७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण सुरू

भण्डारण गृहको शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ। तस्बिर : नागरिक

पोखरामा कोभिड–१९विरुद्धको खोप भण्डारण गृह निर्माण गर्न सुरु गरिएको छ। संघीय आयोजना कार्यान्वयन एकाई कास्कीको पौने १ करोडको लागतमा पोखराको रानीपौवास्थित स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशको प्राङ्गणमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण गर्न सुरु गरिएको हो।  खोप भण्डारण गृहको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे ।

४० लाख जनसंख्यालाई पुग्नेगरी खोप भण्डारण गर्ने भवन निर्माणका लागि १ करोड १२ लाख ३६ हजार ४ य ३५ रूपैयाँ लागत स्टिमेट अनुमान गरिएपनि भ्याटबाहेक ७५ लाख ३ हजार ५ सय ७३ रुपैयाँमा निर्माण सम्झौता भएको हो । दुई महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको खोप भण्डारण केन्द्र बनाउन फागुन १७ गते सम्झौता भएको हो भने आगामी वैशाख १७ गते निर्माण सकिने जनाइएको छ । खोप भण्डारण गृह निर्माणको जिम्मा न्यू केपी कन्स्ट्रक्सन प्रालि न्यू बानेश्वर काठमाडौंले पाएको छ । २ डिग्रिदेखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा खोप भण्डारण गर्न सक्नेगरी खोप भण्डारण गृह निर्माण गरिएको दाबी गरिएको छ ।

खोप भण्डारण केन्द्रको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सञ्चालन गर्ने जनाइएको छ । केन्द्रका निर्देशक खिमबहादुर खड्काले खोप भण्डारण गृह निर्माणका लागि शिलान्यास गर्ने गण्डकी प्रदेश सरकार पहिलो बनेको उनले दाबी गरे ।

खोप भण्डारण गृह निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वास्थ्य र शिक्षालाई राज्यको दायित्व भित्र लिँदै काम गरिरहेको बताए । कोभिड–१९ समस्याको रुपमा आएपनि यसलाई अवसरमा परिणत गर्न राज्य लागिरहेको भन्दै उनले भने, ‘कोभिड अगाडिसम्म शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र राज्यको दायित्वबाट नाफाखोरहरुको हातमा पुगिसकेको थियो । त्यसबाट मुलुकलाई सिफ्ट गरेर शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रहरु सामाजिक न्यायका क्षेत्रहरु राज्यको दायित्व भित्र ल्याउने अवसरका रुपमा प्रयोग गर्ने प्रयास गरिरहेका छौं ।’

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले खोप भण्डारण गर्न हालको क्षमताले नभ्याएपछि नयाँ खोप भण्डारण केन्द्र बनाउन लागेको बताइन्। उनले हाल कोभिड–१९ खोप भण्डारण गृहको रुपमा निर्माण गरिएपनि कोरोनाको अन्त्यपछि यसलाई अन्य खोप भण्डारण केन्द्र बनाइनेसमेत बताइन्।

प्रकाशित: २१ फाल्गुन २०७७ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App