८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘सन् २०५० सम्म चारमा एकलाई श्रवण समस्या’

सन् २०५० मा विश्वमा साढे २ अर्ब मानिसमा श्रवणसम्बन्धी समस्या हुने विश्व स्वास्थ्य संगठनले सोमबार जनाएको छ। श्रवण क्षमतासम्बन्धी एक प्रतिवेदन सोमबार सार्वजनिक गर्दै संगठनले विश्वका हरेक चारमध्ये एकजनामा यस्तो समस्या हुने आँकलन गरेकोे छ। यो समस्या सम्बोधन गर्न खास उपाय अवलम्बन नगरिए ७० करोडलाई सुन्न सहयोग, उपचार र अन्य सेवा दिनुपर्ने पनि उक्त प्रतिवेदनमा उल्लेख छ।

‘हाम्रो सुन्न सक्ने क्षमता अत्यन्त्त महत्वपूर्ण छ। सुन्ने क्षमतामा ह्रास आउँदा उपचार नभए मानिसको संवाद क्षमता, अध्ययन र जीवनयापनमा प्रतिकूल प्रभाव पार्नेछ। यसैगरी यसले मानसिक स्वास्थ्य र आपसी सम्बन्धमा समेत प्रभाव पार्नेछ,’ संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससलाई उद्धृत गर्दै संगठनद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ। संगठनको उक्त अध्ययनले यो समस्या कति गम्भीर रहेछ भन्ने उजागर गरेको र यो चूनौतीको सामाना गर्न विश्वका सबै देश प्राथमिकताका साथ लाग्नुपर्ने पनि उनले बताए।

विश्व श्रवण दिवस (मार्च ३) का अवसरमा जारी उक्त प्रतिवेदनमा श्रवण समस्या निदानमा खर्च गरिने हरेक एक अमेरिकी डलर लगानीले १६ डलरको फाइदा दिन पनि उल्लेख गरिएको छ। कानसम्बन्धी रोग र श्रवण समस्याबारे न्यून जानकारी हुनु र यसलाई निन्दाको विषय बनाइनुले समस्या चर्केको प्रतिवेदनमा भनिएको छ। स्वास्थ्य सेवा प्रदायकलाई समेत यो विषयमा पर्याप्त ज्ञान नहुँदा आवश्यक पर्ने हेरचाहको अभाव रहेको पनि देखिएकोछ।

विश्वका अधिकांश देशको राष्ट्रिय स्वास्थ्य प्रणालीमा कान र श्रवणसम्बन्धी हेरचाहलाई समावेश नगरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। न्यून आय भएका देशमध्ये ७८ प्रतिशत देशमा प्रति १० लाख जनसंख्यामा एकजना कान, नाक र घाँटी (इएनटी) विशेषज्ञ रहेको र ९३ प्रतिशत देशमा १० लाख जनसंख्यामा एक श्रवण विशेषज्ञ मात्र रहेको देखिएको छ। यसैगरी श्रवण समस्यालाई सम्बोधन गर्ने स्पिच थेरापिस्ट र शिक्षकको संख्या पनि अत्यन्त कम रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। संगठनले यो समस्यालाई सम्बोधन गर्न प्राथमिक स्वास्थ्य हेरचाह प्रणालीमा कानसम्बन्धी रोग र श्रवण समस्याका हेरचाहलाई एकीकृत गर्न सिफारिस गरेको छ।  

६० प्रतिशत बालबालिकामा श्रवण शक्तिमा ह्रास आउने समस्याको निदान गर्न खोप, मातृ तथा नवजात शिशु हेरचाह र रोगको सुरुवाती चरणमै उपचारजस्ता उपाय आवश्यक हुने पनि डब्लुएचओको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। यसैगरी पछिल्ला वर्षमा भएको प्रविधिको विकासले श्रवण शक्तिमा आउने समस्या समयमै पत्ता लगाउन विभिन्न उपकरण बनेका र समयमै मेडिकल र सर्जिकल उपचार गर्न सकिने पनि संगठनले जनाएको छ। यसैगरी प्रतिवेदनले साइन ल्यांग्वेजको प्रयोग र अन्य सुन्न सहयोग पुरयाउने स्पिच रिडिङजस्ता उपायले बहिरालाई सहयोग पुग्ने पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: २० फाल्गुन २०७७ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App