coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जमा काेराेना संक्रमण नियन्त्रणबाहिर

बाँकेमा एकैदिन थपिए २ सय संक्रमित

नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ। बाँके जिल्लामा पछिल्लो २४ घण्टामा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा हेल्थ डेस्कमा गरिएको परीक्षणबाट २ सयजना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये १ सय ९ जना पुरुष र ९१ जना महिला छन्। नयाँ संक्रमितमा १ सय ३८ जना बाँके निवासी र ६२ जना जिल्लाबाहिरका हुन्। योसँगै बाँकेमा संक्रमितको संख्या ५ हजार १ सय ९४ पुगेको छ। हालसम्म बाँकेका कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भइसकेको छ।  

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अनुसार हाल ४ सय १४ जना आइसालेसनमा छन्। भेरी अस्पतालमा ९० र होम आइसोलेसनमा ३ सय ७९ जना रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालको १ सय ४२ बेड क्षमताको कोभिड वार्डमा ४० जनाको आइसियु र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गइसकेको चिकित्सक बताउँछन्।  

भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पारश पाण्डेले संक्रमित बढेपछि कोभिड वार्ड पनि भरिएको बताए। अघिल्लो वर्ष भर्ना भएका मध्ये ५ देखि १० प्रतिशत गम्भीर अवस्थाका भएकोमा अहिले ३० देखि ४० प्रतिशतसम्म यस्तो प्रकृतिका भएको उनले बताए। डा. पाण्डेले भने, ‘पहिले परिवारका एक सदस्यलाई पोजेटिभ हुँदा अरूलाई सर्ने सम्भावना कम थियो तर अहिले एकजना पोजेटिभ भए सबैमा सर्ने अवस्था छ।’ पहिले वृद्धवृद्धालाई बढी समस्या देखिने गरेकोमा अहिले २० देखि ४० वर्ष तथा ४÷५ वर्षका बच्चालाई समेत पोजेटिभ देखिएको उनले बताए। अस्पतालमा संक्रमितको चाप बढेपछि जनशक्ति र स्रोत साधनको पनि अभाव भइरहेको उनले बताए।  

भेरी अस्पतालमा उपचाररत सुर्खेत, गुर्भाकोट निवासी ३१ वर्षीय पुरुषको शुक्रबार बिहान बोल्दाबोल्दै एक्कासि मृत्यु भएको छ। एक साताअघि भारतबाट फर्केका उनलाई श्वास फेर्न समस्या भएपछि चैत ३१ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। भेरी अस्पतालमा सोही दिन भर्ना भएका उनको शुक्रबार बिहान साढे ७ बजेतिर मृत्यु भएको हो। ‘ती युवकमा दीर्घ रोग थिएन, श्वास फेर्न समस्या भइरहेको थियो, बोल्दाबोल्दै एक्कासि मृत्यु भयो,’ फोकल पर्सन ओलीले भने।  

यस्तै स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षिकाको मृत्यु भएपछि नेपालगन्जका शिक्षक, विद्यार्थी तथा अभिभावक त्रसित भएका छन्। ‘एक साताअघिसम्म उहाँको स्वास्थ्य अवस्था राम्रै थियो। एक्कासि ज्वरा आएपछि उहाँ मंगलबार नेपालगन्ज मेडिकल कलेजमा जानुभयो। त्यहाँ आइसियु खाली नभएपछि मेडिकल कलेजले भेरी अस्पतालमा पठायो। त्यसपछि भेरीमै उपचारका क्रममा उहाँको मृत्यु भयो,’ नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष वीरेन्द्र यादवले भने। यादवका अनुसार शिक्षिकाको मृत्यु कोरोनाबाटै भएको भन्ने पुष्टि भने भएको छैन। परिवारले ती शिक्षिकाको अन्त्येष्टी गरिसकेका छन्। ‘म्याडमको मृत्यु भएपछि परिवारले तत्कालै अस्पतालबाट शब बुझेर लिइसकेका रहेछन्, स्वाब परीक्षण गर्नतिर कसैको ध्यान गएनछ,’ यादवले भने, ‘तर मृत्यु हुनुमा कोरोनाकै शंका छ।’  

तीव्र रूपले संक्रमण फैलिए पनि नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको छैन। नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि एक साता विद्यालय बन्द गर्ने निर्णय गरे पनि अन्य स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने विषयमा कुनै निर्णय गरेका छैनन्। सीमानाकाबाट आवतजावत पनि विर्बाध भइरहेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाल–भारत सीमानाका व्यवस्थित गर्ने, जाँच बढाउने, आइसोलेसन पुनः सञ्चालन गर्न लगाउने, भेरी अस्पताल र मेडिकल कलेजलाई कोभिड बेड थप्न लगाउने, सामाजिक दुरी कायम गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्न लगाउने तथा अटेरी गर्नेलाई कानुनी कारबाही गरिने बताए।  

४६ नमुना परीक्षण गर्दा २९ संक्रमित

वीरेन्द्रनगर संवाददाता गणेश विशुकाअनुसार कर्णालीमा ४६ जनामा कोरोना परीक्षण गर्दा २९ जनामा पोजेटिभ देखिएको छ। सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रमा गरिएको परीक्षणमा नौ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको हो। सुर्खेतका २०, दैलेख चार, कालीकोट तीन, जाजरकोट र कञ्चनपुरका एक/एकजनामा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। ४६ जनामा परीक्षण गर्दा २९ जनामा कोरोना देखिनु सामान्य नभएको भन्दै उनले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागु गर्नुपर्ने बताए। 

प्रकाशित: ४ वैशाख २०७८ ०१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App