७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारबाही

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो। परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा आज बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका चार जनामा सङ्क्रमण देखिएको छ। गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका यहाँको पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले कैलालीको टीकापुरका दुई र डोटीका दुई जनामा सङ्क्रमण देखिएको बताए। 'यस नाकाबाट दैनिक ५ सयदेखि ७ सयसम्म नेपाली भारतबाट फर्किरहेका छन्।' अहेव साउदले भने, 'सीमामा परीक्षण गर्दा हरेक दिनहुँजसो कोरोना पोजेटिभ देखिएको छ।'

उनले बुधबार सोही नाकामा परीक्षण गर्दा आठ र मङ्गलबार पाँच जनामा कोरोना देखिएको बताए। 'एक साताको विवरण हेर्दा २० जनामा सङ्क्रमण देखिएको छ', उनले भने, 'भारतमा सङ्क्रमित क्षेत्रबाट आइरहेका नेपालीहरूमा यहाँ सङ्क्रमण देखिन थालेको छ।' गड्डाचौकी प्रहरीका अनुसार पछिल्लो समय भारतका विभिन्न शहरमा कोरोनाको सङ्क्रमण बढिरहेसँगै मजदुरीका लागि भारत गएकाहरु सिमानाबाट फर्किने क्रम बढेको छ।

'दैनिक चारदेखि पाँच सय नेपाली गड्डाचौकी नाकाबाट घर फर्किरहेका छन्।' इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने,'सीमामा स्थानीय प्रशासनले भारतको सङ्क्रमित क्षेत्रबाट आइरहेकाहरूको स्वास्थ्य परीक्षण पनि गरिरहेको छ।' कोरोना कहरको अवस्था सामान्य बन्दै गएका बेला भारत जाने क्रम यहाँबाट सुरु भए पनि भारतमा सङ्क्रमण बढ्दा फर्किनेको चाप बढ्न थालेको हो।

त्यसैगरी कञ्चनपुर प्रशासनले पनि यहाँ कोरोना सङ्क्रमण बढ्न नदिन स्वास्थ्य सतर्कता कायम गर्न अनुरोध गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतका केही राज्यमा कोरोना सङ्क्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आदेश जारी गरेको जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी विज्ञप्तिमा नजिकिँदै गरेको होलीलगायत कुनै मेला, पर्व र भीडभाड नगर्न भनेको छ। प्रशासनले कोरोना सङ्क्रमण बढ्न नदिन सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रहसमेत गरेको छ।स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भारतमा कोरोना पुनः फैलिएसँगै यहाँका सीमामा कोरोनाको नमूना परीक्षणका लागि जनशक्ति थप गरिएको बताए।

'पूर्वी गौरीफन्टा नाकामा सङ्क्रमण बढी देखिएको छ', उनले भने, 'त्यहाँ कैलाली र कञ्चनपुरको स्वास्थ्यकर्मीको टोली खटिएको छ।' गड्डाचौकी नाकामा पछिल्लो समय पाँच जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयले माथिल्लो तहबाट आएको निर्देशनानुसार स्थानीय प्रशासन र पालिकासित समन्वय गरेर अघि बढेको छ। 'सीमामै हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण भइरहेको छ', प्रमुख सुनारले भने, 'पञ्जाव, गुजरात र महाराष्ट्रलगायतका क्षेत्रबाट आइरहेकामा शङ्कास्पद देखिएको परीक्षण गर्ने गरिएको छ।'

भारतबाट आएर क्वारेन्टिन नबस्नेलाई कारबाही

 छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिर्वायरूपमा १४ दिन क्वारेन्टिन बस्न यहाँको जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णय गरेको छ।

डोटीबाट सयौँ नागरिक रोजगारीका लागि भारतका विभिन्न शहर गएका र अहिले उनीहरु घर फर्किन थालेका कारण जिल्लामा कोरोनाको जोखिम बढ्ने निकै सम्भावना रहेको भन्दै सचेत हुनसमेत जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ। कोभिड–१९ बारे फेरि सतर्कता अपनाउन प्रशासनले एक सार्वजनिक सूचना जारी गरी सबैमा अनुरोधसमेत गरेको छ। उक्त बैठकले छ बुँदे निर्णय गरी कार्यान्वयन गर्न/गराउन सबैमा आग्रह गरेको छ। रासस

प्रकाशित: १२ चैत्र २०७७ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App