल्याबमा कोरोना परीक्षण गर्दा उनलाई पोजेटिभ देखिएको थियो। त्यसपछि उनको उपचार भेरी अस्पतालमा भइरहेको थियो। कोभिड वार्डमै उपचाररत स्टाफ नर्सकी आमाको अवस्था पनि गम्भीर रहेको अस्पताल विकास समितिका सदस्य धनीराम ओलीले बताए। ‘छोरीको उपचारका क्रममा मृत्यु भयो, आमालाई पनि भेन्टिलेटरमा राखिएको छ, अवस्था निकै गम्भीर छ,’ उनले भने।

त्यस्तै कोहलपुर नगरपालिका–१४ निवासी ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट घरमै मृत्यु भएको छ। पक्षघातको उपचारका लागि भारत पुगेका उनी गम्भीर बिरामी परेका थिए। अवस्था गम्भीर भएपछि अस्पतालको सिफारिसअनुसार घरै लैजाने सल्लाह बमोजिम नेपाल फर्केका थिए। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखियो। स्वास्थ्यमा सुधार हुने संकेत नदेखिएपछि परिवारले घरमा लगेको समयमा आइतबार राति १२ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ र बाहिरी जिल्लाका मृतकको संख्या ९८ पुगेको छ।  

स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने जोखिम

भेरी अस्पतालले एक सूचना जारी गर्दै संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालले थेग्न नसक्ने जनाएको छ। बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको अस्पतालले उल्लेख गरेको छ। ‘अतः भिडभाड नगरिदिनुहुन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कनु हुन, मास्कको अनिवार्य प्रयोग गर्नुहुन, भौतिक दूरी कायम गर्नुहुन तथा रुघा/खोकी, ज्वरोका लक्षण देखा परेमा सेल्फ आइसोलेसनमा बस्न अनुरोध गर्दछौं,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ।

समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरी परीक्षण गर्नु आवश्यक रहेको अस्पतालका चिकित्सकको सुझाव छ। यसका निम्ति नेपाल सरकारबाट पर्याप्त रियाजेन्ट/अन्य आवश्यक सामग्री प्राप्त हुने र स्थानीय निकायबाट नमुना संकलन गरी पठाइदिएमा परीक्षणको दायरा थप बढाउन भेरी अस्पताल तयार रहेको उल्लेख गरेको छ। अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेसन वार्डको १ सय २ बेड, शंकास्पद बिरामीलाई राख्ने ४० बेडको प्रि–आइसोलेसन वार्ड गरी कुल १ सय ४२ क्षमताको बेड करिब भरिसकेको अस्पतालले जनाएको छ। यस्तै १५ बेडको कोभिड आइसियुमा पनि बिरामीको भरिभराउ भइसकेको अस्पतालले उल्लेख गरेको छ।

शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द

कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले यसअघि आइतबारबाट एक साताका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। 

उपमहानगर शिक्षा शाखा प्रमुख (उप–सचिव) गोर्खबहादुर थापाले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण शैक्षिक सस्था, ट्युसन सेन्टर, कोचिङ कक्षा÷सेन्टर, कम्प्युटर इस्टिच्युट वैशाख मसान्तसम्म अनिवार्य बन्द गर्न सूचना प्रकाशित गरिएको जानकारी दिए। उपमहानगर शिक्षा शाखाले सोमबार यस्तो सूचना प्रकाशित गरेको उनले बताए। जिल्लामा फैलिएको कोरोना संक्रमणबाट यहाँका सामुदायिक तथा संस्थागत विद्यालय पनि अछुतो रहेका छैनन्। यहाँका प्रायः विद्यालयमा फैलिएको कोरोना महामारीबाट थुप्रै शिक्षक र विद्यार्थी संक्रमित भइसकेका छन्।

प्रकाशित: ७ वैशाख २०७८ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App