coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा ४२ खोप केन्द्र

फागुन २३ गतेदेखि सुरु हुने ६५ वर्षमाथिका सम्पूर्ण सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिन भक्तपुरमा ४२ वटा खोप केन्द्र तोकिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले बिहीबार पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयप्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले भक्तपुरमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन् ।  

जिल्लाको चाँगुनारायण नगरपालिकामा ११, सूर्यविनायक नगरपालिकामा ११, मध्यपुर थिमी नगरपालिकामा १० र भक्तपुर नगरपालिकामा १० गरी जिल्लाका चारवटा नगरपालिकामा कुल ४२ वटा केन्द्रमार्फत जिल्लाभरका ६५ वर्षमाथिका सम्पूर्ण सर्वसाधारणलाई खोप दिइने जनस्वास्थ्य अधिकृत मिजारले जानकारी गराए । त्यस हिसाबले जिल्लामा ४६ हजार बढीले निःशुल्क खोप पाउने भएका छन् ।  

प्रत्येक खोप केन्द्रमा कम्तीमा एकजना भ्याक्सिनेटर र तीनजना सहायक गरी कम्तीमा चारजना रहने बन्दोबस्त मिलाइएको उनले जानकारी गराए । त्यसका लागि आवश्यक सम्पूर्ण जनशक्ति पनि मिलाइसकिएको छ । त्यसका लागि जिल्ला, नगर र वडास्तरमा खोप समन्वय समिति सक्रिय भइसकेको छ । उनले जिल्लाको खोपका लागि कुल ७ लाख ६८ हजार रुपैयाँ खर्च लाग्ने भएको जानकारी गराए ।  

जिल्लामा हालसम्म पहिलो चरणमा ५ हजार ७ सय ९३ जनालाई खोप लगाइसकिएको छ । जिल्लामा हालसम्म ९ हजार ५ सय ९० जनालाई कोरोना पुष्टि भइसकेको छ । त्यसमध्ये क्रमशः सबैभन्दा बढी मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकामा बढी संक्रमित रहेको जनाइएको छ । जिल्लामा कोरोनाबाट हालसम्म १ सय २७ जनाको मृत्यु भइसकेको तथ्यांक छ । सरकारले फागुन २३ गतेदेखि देशभरका ६५ वर्षमाथि उमेरका सर्वसाधारणलाई देशैभर कोरोनाविरुद्धको खोप लगाउने योजना बनाएको छ ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App