coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

खोप र दिमागमा रगत जम्ने समस्याबीच सम्बन्ध छ: इएमए

कोरोनाविरुद्ध अस्ट्राजेनेकाले उत्पादन गरेको खोप र दिमागमा रगत जम्ने समस्याबीच प्रस्ट सम्बन्ध रहेको युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले जनाएको छ। इएमएको खोप समीक्षा टोली अध्यक्ष मार्को कोभालेरीले एक इटालियन दैनिकलाई दिएको अन्तर्वार्तामा यो कुरा बताएका हुन्।  

‘दिमागमा रगत जम्ने रोगको सम्बन्ध यो खोपसँग रहेको प्रस्ट देखिएको छ तर यस्तो के कारणले भएको हो भन्नेमा अझै प्रस्ट भइसकेको छैन,’ उनले भनेका छन्। उनले आफ्नो भनाइलाई प्रस्ट्याउने प्रमाण भने दिएका छैनन्। इएमएले छुट्टै विज्ञप्ति निकालेर खोपको पुनरवलोकन जारी रहेको र नतिजा छिट्टै सार्वजनिक गरिने जनाएको छ। अस्ट्राजेनेकाका प्रवक्ताले भने यो विषयमा कुनै प्रतिक्रिया दिन मानेनन्।  

इएमएले यसअघि अस्ट्राजेनेकाले निर्माण गरेको खोपको जोखिमभन्दा फाइदा अत्यधिक रहेको बताउँदै आएको थियो। इएमएले यो खोप लगाएकामध्ये ४४ जनामा दिमागमा रगत जम्ने बिमारबारे अध्ययन गरेको थियो। युरोपियन आर्थिक क्षेत्रमा कुल ९२ लाखजनाले अस्ट्राजेनेकाको खोप लगाएका छन्। विश्व स्वास्थ्य संगठनले पनि यो खोपको प्रतिरक्षा गरेकोछ। संगठनले यसअघि अस्ट्राजेनेकाको खोपका कारण दिमागमा रगत जम्ने प्रमाण नभेटिएको बताएको थियो। अहिले युरोपका फ्रान्स, जर्मनी र नेदरल्यान्डलगायत देशले युवालाई यो खोप दिन बन्द गरेका छन्।

एक साताअघि मात्र इएमएले आफ्नो एक समीक्षामा उमेर र लिंगका आधारमा अथवा यसअघि रगत जम्ने समस्या भएका बिरामीलाई यो खोपले जोखिम नभएको उल्लेख गरेको थियो। वैज्ञानिकहरू यो खोप लगाएपछि दिमागमा रगत जम्ने समस्याका विभिन्न कारक तत्व पत्ता लगाउन लागिपरेका छन्। युरोपियन शोधकर्ताले गरेको एक तर्कअनुसार यो खोपले केहीमा बिरलै खाले एन्टिबोडी निर्माण गर्छ। अन्य विज्ञले यो विषय जन्मनिरोधक चक्कीसँग जोडिएको हुन सक्ने तर्क गरेका छन्। एक अर्को अन्तर्वार्तामा इएमएका अर्का सदस्य अर्मान्डो गेनाजनीले खोप र रगत जम्ने विषयको सम्बन्ध हुन सक्ने बताएका छन्। अस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना खोपको उत्पादन गर्दै आएको छ।

प्रकाशित: २६ चैत्र २०७७ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App