१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

नेपालगन्जका विद्यालयमा फैलियो संक्रमण, १४ जना शिक्षक र विद्यार्थीलाई कोरोना पुष्टी

नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका बिरामी। तस्बिर : नागरिक

नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यहाँका विद्यालयहरुमा देखिएको छ। नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो। नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा प्रमुख गोरखबहादुर थापाका अनुसार स्थानीय धम्बोझी माध्यामिक विद्यालयका २ जना शिक्षक र २ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी भएको छ। 

यस्तै मंगलप्रसाद माध्यामिक विद्यालयका २ जना, सेन्टथोमस बोर्डिङ स्कुलका ३ जना, वाटरपार्क, महेन्द्र र आर्दश माध्यामिक विद्यालय नेपालगन्जका एक/एक जना शिक्षकलाई कोरोना संक्रमण पुष्टी भएको छ। यस्तै आर्दश मावि र सनविम माविका एक/एक जना विद्यार्थीलाई कोरोना संक्रमण भएको नगर शिक्षक प्रमुख थापाले जानकारी दिए।  

‘यि त अहिलेसम्म पुष्टी भएका मात्रै हुन्, अरु थुप्रै विद्यालयमा शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण भएपनि सार्बजनिक गरेका छैनन्, हामीले पत्ता लगाउने प्रयास गरिरहेका छौं,’ थापाले भने ‘नेपालगन्जका धेरै जसो विद्यालयमा भित्र भित्रै कोरोना संक्रमण फैलिसकेको छ, स्थिती निकै खतरनाक छ।’ कोरोना संक्रमण फैलिरहँदा पनि विद्यालयले अटेरी पूर्वक पढाई सञ्चालन गर्दा यस्तो अवस्था आएको उनको बुझाई छ।  

भेरी अस्पतालका अनुसार कोरोना भाईरसका नयाँ संक्रमित मध्ये अधिकांस शिक्षक, विद्यार्थी र अभिभावक रहेका छन्। कतिपय विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेपनि अधिकांसले मापदण्डलाई लत्याउँदै आएका छन्। ‘कोरोना भाईरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्, समयमै विद्यालय बन्द गर्ने विषयमा कुनैपनि जिम्मेवार निकाय गम्भिर भएनन्,’ एक अभिभावकले भने।

-नेपालगन्जका विद्यालय एक साता बन्द गरिने।

- सीमा कडाई गर्ने, अत्यावश्यक काम बाहेक भारत जान रोक लगाउने, भारतबाट आउनेहरुको अनिवार्य चेकजाँच गर्ने।

- सीमा तथा अस्पतालमा परीक्षणको दायरा बढाउने।

- सबै आइसोलेसन पुनः सञ्चालन गर्ने।

- मास्क नलगाउनेलाई कारबाही गर्ने, स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न लगाउने, भिडभाड हुने कार्यमा रोक लगाउने।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार सक्रिय संक्रमितको संख्या बिहीबारसम्म २ सय ८२ पुगेको छ। भेरी अस्पतालको कोभिड वार्डमा अहिले ७४ जना भर्ना भएका छन्। ती मध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको फोकल पर्सन ओलीले बताए। बाँकेमा अहिलेसम्म कुल ५ हजार ४३ जनामा कोरोना पोजेटिभ, ४ हजार ७ सय २ जना डिस्चार्ज र ५९ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ।  

विद्यालयमा तीव्र रुपले संक्रमण फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकाको बिहीबार बसेको विपद् ब्यवस्थापन समिति बैठकले आगामी आइतबारबाट लागु हुने गरी एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। उपमहानगरपालिकाका उप–प्रमुख उमा थापामगरले आइतबारबाट एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्। ‘विद्यालयमा संक्रमण तीव्र रुपले फैलिएको हुँदा बन्द गर्नुको विकल्प भएन,’ उनले भनिन् ‘हामीले शुक्रबारबाटै बन्द गर्ने प्रस्ताव गरेका थियौं, तर आइतबारबाट बन्द गर्ने निर्णय भएको छ।’

