७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

पश्चिममा प्रहरीको अनिवार्य मास्क अभियान

तपाईं पश्चिम क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ, यदी हुनुहुन्छ भने अनिवार्य मास्क लगाउनूस्। नत्र प्रहरीले समाउला! पछिल्लो समय पश्चिम क्षेत्रका केही जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि प्रहरीले अनिवार्य मास्क अभियान सञ्चालन गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो।

कोरोना भाइरस नियन्त्रण बाहिर जान थालेको बाँके, दाङ, सुर्खेत, रुपन्देही, कैलालीलगायतका प्रहरीले अनिवार्य मास्क अभियान चलाएका छन् । माक्स लगाउँदा मात्र पनि कोरोना भाइरस संक्रमण फैलिन सहयोग पुग्ने भन्दै प्रहरीले अनिवाय मास्क अभियान सञ्चालन गरेको प्रहरी कार्यालयहरुले जनाएका छन् । मास्क लगाउन अटेरी गर्नेलाई संक्रमण ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । नेपालगन्जमा प्रहरीले पसल–पसलमा गएर व्यापारी र सेवाग्राहीलाई मास्क लगाउन अनुरोध गरेको छ भने पैदल तथा सवारी साधनमा हिँड्डुल गर्नेलाई पनि माक्स अनिवार्य गरेको छ ।

मास्क अनिवार्यका लागि चेक पोस्टहरुमा खटिएका प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी सुभाष खड्काले जनाए । ‘सडकमा हिँड्नेदेखि सवारी साधानमा गुड्नेसम्मलाई अनिवार्य माक्स अनिवार्य गरेका छौं,’ उनले भने । पहिलो चरणमा मास्क अनिवार्य लगाउन जागरुक गराउने र यदी माक्स अनिवार्य नगरे दोस्रो चरणमा कारबाही गरिने प्रहरीले जनाएको छ । पहिलो चरणको कोरोना भाइरस संक्रमणका बेला बाँके प्रहरीले एक सय रुपैयाँ जरिवाना लिएको थियो । अहिले अवस्था हेरेर जरिवाना बढाउन सक्ने बाँके प्रहरीको भनाइ छ ।

पछिल्लो समय पश्चिमका कैलाली, सुर्खेत, बाँके, दाङ र रुपन्देहीमा कोरोना भाइरस संक्रमण दर उच्च बनेको छ । सबैभन्दा बढी बाँकेको नेपालगन्ज प्रभावित छ । ‘सामान किन्न जानेलाई पनि सम्झाउने गरेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले भने, ‘यसमा प्रहरीको मात्र दायित्व भनेर हुँदैन । नागरिक आफैँ सजग र सचेत हुन आवश्यक छ ।’ सीमा नाकामा समेत कडाइ गरिएको प्रहरीले जनाएको छ । अहिले किनमेलका लागि भारतीय बजारमा जान पूर्णरुपमा बन्द गरिएको छ । औषधी किनमेल र बिरामीबाहेक अरुलाई भारतीय बजारमा जान रोक लगाइएको सीमा सुरक्षा प्रहरीहरुले जनाएका छन् ।

