coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आयोगको प्रतीक्षामा कर्णाली प्रतिष्ठान

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल चिकित्सा शिक्षा आयोगको अनुगमनको प्रतीक्षामा छ। प्रतिष्ठानले एमबिबिएस पढाइ सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचना र तयारीको अवस्था अनुगमनका लागि आयोगको प्रतीक्षामा रहेको जनाएको हो।

एमबिबिएस सञ्चालनका लागि आधारभूत विज्ञान र क्लिनिक, प्राध्यापक नियुक्तिलगायत विषयमा अनुगमनका लागि चिकित्सा शिक्षा आयोगलाई आग्रह गरिएको हो। चिकित्सा शिक्षा आयोगको टोली अनुगमनका लागि भन्दै गत पुसदेखि आउने भनिरहे पनि अहिलेसम्म पुगेको छैन। ‘एमबिबिएस कक्षा सञ्चालनका लागि तयारी भइरहेको छ,’ प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले भने, ‘अब अनुगमनको खाँचो छ। चिकित्सा शिक्षा आयोगको टोलीलाई स्वागत गर्न आतुर छौं।’ एमबिबिएसका लागि बेसिक ८, क्लिनिकल १४ विषय र प्राध्यापकसहितको टोली तयारी अवस्थामा छ। अहिले ३ सय बेडको अस्पताल चलिरहेको छ। कक्षा कोठालगायत आवश्यक उपकरण तयारी पुगेको छ। शिक्षाध्यक्ष थापाले थपे, ‘चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेसँगै पठनपाठन सुरु गर्न सकिने अवस्था छ।’ एमबिबिएस पठनपाठन जुम्लामै हुने भएपछि कर्णालीवासी उत्साहित छन्। अहिले एमबिबिएस पठनपाठनको सबै संरचना निर्माण भइसकेको छ। चिकित्सा शिक्षा आयोगले अनुगमन गरेर अनुमति दिनेबित्तिकै एमबिबिएस सुरु गर्न सकिन्छ।

अहिले एमडिएमएसका लागि ५ जना विद्यार्थी भर्ना भइसकेका छन्। आगामी चैतबाट पठनपाठन सुरु हुनेछ। एमडिएमएस पढ्न विद्यार्थी आउँदैनन् भन्ने भ्रम थियो। तर कोटाअनुसार विद्यार्थी भर्ना भइसकेका छन्। एमडिएमएस तीन विषयमा पठनपाठन हुन थालेको हो।

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्टाफनर्स, एचए, बिबिएच, बिएमएस, एनेस्थेसियाबारे पठनपाठन भइरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App