१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गएको छ। बिहीबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० जनामा देखिएको थियो। प्रदेश १ मा सबै भन्दा बढी संक्रमित विराटनगरका छन्। बिहीबार विराटनगरमा ८ जनामा संक्रमण देखिएको छ। 

बुधबार १५ जनामा संक्रमण देखिएको थियो। बिहीबार नै विराटनगरको कोभिड अस्पतालमा एकजना महिलाको निधन भएको छ। कोरोनाको दोस्रो लहर सुरू भए यता प्रदेश १ मा दुईजनाले ज्यान गुमाइसकेका छन्। प्रदेश १ मा करिब २ सयको हाराहारीमा संक्रमित पुगिसकेका छन्। विराटनगरस्थित कोभिड अस्पतालमा हाल लक्षण देखिएका ६ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।  

कोभिड अस्पतालका प्रमुख एपोलो भगतले कोरोना संक्रमितको संख्या बढ्दोक्रममा रहेकाले स्वास्थ्य मापदण्डको पालना जरुरी रहेको बताए। उनका अनुसार लक्षण देखिएका संक्रमित मात्रै अस्पताल ल्याइने भएकाले अस्पतालमा बेडको अभाव भने छैन। भगतका अनुसार विराटनगरको कोभिड अस्पतालमा मात्रै अक्सिजनसहितका १ सय ८० वटा वेड छ।

प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा कोरोना संक्रमितको ग्राफ बढ्दै गए पनि न्यूनतम सुरक्षा सतर्कतासमेत अपनाइएको छैन। खुला सिमानाका कारण भारतबाट आउनेहरू खुलेआम नेपाल प्रवेश गरिरहेका छन्। विराटनगर प्रवेश गर्ने मुख्य रानीनाका विगत एक वर्षदेखि ठप्प भए पनि आसपारका क्षेत्रबाट दिनहुँ हजारौंको संख्यामा मानिसहरू वारपार गरिरहेका छन्। विराटनगरस्थित स्लामापुर र मटेरुवा नाकाबाट हुलका हुल मानिस सीमा वारपार गरिरहे पनि प्रहरी प्रशासनले रोकतोक गर्दैन। ‘सीमामा धेरै भीड बढिरहेपनि आवतजावतमा रोक लगाइएको छैन’ विराटनगर मटेरुवा नाका बस्तीमा बुद्ध तामाङले भने। 

उनका अनुसार मुख्य नाका जोवनी बोर्डरमा ढाटलगाएर आवागमन थप्प पारिए पनि आसपासको क्षेत्रबाट आहोर दोहोर गर्नेको भीड थामिनसक्नु छ। सीमा क्षेत्रमा मेला लागेजस्तै अवस्था भए पनि सुक्षा निकाय मुकदर्शक बन्दा नेपालमा पनि भारतमा जस्तै कोरोना संक्रमण तीव्र रुपमा फैलने जोखिम बढेको विराटनगर रानीका विनोदकुमार रसाइलीले बताए। ‘सीमा वारपार गर्दा न कुनै मापदण्ड पालना गरिएको छ न त स्वास्थ्य परीक्षण नै गरिन्छ ’ रसाईलीले भने । संक्रमणले भयावह रुप लिएपछि नाका शिल गरेर केहि नहुने उनले बताए। ‘समयमै सरकारले ध्यान दिनुपर्‍यो’ उनले भने‘ स्वास्थ्य परिक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था सरकारले गर्नुपर्‍यो।’  

यता मोरङका प्रमुख जिल्लाी कोषहरि निरौलाले विराटनगरस्थित मुख्य नाका एक वर्ष देखि बन्द गरिएको बताए। यति मात्रै हैन सीमा नाकामा स्वस्थ्य परीक्षणको व्यवस्था पनि गरिएको उनले जानकारी दिए। तर, भारतमा किनमेल गर्न जाने र आफन्त भेटघाट गर्न जाने आउनेका लागि व्यावहारिक रुपमा मुख्य नाका भन्दा बाहिरका नाकाबाट आवतजावत गर्न दिइएको उनले बताए। ‘व्यवहारिक पक्षलाई पनि हेर्नेपर्‍यो ’ निरौलाले भने‘किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने र आफन्त भेटघाट गर्न आउनेजानेलाई मुख्य नाका बाहेकका नाकाबाट आवतजावत गर्न दिइएको छ।’ तर, मुख्य नाकाबाहेकका नाकाबाट आवतजावत गर्नेको भीड सीमावर्ती क्षेत्रमा बढेकाले चुनौती भने थपिएको निरौलाले बताए।  

यतिमात्रै हैन विराटनगरमा भेला, सभा खेलकुदका कार्यक्रम पनि निर्वाध रुपमा सञ्चालन भइरहेको छ। विराटनगरको शहिद रंगशालामा विराट गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोयिगता हेर्न हज्जारौं दर्शक एकैपटक रंगशालामा दैनिक भेला हुने गरेका छन्। यतिमात्रै हैन विराटनगरमा राजनीतिक भेला, जुलुसदेखि विभिन्न खालका औपचारिक कार्यक्रमसमेत आयोजना भइरहेका छन्।

यस्तै धेरै भीडभाड हुने स्थानहरू, ठूला मलहरू र बजार सामान्य मापदण्डसमेत पुरा नगरी सञ्चालनमा रहेको छ। प्रमुख जिल्ला अधिकारी निरौलाले प्रशासनकै अनुमतिमा विराटनगरकै गौरवका रुपमा रहेको विराट गोल्डकप प्रतियोगिता सञ्चालनमा रहेकाले प्रतियोगिता सकिएपछि आवश्यकताका आधारमा कडाइ गर्ने तयारी भइरहेको जानकारी दिए। उनले चाँडै रात्रिकालीन व्यवसाय बन्द गरिने र अन्य क्षेत्रलाई पनि क्रमशः नियन्त्रण गर्दै लैजाने योजना रहेको बताए।

प्रकाशित: ३ वैशाख २०७८ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App