१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

संक्रमण बढ्दै, तयारी सुस्त

प्रदेश २

सिरहा नगरपालिकाका २५ वर्षीय युवक भारतबाट फर्केको तेस्रो दिन बिरामी परे। जीउ दुख्ने, ज्वरो आउने समस्या भएपछि उनी उपचारका लागि जिल्ला अस्पताल सिरहा पुगे। चिकित्सकले लेखिदिएको औषधि लिएर उनी घर फर्के। औषधि खाँदा पनि उनलाई सन्चो भएन। उनी फर्केर सिरहाकै कर्ण क्लिनिकमा जाँच गराए। औषधि लिएर फेरी घर फर्के। यो औषधिले पनि उनी बिसेक भएनन्।

चार दिनअघि फेरि उनी जिल्ला अस्पताल सिरहा पुगे। अस्पतालका प्रमुख डा. नागेन्द्र यादवले उनको यात्रा इतिहास खोज्दै गएपछि उनी भारतबाट फर्केको खुल्यो। डा. यादवले उनलाई तुरुन्त एचडियु वार्डमा भर्ना गरेर आरटी पिसिआर जाँचका लागि सुझाव दिए। सोमबार उनको आरटी पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। अहिले उनको जिल्ला अस्पताल सिरहाकै छुट्टै कोठामा राखेर उपचार हुँदैछ।

 डा. यादवकाअनुसार हामीसँग कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेसन कक्ष सञ्चालनमा छैन। अब यो बिरामीलाई उपचारका लागि कहाँ पठाउनेबारे छलफल हुँदैछ। संक्रमितको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मीको स्वाव संकलन गरी आरटी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। सोमबार यस प्रदेशमा १३८ नमुना परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पर्सामा सबैभन्दा बढी ४६ जना, बारामा १२ जना, रौतहटमा ७ जना, सर्लाहीमा १ जना, सिरहामा १ र धनुषामा २ जना थपिएका छन्।

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार सिरहाको माड्र नाकाबाट दैनिक करिब २० जना भारतको संक्रमित सहरबाट भित्रिरहेका छन्। माड्र नाकालाई नेपाल सरकार आउजाउका लागि खुला गरिदिएको छ। यस नाकाबाट भित्रिनेहरूको थर्मल गनबाट तापक्रमण जाँचेर घर पठाउने गरिएको छ। नाकामा होल्डिङ स्टेसन सञ्चालन नभएका कारण भारताट आउने जतिलाई घर पठाउनुको विकल्प छैन।

एन्टिजेन परीक्षण वा आरटी पिसिआर परीक्षणका लागि पनि सरकारले मापण्ड तोकिदिएको छ। ज्वारो लगायतका कडा लक्षण देखिएकालाई मात्र परीक्षण गर्ने भनिएको छ। प्रमुख यादवले भने, ‘भारतको रेड जोनबाट आउनेहरूलाई केही समय होल्ड गरेर परीक्षण गरेर मात्र घर पठाउँदा जोखिम कम हुनेथ्यो। तत्काल ज्वरोलगायतका लक्षण नदेखिएकामा पनि संक्रमण हुनसक्छ।

सिधैं घर प्रवेश गर्दा उनी आफूसँग लगेको संक्रमण घर परिवार समाज सबैतिर फैलाउने खतरा रहन्छ। अहिले भइरहेको त्यही हो।’ जिल्ला अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादवका अनुसार, कोरोना बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन आवश्यक हुन्छ, त्यसपछि आइसियु र औषधि। आइसियुबाट पनि उपचार सम्भव नहुने बिरामीलाई भेन्टिलेटर आवश्यक पर्छ।

प्रदेश–२ मा वैशाख ६ गतेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २१४ पुगेको छ भने संक्रमितको संख्या १७ हजार ६ सय १८ पुगेको छ। यीमध्ये दोस्रो लहरमा ५ जनाको मृत्यु भएको छ भने ४६६ जना संक्रमित थपिएका छन्। तर, प्रदेश–२ मा संक्रमितको उपचारका लागि पहिलो आवश्यकता आइसोलेसन पर्याप्त छैन। नारायणी अस्पतालको आइसोलेसन बेडमा १६ जना भर्ना छन्। आइसोलेसन नहुँदा ४६१ जना घरमै बस्न बाध्य छन्। पर्सा जिल्लामै २८९ जना संक्रमित घरमा निजी चिकित्सकको सल्लाहमा औषधि लिएर बसिरहेका छन्।  

दोस्रो लहरमा संक्रमित भएका कुल बिरामीमध्ये ५० प्रतिशतलाई आइसियु आवश्यक भएको चिकित्सकहरू बताउँछन्। ‘अहिले संक्रमित जसरी बढ्दैछ, त्यसको अनुपातमा आइसियु नै छैन। त्यसमाथि औषधि अभाव छ, भारतबाट औषधि आपूर्ति नहुँदा उपचार सहज हुन सकेको छैन। बढ्दो संक्रमितको उपचारका लागि आइसोलेसन, आइसियु र भेन्टिलेटरसँगै आवश्यक औषधिको माग पूर्ति नभए भयावह अवस्थाको सामना गर्नुपर्ने अवस्था छ,’ डा. यादवले बताए।

पहिलो लहरका बेला समुदायीक विद्यालय, संस्थागत विद्यालयमा क्वारेन्टिन र आइसोलेसन सेन्टर सञ्चालन गरिएको थियो। स्थानीय तहहरूले यसको व्यवस्थापन गरेका थिए। कोरोना संक्रमितको संख्या घट्दै गएसँगै क्वारेन्टिन र आइसोलेसन सेन्टर पनि हटाइए। प्रदेश २ सरकारले प्रादेशिक अस्पताल जनकपुरधाम मातहत ४८ बेडको कोभिड आइसोलेसन सेन्टर संचालन गरेको थियो। त्यो पनि बन्द भयो। १०० बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याउने प्रदेश सरकारको योजना पनि त्यातिकै सेलाएर गयो। अहिले कोरोनाको लहर तेज भइरहँदा प्रदेश सरकार अलमलमा परेको छ।

के गर्ने ? कसरी गर्ने ? कहाँ के गर्ने ? यी प्रश्नहरूले सरकारलाई बेचैन बनाएको छ। प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रकुमार यादवले खुला सीमा, बाक्लो जनघनत्व तथा खुला आउजाउ, खेतीपाती, नाता सम्बन्धले चुनौती थपेको बताए। सीमामा कडाइ गरेर आउजाउ गर्न दिने निर्देशन गरिएको तथा ६ वटा जिल्लामा जडान भएको आरटी पिसिआर मेसिनलाई पूर्ण सञ्चालनमा ल्याउने गरि निर्देशन भएको उनले बताए।  

उनले संक्रमितको पहिचान, परीक्षण र उपचार नै उपाय भएको बताउँदै रोगको उपचार गर्नुभन्दा रोग फैलिन नै नदिनेतर्फ सचेत गराउनुपर्नेमा जोड दिए। उनले सीमा सिल गरिदिन संघीय सरकारसँग आग्रह गरेको उल्लेख गर्दै सीमाबाट पनि ह्वारह्वार मानिस भित्रिइरहेका संक्रमण अनियन्त्रित हिसाबले फैलिनसक्ने भन्दै त्यसो भएमा बन्दाबन्दी गर्नुपर्ने बाध्यता आउनसक्ने बताए। 

प्रकाशित: ७ वैशाख २०७८ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App