पछिल्लो समय कोरोना भाइरस बढ्दै गएपछि सुर्खेत भित्रिने नाकामा यात्रुको विवरण राख्ने र जनचेतानामूलक कार्य गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले बताए । ‘अहिले जनचेतनामूलक कार्यलाई ध्यान दिएका छौं,’ उनले भने, ‘त्यसपछि माक्स अनिवार्य अभियान सञ्चालन गर्छाैं।’ कैलालीमा पनि प्रहरीले माक्स अनिवार्य अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता भरत चौधरीले जनाए । ‘अहिले चेतनामूलक ढंगले माक्स अनिवार्य गरेका छौं,’ उनले भने, ‘यसको अटेरी गरे कारबाही गरेर पनि यो अभियान पूर्ण सफल पार्छाैं ।’ यस्तो संकटमा नागरिक आफैँ पनि व्यक्ति–व्यक्तिबीच कम्तिमा दुई मिटर टाढा बस्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तिमा २० सेकेण्डसम्म हात धुने र घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन बानी पर्नुपर्ने उनको भनाइ छ । कैलाली प्रहरीले कोभिड शाखा नै सञ्चालन गरेर काम गरिरहेको उनको भनाइ छ । उनका अनुसार नागरिक यस अभियानमा सहभागी नभए कैलालीमा बन्दाबन्दी (लकडाउन) गर्नेसम्मको छलफल चलेको छ । यता दाङ प्रहरीले पहिलो चरणमा मास्क अनिवार्य गर्न अभिप्रेरित कार्य गरेको छ ।

‘कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षाका उपाय सिकाउँदै विभिन्न सरोकारवालाहरुको सहकार्यमा माइकिङ गर्ने गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले भने, ‘सकेसम्म अभिप्रेरित गर्न खोजेका छौं । जोखिमबाट बच्न विगतमा गरेजस्तै कारबाही गर्ने पक्षमा छैनौं । यदी नागरिकले यस अभियानको उल्लंघन गरे पहिला जस्तै कारबाही गर्छाैं ।’ पहिलो चरणका बेला संक्रमण ऐन २०२० अनुसारको व्यवस्था उल्लंघन गर्ने नागरिकमाथि प्रहरीले बल प्रयोग गरेको थियो । मानिसलाई भीडभाड नगर्न, अत्यावश्यक कामबाहेक अरुबेला घरभन्दा बाहिर ननिस्किन, निस्के पनि अनिवार्य माक्स र कम्तिमा दुई मिटर भौतिक दूरी कायम गर्न अनुरोध गर्ने गरेको प्रवक्ता रिजालले बताए ।

शनिबार बसेको जिल्ला सुरक्षा समितिले कोरोना भाइरस न्यूनीकरणसम्बन्धी ११ वटा निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए । यातायात सेवा प्रदायक संस्थाहरूले सार्वजनिक यातायातमा भीडभाड कम गर्ने, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सवारीसाधनमा माक्स र सेनिटाइजरको व्यवस्था गरी जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्ने गराउनेलगायतका ११ वटा निर्णय भएको उनले जनाए ।

 ‘पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न प्रहरी कार्यालयमा पनि अनिवार्य माक्सको व्यवस्था गरेका छौं,’ उनले भने, ‘अन्य सेवाप्रदायक संस्थाले पनि जिल्ला सुरक्षा समितिको निर्णय कार्यान्वयन गरे नगरेको अनुगमन गरी सुझाव दिन्छौं ।’ जिल्ला प्रहरी कार्यालयमा सबै तहका प्रहरीलाई अनिवार्य माक्सको व्यवस्था गरिएको भन्दै उनले भने, ‘कार्यालयमा आउने सेवाग्राही पनि अनिवार्य माक्स लगाएर आउनुपर्ने छ । यदी माक्स प्रयोग नगरेकालाई कार्यालय आफैँ पनि मास्क उपलब्ध गराउने गरेको छ ।’

रुपन्देहीको ५७ किलोमिटर भारतसँग सीमा जोडिएको छ । सीमा क्षेत्रमा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । भारतबाट आउनेलाई सीमा नाकामा स्वास्थ्य जाँच गर्ने र शंकास्पद व्यक्तिको कोरोना परीक्षण गर्ने निर्णय भएको प्रवक्ता थापाले जानकारी दिए । सर्वसाधारणहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा प्रहरी यसमा सक्रियता बढाएको हो । प्रहरीको यस अभियानलाई धेरैजसोले सकारात्मकरुपमा लिएका छन् । प्रहरीको यस अभियानमा सबैले सहयोग गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

प्रकाशित: ५ वैशाख २०७८ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App