७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोना देखिएपछि स्थानीय आतंकित

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत १२ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय आतंकित भएका छन्। यसअघि जलविद्युत् आयोजनामै कार्यरत भारतीय मजदुरमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेका १ महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।  

छिमेकी राष्ट्र भारतसँगै तराईका जिल्लाबाट आएका मजदुरमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए। मिस्त्रीखोला जलविद्युत् आयोजनास्थलमा कार्यरत सबैजसो मजदुरलाई कोरोना संक्रमणको जोखिममा राखी ७६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

‘नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ। संक्रमितको संख्या हेर्दा अवस्था भयावह छ, ‘बाहिरी जिल्लाबाट प्रवेश गर्ने मजदुरलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्छ,’ प्रमुख लम्सालले भने। संक्रमितमा लक्षणसमेत भेटिएकाले थप सतर्कता अपनाउनसमेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ। छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएका जिल्लाबाट ठूला विकास निर्माणका आयोजनामा काम गर्न आउने मजदुरलाई परीक्षणबिनै छोड्दा कोरोना संक्रमित भेटिन थालेको भन्दै जिल्ला प्रवेशमै कडाइको माग गरिएको छ। जिल्लामा सञ्चालित ठूलो आयोजनामा तराई र भारतीय मजदुर आउने गरे पनि विनापरीक्षण सिधै आयोजनास्थलमै पुग्ने गरेका छन्।

नयाँ प्रकारको भाइरसको प्रकोप फैलिएको आशंकामा विदेशबाट म्याग्दीमा आउने कामदार र घर फर्किएकाले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले यसअघि विदेशबाट आउने मजदुर र लामो समयका लागि घर बिदामा आएकालाई १० दिन अनिवार्य क्वारेन्टिनमा राखेर लक्षण नदेखिएपछि पठाउने निर्णय गरेको थियो।

प्रकाशित: २२ चैत्र २०७७ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App