१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

छिमेकी भारतमा कोरोना संक्रमण तीव्र

बिहीबार मात्र एक लाख २६ हजार संक्रमित

भारतमा बिहीबार १ लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ। पहिलो चरणमा भन्दा व्यापक रूपमा यसपटक महामारी फैलिएपछि सरकारी अधिकारी आश्चर्यमा परेका छन्। उनीहरूले मास्क लगाउन गरेको हेलचेक्र्याइँका कारण यसरी महामारीले उग्र रूप लिएको दाबी गरेका छन्। न्युजिल्यान्डले भारतीय पर्यटकलाई दुई साताका लागि देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।  

भारतमा अहिलेसम्म १ करोड २९ लाख संक्रमित भएका छन्। संक्रमणका हिसाबले भारत विश्वमा तेस्रो स्थानमा छ। कोरोनाबाट संक्रमित हुने राष्ट्रमा अमेरिका र ब्राजिल पहिलो र दोस्रो नम्बरमा छन्। कोरोनाका कारण भारतमा १ लाख ६६ हजार जनाको मृत्यु भइसकेको छ। खोप अभावमा महामारीले सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यका अधिकांश खोप केन्द्र दिउँसै बन्द हुन थालेका छन्। अर्को राज्य ओडिसाका आधाभन्दा बढी खोप केन्द्रहरू बन्द भएका छन्।

‘खोप अभावका कारण सरकारी तथा निजी अस्पतालमा दिन बन्द गरिएको छ। खोप आपूर्ति सहज भएपछि मात्र अस्पतालमा उपलब्ध गराइनेछ,’ मुम्बईनजिक रहेको पानभेल सहरका अधिकारीले रोयर्टसलाई बताए। यसैगरी महाराष्ट्रको सतारा जिल्लामा पनि खोप कार्यक्रम रोकिएको छ। केन्द्रीय सरकारले भने ४५ वर्ष उमेरभन्दा माथिका नागरिक तथा अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारी र स्वयंसेवकलाई खोप अभाव नरहेको दाबी गरेको छ। केन्द्र सरकारले राज्य सरकारले अनावश्यक रूपमा आतंक मच्चाएको आरोप लगाएको छ। 

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले खोप सहज रूपमा उपलब्ध नगराएको भन्दै आलोचना गरेका छन्। उनीहरूले सरकारले आन्तरिक माग पूरा नगरी करोडाैं डोज खोप निर्यात गरेको आरोप लगाएका छन्। ‘भ्याक्सिन व्यवस्थापनका लागि किन रणनीति र योजना भएन रु खोप ठूलो मात्रामा खेर गइरहेको पृष्ठभूमिमा किन अभाव भइरहेको छ रु’ प्रमुख प्रतिपक्षी दल कंग्रेसको ट्विटरमा प्रश्न गरिएको छ।  

भारतमा अहिलेसम्म लगाइएको ८ करोड ८० लाख डोज खोपमध्ये ९० प्रतिशत भारतकै सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो। यो कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउन सरकारसँग ४० करोड अमेरिकी डलर माग गरेको छ। यसबाहेक अर्को कम्पनी भारत बायोटेक पनि खोप उत्पादन गर्न प्रयासरत छ। (रोयटर्र्स)

प्रकाशित: २७ चैत्र २०७७ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App