१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

वीपी प्रतिष्ठानमा मृत शरीर संरक्षण गर्ने नयाँ विधि सफल

वीपी प्रतिष्ठानमा तयार गरिएको सफ्ट क्याडेभर अवलोकन गर्दै प्रतिष्ठानका उपकुलपति, रेक्टरलगायत । तस्बिर : नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत शरीरलाई संरक्षण गर्न प्रयोग गरिएको नयाँ विधि स्याचुरेटेड साल्ट सोलुसन (एसएसएस) सफल भएको छ। विगतमा केमिकल (फर्मालिन) प्रयोग गरेर मृतक शरीरलाई संरक्षण गरिँदै आएको थियो। फर्मालिन प्रयोग गरिएको क्याडेभर (मृत शरीर) कडा हुने, रंग अलग बनाइदिने हुनाले धेरै समस्या हुने गरेको थियो। विश्वमा भने स्याचुरेटेड साल्ट सोलुसन विधिमार्फट सफ्ट क्याडेभरको प्रयोग सुरु भइसकेको थियो। नेपालमा पनि पहिलो पटक वीपी प्रतिष्ठानले यो विधिबाट सफ्ट क्याडेभर तयार गरेको एनाटोमी विभागका एशोसिएट प्रोफेसर डा.प्रभाकर यादवले जानकारी दिए। नेपालमा हालसम्म फ्रेस क्याडेभर वा ड्राइ क्याडेभरको प्रयोग मात्र भइरहेको छ।  

डा. यादवका अनुसार कुनै केमिकल प्रयोग नगरि एक साताभित्र अध्ययन वा तालिम गराउने उद्देश्यले प्रयोग हुने मृत शरीरलाई सफ्ट क्याडेभर भनिन्छ। फर्मालिन केमिकल प्रयोग गरेर संरक्षण गरिएको मृतक शरीरलाई ड्राइ क्याडेभर भनिन्छ। यसमा फर्मालिनको बढी प्रयोग हुने भएकोले छाला तथा मांसपेशीहरुलाई कडा बनाइदिएको हुन्छ भने स्नायु, मांशपेशीलगायत अंगप्रत्यांगहरुको रंग पनि एकै बनाइदिन्छ। जसले गर्दा विद्यार्थीहरुलाई अध्ययन एवं तालिम गराउँदा निक्कै असहज हुने गरेको छ।

‘सफ्ट क्याडेभरमा फर्मालिन धेरै न्युन छ। रगतको नशा हेर्न खोज्यौं, स्नायु, छाला मासु जति नरम हुनुपर्ने हो, त्यो ज्यूउँदो मान्छेको जस्तै हुन्छ। जुन ड्राई क्याडेभरमा हुदैन,’डा.यादवले भने,‘यसले जटिल अप्रेसन वा दुर्लभ अप्रेसन गर्नुपर्ने भयो भने त्यसअघि सफ्ट क्याडेभरमा अभ्यास गरेर गर्दा अप्रेसनमा कुनै जटिलता हुदैन।’ डा. यादवका अनुसार सफ्ट क्याडेभरमा ८० प्रतिशत जति मृतक शरीरको अंग, प्रत्यंगहरु ज्यूँउदो मानिसमा जस्तै रहेको भेटिएको छ। यो सफ्ट क्याडेभर एमबिबिएस र बिडिएसका विद्यार्थीलाई साथै पोष्ट ग्राजुएट अध्यापन गराउन पनि निक्कै उपयोगी हुने डा.यादवको भनाइ छ।  

यो विधि सन् १९९२ तिर नै अभ्यासमा आएको मानिन्छ। तर, सन् २०१४ मा जापानका डा.सुगो हायसीले यो विधिलाई अझ परिष्कृत ढंगले विकास गरेर व्यापकता दिए। अहिले संसारभर यही विधिबाट सफ्ट क्याडेभरको प्रयोग हुँदै आएपनि नेपालमा भने अहिलेसम्म ड्राइ क्याडेभरकै भरमा चिकित्सा क्षेत्र रहेको थियो। प्रतिष्ठानका डाक्टरहरुले जापानी डा.हायसीसँग प्रत्यक्ष सम्पर्क गरेर उनकै निगरानीमा सफ्ट क्याडेभर तयार गर्न सफल भएका हुन्। यसबारेमा प्रतिष्ठानका हाडजोर्नी विभागका डाक्टर विष्णु पोखरेलले थाइल्याण्डमा गएर तालिम पनि लिएका थिए। 

‘सफ्ट क्याडेभर तयार गर्न स्याचुरेटेड साल्ट सोलुसन विधि अपनाएका छौं। यसले मृत शरीरको जोर्नी, मांसपेशीहरु जिवित अवस्थाको जस्तो रंगमा, नरमपनामा राख्छ। हामीले अध्ययन गर्दा ज्यूउँदो मान्छेको जस्तै देख्न पाउँछौं,’डा. पोखरेलले भने,‘नयाँ सर्जिकल तालिमहरु गर्नलाई एकदमै उपयोगी हुन्छ।’ एनाटोमी विभागका डा.यादव अब प्रतिष्ठानलाई तालिम केन्द्रको रुपमा विकास गर्न सकिने बताउँछन्। चिकित्सकहरुलाई तालिम गर्न विदेश जानु नपर्ने र प्रतिष्ठानमा नै दिन सकिने उनले बताए।

प्रकाशित: २१ फाल्गुन २०७७ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App