बैठकले भारतबाट आउनेको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने, मास्क अनिवार्य लगाउन कडाई गर्ने, माक्स नलगाएर कारोबार गर्ने पसल तथा ब्यवसायलाई कम्तिमा एक साताका लागि बन्द गरिदिने लगायतका निर्णय गरेको छ।

कोरोना संक्रमण भुसको आगो जस्तै फैलिरहेका बेला जिल्लाका सरकारी तथा संस्थागत(बोर्डिङ स्कुल)विद्यालयहरु निर्वाध रुपमा सञ्चालन भएपछि बन्द गर्न चौतर्फी रुपमा दवाव बढेको थियो। भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. संकेत रिसाल नेपाल–भारत सीमा नाका र विद्यालय तथा कलेज बन्द नगर्दासम्म कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न नसकिने बताउँछन्।  

‘भारतबाट दिन प्रतिदिन संक्रमित भित्रिरहेका छन्, विद्यालयले निर्वाध रुपमा पढाई सञ्चालन गरिरहेको अवस्थामा कोरोना नियन्त्रण गर्न कसरी सम्भव होला र ?’ उनले भने ‘यस्तै लापरबाहीले कोरोना नियन्त्रण बाहिर हुने निश्चित छ, कोरोना भाइरस समुदायमै फैलिसक्यो।’ दोस्रो चरणमा फैलिएको संक्रमण निकै कडा रहेको रिसालले सुनाए।  

कोरोना संक्रमण तीव्र रुपले बढिरहँदा नेपाल–भारत सीमा क्षेत्रमा पनि निर्वाध रुपले आवत–जावत चलिरहेको छ। भारतमा उच्च रुपले कोरोना भाईरस फैलिदा पनि नेपाल सरकारले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा कुनै कडाई नगरेको सर्बसाधारणको गुनासो छ। नयाँ वर्ष र चैते दशै मनाउन भारतका विभिन्न शहरबाट यतिखेर ठुलो संख्यामा नेपाली नागरिक फर्किरहेका छन्। सीमा क्षेत्रमा उनीहरुको सामान्य स्वास्थ्य जाँच गर्ने काम बाहेक अरु कुनै सावधानी अपनाएको पाइदैन।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अचेल भारतबाट दैनिक रुपमा एक हजारदेखी २ हजारको संख्यामा नेपाली नागरिक फर्किने गरेका छन्। बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक ओमबहादुर रानाले अचेल दैनिक रुपमा एक हजारदेखि २ हजारको हाराहारीमा नेपाली नागरिक फर्किने गरेको बताए। ‘भारतमा काम गरेर फर्केका नेपाली नागरिकको संख्या धेरै छ, घर फर्किरहेका नेपाली नागरिकलाई हामीले कसरी रोक्नु र ?’ उनले नागरिकसँग भने ‘सीमामा एउटा हेल्थ डेक्स राखिएको छ, त्यहाँ अनिवार्य रुपमा स्वास्थ्य जाँच गरिन्छ।’ सीमा नाकामा सवारी साधनलाई भने आवत–जावतमा रोक लगाइएको रानाले दाबी गरे। भारतबाट फर्केका ब्यक्तिको चेकजाँचमा कडाई गर्न आफ्नो मातहतका प्रहरीलाई निर्देशन दिइएको उनले बताए।  

जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार बसेको ‘जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र’ को बैठकले विभिन्न निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बैठकले सीमा कडाई गर्ने तथा अत्यावश्यक काम बाहेक भारत जान रोक लगाउने र भारतबाट आउनेहरुको अनिवार्य चेकजाँच गर्ने निर्णय गरेको छ। यस्तै सीमा तथा अस्पतालमा परीक्षणको दायरा बढाउने,  सबै आईसोलेसन पुनः सञ्चालन गर्ने, मास्क नलगाउनेलाई कारबाही गर्ने, स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न लगाउने, भिडभाड हुने कार्यमा रोक लगाउने निर्णय गरेको छ।

प्रकाशित: २ वैशाख २०७८ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App