८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर ३८१ जना लाभान्वित

रावाबेंसी गाउँपालिका–१ कुभिन्डे, हरम्टारमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिबिरबाट ३ सय ८१ सर्वसाधारण लाभान्वित भएका छन्।

जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउन्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरको पहिलो दिन १ सय ४३ जना र दोस्रो दिन २ सय ३८ सर्वसाधारणले स्वास्थ्य सेवा पाएका हुन्।

शिविरमा ७७ जनाको भिडियो एक्स–रे, ८१ जनाको दाँतको उपचार, ३४ जनाको ५२ वटा दाँत उखालिएको, ६१ जनाको सुगर चेक, २९ जनाको पिसाब परीक्षण र ४५ जनालाई चस्मा वितरण गरिएको छ। यस्तै मोतियाबिन्दु भएका २८ जनाको पहिचान गरिएको, ७१ महिलाको स्त्रीरोगसम्बन्धी चेकजाँच गरिएको, पाठेघरको समस्या भएका २३ जनाको नमुना संकलन गरिएको, दुईजनाको रिङ प्रेसरी राखिएको र २१ बालबालिकाको बालरोगसम्बन्धी समस्याको उपचार गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए।

आँखाका समस्या भएका ज्येष्ठ नागरिक, विपन्न, महिला र दलितलाई गाउँपालिकाले निःशुल्क चस्मा प्रदान गरेको हो।स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै आयोजित शिविर गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले उद्घाटन गरेका थिए।

दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी जनसेवा अस्पतालले सुरु गरेको अभियानअन्तर्गत रावाबेंसीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो। स्वास्थ्य सेवाका लागि स्थानीय घण्टौं हिँडेर शिविर स्थल आइपुगेका थिए।

यसअघि फागुन ५ र ६ गते ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा, फागुन ८ र ९ गते केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा र फागुन ११ र १२ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा दुई/दुई दिने स्वास्थ्य शिविर आयोजना गरिएको थियो।पाथेकामा आयोजित शिविरमा ५ सय ८० सर्वसाधारणले स्वास्थ्य सेवा पाएका थिए।

स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए।

स्वास्थ्य शिविरमा एकजना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिइरहेका छन्। जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच विस्तार गर्ने उद्देश्यका साथ २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले आगामी फागुन १६ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिविरको तयारी गरेको छ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App