६ वैशाख २०७८ सोमबार
स्वास्थ्य

इट्टा उद्योगका कामदारलाई बीमा र निःशुल्क उपचार

धादिङको थाक्रे गाउँपालिकामा सञ्चालन गरिएको इट्टा उद्योगमा काम गर्दै कामदार । तस्बिर : सरिता/नागरिक

धादिङको थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेष्ट इट्टा उद्योगमा काम गर्दै आइरहेका रोल्पाका २४ वर्षीय गणेश घर्तीको मेसिनमा च्यापिएर गत फागुनमा मृत्यु भयो। इट्टा उद्योगमा काम गर्दै आइरहेका घर्तीको उद्योगले गरिदिएको दुर्घटना बीमाले केही राहत मिल्यो। बीमा बापतको सात लाख रकम र आतेजाते रकम उनको परिवारले पाए। आर्थिक अवस्था कमजोर र ज्यालामजदुरी गरेर जीविका धान्दै आइरहेका घर्ती परिवारमा सन्तान गुमाउनुको पीडासँगै दुर्घटना बीमा बापतको रकम पाउँदा घर्ती परिवार खुसी भए।  

इट्टा उद्योगमा काम गर्ने हरेक मजदुरको सामूहिक बीमा र स्वास्थ्य उपचारका सम्पूर्ण खर्च उद्योगले नै व्यहोर्ने गरेको एभरेष्ट इट्टा उद्योगका सञ्चालक पुष्पराज रेग्मीले बताए। ‘हाम्रो उद्योगमा मेसिनबाट इट्टा बनाइन्छ, जसले गर्दा छिटो र सरल काम हुने र धेरै कामदार पनि लाग्दैछ,’ सञ्चालक रेग्मीले भने, ‘करीब डेढ सय मजदुर छन्, सबैको दुर्घटना बीमा गरिदिएको छौँ भने उद्योगमा नै प्राथमिक उपचार हुन्छ, पढाईका लागि बालबालिकालाई सिकाइ केन्द्र पनि छ।’ उद्योग र कामदारबीच भएको सम्झौता अनुसार नै तलब दिने गरिएको पनि सञ्चालक रेग्मीले बताए।  

जिल्लामा ३० वटा भन्दा बढी इट्टा उद्योगहरु सञ्चालनमा छन्। ती मध्ये चार वटा इट्टा उद्योगले मात्रै बालश्रम मुक्त गरेको छ भने कामदारहरुको बीमा गरिदिएको छ। धुनीबेसी नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेष्ट इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ८ मा रहेको यति इट्टा  उद्योग र गजुरी गाउँपलिका वडा नं ५ मा रहेको राजधानी इट्टा उद्योगमा बालश्रम मुक्त छ। उद्योग परिसरमा बालबालिकाका लागि सिकाइ केन्द्र स्थापना गरिएको छ, प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएमा पनि उद्योगले नै खर्च व्यहोर्ने गरेको छ।  

धुनीबेसी नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इट्टा उद्योगले पनि कामदारको बीमा गरिदिएको छ। उद्योगमा कार्यरत नेपाली तथा भारतीय कामदारको बीमा गरिदिएको सञ्चालक सञ्जय न्यौपानेले बताए। ‘उद्योगमा काम गर्ने दुई सय भन्दा २० भन्दा बढी कामदार सबैको कामको सम्झौता गरिएको छ, सम्झौता अनुसार नै पारिश्रमिक दिने गरेका छौँ’, सञ्चालक न्यौपानेले भने, ‘औषधि उपचार निःशुल्क छ भने गुनासो सुन्नका लागि गुनासो पेटिका र गुनासो सुन्ने व्यक्ति पनि राखेका छौँ।’ उद्योगमा धादिङ जिल्ला बाहेक अन्य जिल्लाका नेपालीसँगै भारतीय कामदारहरु पनि छन्।

भूकम्पपछि जिल्लाको धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका क्षेत्रमा इट्टा उद्योगहरु बढेको हो। ज्याला मजदुरीका लागि टाढा टाढाबाट आएका मजदुरले उचित पारिश्रमिक नपाउने, दुर्घटना भइहाल्यो भने क्षतिपूर्ति नपाउने, बालबालिकाको प्रयोग गर्ने लगायतका विभिन्न समस्याहरु छन्। पढ्न छाडेर आमाबुबासँगै उद्योगमा आएका बालबालिकाहरु समेत उद्योगमा काम गरिरहेको भेट्न सकिन्छ। नेपाल सरकारको नीति अनुरुप बाल श्रम शोषण गर्न नपाइने कानुन निर्माण गरेपनि श्रम शोषण भइरहेको छ। यस्ता समस्यालाई मध्यनजर गर्दै ग्लोबल फेयरनेश इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपाल धादिङले बेटर ब्रिक नेपाल परियोजना सञ्चालन गरेको छ।  

परियोजना सञ्चालन भएका उद्योगमा बालश्रम मुक्त भएको र कामदारहरुको बीमा, निःशुल्क स्वास्थ्य उपचार पनि भएको बेटर ब्रिक नेपाल परियोजनाका फिल्ड संयोजक सुनिता कडेंलले बताइन्। ‘बाल तथा बाध्यकारी श्रमको अन्त्य गर्ने उद्देश्यले जिल्लाको चारवटा इट्टा उद्योगमा बेटर ब्रिक नेपाल परियोजना सञ्चालन गरिएको छ’ कडेंलले भनिन् ‘उद्योगमा बालबालिका प्रयोग हुन थालेपछि त्यस क्षेत्रमा अस्थायी सिकाई केन्द्रको सञ्चालन, खाजा, मनोरन्जनको व्यवस्था समेत गरिएको छ।’  

परियोजनाले उद्योग सञ्चालनको लागि इट्टा उद्योग महासंघले जारी गरेको मापदण्डहरु कार्यान्वयनमा पहल गरेको छ। बालश्रम मान्य छैन, बाध्यकारी वा इच्छा विपरीत श्रम मान्य छैन, ज्याला तथा कार्यघण्टा, कार्यस्थल सुरक्षा स्वास्थ्य र अमानवीय व्यवहार मान्य छैन भन्ने मापदण्डहरु निर्धारण गरेको छ। नेपालको श्रम शक्ति सर्वेक्षण २०१८ अनुसार नेपालका इट्टा उद्योगहरुमा दुई लाख भन्दा बढी श्रमिकले रोजगारी पाएको, उद्योगमा ६० हजार बालश्रमिक जसमा ६० प्रतिशत महिला बालश्रमिक प्रयोग भएको कंडेलको भनाइ छ।

उद्योगमा कार्यरत कामदारका पाँच वर्षमुनिका बालबालिकालाई उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्रको सञ्चालन गरिएको छ। पाँच वर्षमाथिका बालकालिकालाई नजिकैको विद्यालयमा पढाउने व्यवस्था, बालश्रम उन्मुलन, कामदारको स्वास्थ्य सुरक्षा, कामदारलाई अभिमुखिकरण कार्यक्रम र विद्यालय निरन्तरताको लागि बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग तथा उद्योगी र श्रमिकबीच श्रम सम्झौता गर्न सहयोग गर्दै आएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए।

प्रकाशित: १८ चैत्र २०७७ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?