८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

८ लाख डोज खोप लिन जहाज चीन जाने

चीनले नेपालका लागि अनुदानमा दिएको कोभिडविरुद्धको ८ लाख डोज खोप लिन नेपाल एयरवेजको जहाज चीन जाने भएको छ। आइतबार चीन प्रस्थान गर्ने जहाजले सोमबार खोप ल्याइपुर्‍याउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।  

चीनले डेढ महिनाअघि नै तयारी अवस्थामा राखेको खोप ल्याउने प्रक्रियामा ढिलाइ भएको हो। खोप लिन जाने जहाजको चयन, जहाज जाने मार्ग तयार गर्ने र अन्य प्रक्रिया पूरा गर्दा ढिलाइ भएको महाशाखाले जनाएको छ। चीनले दुई महिनाअघि ५ लाख र गत फागुनमा थप ३ लाख गरी नेपाललाई ८ लाख खोप अनुदानस्वरूप दिने निर्णय गरेको थियो।  

चीनबाट खोप ल्याएलगत्तै खोप अभियान जारी हुने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए। गौतमका अनुसार खोप कुन समूहका लागि लगाउने भन्ने निर्णय हुन बाँकी छ। ‘५५ वर्ष माथिका र दीर्घरोगीको समूहलाई दिने सम्भावना छ’, कोभिड संयोजक डा. श्यामराज उप्रेतीले भने। भारतबाट किनेर ल्याउने २० लाख खोपमध्येमा १० लाख डोज कहिले आउने भन्ने निश्चित नभएपछि नेपाल सरकारले खोप अभियान स्थगित गरेको थियो। एउटै कम्पनीको खोपमात्र दुई डोज दिनुपर्ने भएकाले चीनबाट ल्याएको खोप ४ लाख जनसंख्यालाई मात्र दिन पुग्ने डा. गौतमले बताए।  

नेपालमा पनि बढे कोरोना संक्रमित

केही दिनदेखि नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। मंगलबार १ सय ८८ जना संक्रमित भेटिएका छन्। यो संख्या सोमबार १ सय ५० र आइतबार ७७ थियो। त्यसअघि शनिबार १ सय २५, शुक्रबार १ सय ७ र बिहीबार ९४ जना संक्रमित भेटिएका थिए। सोमबार २४ घण्टामा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

नेपालमा केही दिनयता संक्रमण वृद्धि हुनुमा भारतको कोरोना संक्रमणको प्रभावले हो वा अन्य कारणले भन्ने विषयमा अध्ययन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘हामीले थप केही दिनको स्थिति हेरेपछि मात्र बढेको या घटेको भन्ने यकिन गर्न सक्छौं’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। भारतमा तीव्र रूपमा कोरोना संक्रमण बढेपछि नेपालमा जोखिम रहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई कडाइका साथ सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ। ‘मास्कको अनिवार्य प्रयोग, हातको सफाइ र दूरी कायम राख्ने कुरामा पहिलाको जस्तै ध्यान दिनुपर्छ’, प्रवक्ता गौतमले भने।

प्रकाशित: ११ चैत्र २०७७ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App