६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोरोना महामारीः फुलवारी मेलामा बेपरवाह भीड, प्रशासनको निर्देशन कागजमै सीमित

सलहेस फुलवारीमा लागेको मेला भर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका मानिसको भीड । मेलामा नेपाली र भारतीय सराबरी थिए । तस्बिर : मिथिलेश/नागरिक

पोहोर भदौ महिनाको अन्तसम्म प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्ला कोरोनाको ‘हटस्पट’ थिए। आश्विनको अन्तमा सबै जिल्लाको ‘हटस्पट’ ट्याग हट्यो तर सिरहामा झुन्डिरह्यो। कारण थियो–सीमादेखि सहरसम्म बेपरवाह भीड।  

केही महिना संक्रमण मत्थर भएपछि वर्षको अन्तबाट(चैत मध्यबाट) कोरोना संक्रमण पुनः फैलिन थालेको छ। संक्रमण फैलिएसँगै मृत्यु दर पनि बढ्दैछ। तर लापरबाही, हेल्चक्र्याइँमा कमी आएको छैन। संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन, स्थानीय सरकार पनि बेपरवाह देखिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको संयोजकत्वमा आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले नयाँ वर्षको अवसरमा लाग्ने मेलामा भारतबाट पनि मानिसहरु आउने हुनाले सीमामा रोक्ने निर्णय गरेको थियो। भारतबाट आउनेहरुलाई सीमामै रोक्ने र मेला आयोजना नगर्न/नगराउन गरिएको निर्णय कागजमै सीमित भयो। नयाँ वर्षको दिन सलहेस फुलवारीमा मेला पनि लाग्यो र बेपरवाह भीड पनि लाग्यो। भारतका मानिसहरु मेला भर्न ठाढी, माडर, बरियारपट्टी नाकाबाट बेरोक फुलवारीमा आए। बाँसुरी बेच्नेदेखि प्लास्टिकका खेलौना बेच्नेसम्म र प्रसाद बेच्नेदेखि सिन्दुर बेच्नेसम्म भारतीहरु नै छन्। उनीहरु दुई दिनअघि नै मेला स्थलमा आएको बताए।  

लहान नगरपालिकाको सलहेस फुलवारीमा नयाँ वर्षको दिन मात्र फुल्ने फूल हेर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट मानिसको भीड उर्लिन्छ। गत वर्ष कोरोना माहामारी नियन्त्रणका लागि सरकारबाट गरिएको लकडाउनका कारण मेला लागेको थिएन। जसकारण फूल फुल्यो तर हेर्ने आएनन्। यसपाली सरकारले भीडभाड नगर्न/नगराउन निर्देश जारी गरेपनि कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित: १ वैशाख २०७८ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App