८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कर्णालीमा कोरोनाको जोखिम बढ्दै

कर्णालीमा अघिल्लो सातासम्म कोरोना संक्रमितको संख्या दुई जना मात्रै थियो। सुर्खेतबाहेक नौवटै जिल्लामा कोरोना संक्रमित शून्य थियो। नयाँ वर्ष र चैते दशैंको पूर्व सन्ध्यामा कमाउनका लागि कालापहाड (भारत)बाट कर्णालीवासी फर्कन सुरु भएसँगै कोरोनाको जोखिम पनि बढ्न थालेको छ। सोमबारसम्म कर्णालीमा संक्रमितको संख्या १६ पुगेको छ। दुई जना कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत छन्।  

‘चैते दशैं र नयाँ वर्ष मनाउनका लागि भारत गएकाहरु घर फर्कनेक्रम सुरु भएसँगै कर्णालीमा कोरोनाको जोखिम पनि सुरु भएको छ,’ सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने, ‘त्यसैले भारत र प्रदेश बाहिरबाट आउने नागरिकको तथ्याङ्क संकलन र ज्वरो जाँचका लागि नाकाहरुमा हेल्थ डेक्सको स्थापना गरेका छौं।’

प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतका बबई, कुइने र सुर्खेत विमानस्थलमा हेल्थ डेक्स स्थापना गरेको छ। भारत, तेस्रो मुलुक र कर्णाली बाहिरबाट आउने नागरिकहरुको तथ्याङ्क संकलनका लागि नाकामा स्वास्थ्यकर्मीसहित प्रहरी खटाइएको छ। ‘भारतमा कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्न थालेपछि प्रदेश सरकारले त्यहाँबाट आउने कर्णालीका नागरिकहरु तथ्याङ्क संकलन गर्न र ज्वरो जाँचका लागि नाकाहरुमा एक सातादेखि हेल्थ डेक्सको स्थापना गरेको हो,’ उनले भने, ‘१००.२ फरेनहाइट भन्दामाथि ज्वरो देखिएमा तत्कालै कोरोना परीक्षणको व्यवस्था मिलाएका छौं।’

हाल बन्द रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालालाई प्रदेश सरकारले तयारी अवस्थामा राखेको छ। प्रदेशका विभिन्न स्थानमा स्थापना गरिएका आइसोलेसनहरुलाई पुनर्स्थापना गरिएको छ। गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुका लागि दुई सय बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ भने सबै पालिकाहरुले केन्द्रमा आइसोलेसन तयारी अवस्थामा राखेका छन्।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले सुर्खेतको बबई नाकाबाट दैनिक दुई सयदेखि तीन सयको संख्यामा भारतबाट कर्णालीका नागरिकहरु भित्रिने गरेको बताए। ‘भारतका पनि कोरोना जोखिम देखिएका प्रान्तहरुबाट कर्णालीका नागरिकहरु आउनेक्रम सुरु भएको छ,’ उनले भने, ‘जोखिम न्यूनिकरणका लागि आवश्यक तयारी भइरहेको छ।’

नाकामा चेकजाँचका क्रममा ज्वरो देखिएकाहरुलाई कोरोनासँगै मलेरिया परीक्षण पनि गर्ने गरिएको छ। ‘भारतसँग नजोडिएकाले तुलनात्मक रुपमा कर्णाली सुरक्षित छ,’ उनले भने, ‘तर पनि नाकाहरुसँगै हरेक पालिकाका केन्द्रमा कोरोना परीक्षणका लागि स्वाब संकलनको थालनी गरिसकेका छौं।’

प्रकाशित: २३ चैत्र २०७७ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App