७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भारतीय सेनाले दियो नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख खोप

भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको छ। गत जनवरीमा ‘खोपमैत्री’ कार्यक्रमअन्तर्गत् नेपाललाई दश लाख खोप प्रदान गरेपश्चात् फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको 'कोभिशिल्ड' खोप उपहारस्वरुप प्रदान गरेको हो।  

भारतले अघि बढाएको यो प्रयास दुई देशबीचको विशेष सम्बन्धको अर्को एक अनुपम उदाहरण हुनुकासाथै यसले भारतले आफ्नो छिमेकीप्रति देखाएको सदाशयतालाई पनि पुष्टि गरेको बताइएको छ।

भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीतिअनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्ण चन्द्र थापालाई टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्समार्फत् उक्त खोप प्रदान गरे। भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुकी ल्याइएको उक्त खोप नेपालका लागि भारतका राजदूत श्रीविनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरे।

जनरल नरवणे नेपाली सेनाका मानार्थ महारथी पनि हुन्। गत नोभेम्बरमा भएको नेपाल भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो।

प्रकाशित: १७ चैत्र २०७७ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App