४ चैत्र २०७७ बुधबार
स्वास्थ्य

आठ देशले लगाए अक्सफोर्डको खोपमा रोक

युरोपका केही देशले अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनेकाले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएपछि रगत जम्ने (ब्लड क्लट) समस्या देखिएको भन्दै प्रयोगमा रोक लगाएका छन्। युरोपेली मुलुक डेनमार्क, नर्बे, आइसल्यान्ड, इटाली, लिथुआनिया, लाटभिया, लक्जेमबर्ग र रोमानियाले यो खोप लगाएपछि ब्लड क्लटको समस्या देखिएको औंल्याउँदै प्रयोगमा रोक लगाएका हुन्। थाइल्यान्डले पनि यो खोप प्रयोगमा रोक लगाएको छ।फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार भारतले पनि यो खोप प्रयोग गरिसकेपछिका असरबारे गहिरो अध्ययन गर्ने भएको छ।  

‘हामीले यो खोपका कारण भएका मृत्यु, हस्पिटल भर्नाजस्ता विषयमा अध्ययन गर्दैछौं। कुनै त्यस्तो चिन्ताको विषय देखिएमा हामी जानकारी गराउनेछौं,’ भारत सरकारको कोभिड–१९ सम्बन्धी राष्ट्रिय कार्यदलका सदस्य डा. एनके अरोराले एएफपीलाई भने। उनले भारतमा यो खोप प्रयोगपछि ६० जनाको मृत्यु भएको तर यस्तो संयोगवश भएको हुनसक्ने बताए। भारतस्थित सेरम इन्स्टिच्युटद्वारा उत्पादित २ करोड ८० लाख डोज कोभिसिल्ड खोप भारतमा प्रयोग भइसकेको छ। यसैगरी नयाँदिल्लीले पछिल्ला केही साता नेपाललगायत विश्वका ७० देशलाई यो खोप अनुदान दिएको छ। भारतमा शुक्रबार मात्र २० लाखलाई यो खोप दिइएको थियो। भारतको महाराष्ट्रमा कोरोना महामारी फेरि बढेपछि कतिपय स्थानमा आवागमन तथा सार्वजनिक सभा गर्न रोक लगाइएको छ। भारतका केरला, पन्जाब, कर्नाटक, गुजरात र तामिलनाडुमा कोभिड–१९ संक्रमण फेरि बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले भने कोभिसिल्ड खोप लगाउन रोक्नैपर्ने कारण नभएको जनाएको छ। संगठनकी प्रमुख वैज्ञानिक डा. सोम्या स्वामिनाथनले मानिसमा रगत जम्ने समस्या आउनुमा खोप नै जिम्मेवार रहेको भनेर भन्न नसकिने बताएकी छन्। संगठनले यो खोपलाई प्रयोग अनुमति दिएको छ। खोप निर्माता कम्पनी अस्ट्राजेनेकाले पनि तेस्रो चरणको परीक्षणअन्तर्गत व्यापक अध्ययन भएको र तथ्यांकले खोपको डोजलाई शरीरले राम्रोसँग सहन सक्ने देखाएको जनाएको छ।

प्रकाशित: २ चैत्र २०७७ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App