coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जोखिम भत्ता नपाउँदा बिपीमा स्वाब परीक्षण प्रभावित

स्वाब संकलनका लागि साेमबार दिउँसाे प्रितक्षारत सर्वसाधारण। तस्बिर: नागरिक

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणको आशंका गरिएको स्वाब परीक्षणमा संलग्न माइक्रोबायोलोजी ल्याबका चिकित्सकले जोखिम भत्ता दिनुपर्ने माग गरेका छन्। एक साताअघि नै जोखिम भत्ता दिइनुपर्ने माग गर्दै चिकित्सकले व्यवस्थापन पक्षलाई मागपत्र पेस गरेका तर माग पूरा नभएपछि उनीहरूले आइतबारदेखि संकलन गरेको स्वाब परीक्षण गर्न जिम्मा लिन मानेका छैनन्।

सोमबार प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहसँग वार्ता भएको छ। वार्तामा अस्पताल निर्देशक डा. साहले सरकारसँग जोखिम भत्ताका लागि बजेट निकासा गर्न निरन्तर पहल भइरहेको जानकारी गराएका छन्।  वार्तामा सकारात्मक कुरा भए पनि ल्याबका चिकित्सक दिउँसो करिब साढे ३ बजेसम्म पनि ल्याबमा फर्किएका थिएनन्।

काठमाडौंमा रहेका उपकुलपतिसँग फोनमै कुराकानी गरेपछि मात्र ल्याबमा नियमित काममा फर्किएको प्रतिष्ठानका एक चिकित्सकले जानकारी दिए। स्वाब दिन पुगेका सर्वसाधारण अलपत्र परेका थिए। स्वाब लिने स्वास्थ्यकर्मीले ल्याबले परीक्षण गर्न स्वाब लिने भएपछि मात्र संकलन गर्ने भनेर सर्वसाधारणलाई पर्खाउनुपरेको बताए।  

ल्याबका चिकित्सक भने यस विषयमा प्रतिक्रिया दिन चाहँदैनन्। अस्पताल सहायक निर्देशक डा. प्रमोद बरालले आइतबार पिसिआर टेस्ट नभएकाले मागको विषयमा सोमबार बिहान अस्पताल निर्देशकसँग वार्ता भएको बताए। ‘आइतबार पिसिआर टेस्ट भएन।

सोमबार बिहान वार्ता भयो, सरकारसँग जोखिम भत्ताको बजेटका लागि पहल भइरहेको छ,’ उनले भने। दिउँसोदेखि ल्याबका चिकित्सक नियमित काममा फर्किसकेको उनले बताए। ‘सरकारले पहिला दिएको जोखिम भत्ता सकियो, फेरि बजेट मागेका छौं। यही कुरा उहाँहरूलाई भन्यौं,’ उनले थपे। प्रतिष्ठानका अनुसार स्वाब परीक्षणमा संलग्न ल्याबका स्वास्थ्यकर्मीलाई गत असारसम्मको जोखिम भत्ता वितरण भइसकेको छ। अन्य फ्रन्टलाइनरहरूलाई माघसम्मको जोखिम भत्ता दिइएको सहायक अस्पताल निर्देशक डा. बरालले जानकारी दिए।

प्रकाशित: ७ वैशाख २०७८ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App