coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोभ्याक्स खोप यसै साता

चिनियाँ खोप सिनोफर्मको प्रभावकारिता प्रतिवेदन तीन सातामा आउने

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा स्थापना भएको कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो खेप नेपालमा यसै साताको अन्तसम्ममा आउने भएको छ। कोभ्याक्स सुविधाअन्तर्गत अग्रपंक्तिमा रहेर काम गर्ने कुल ११ लाख नेपालीलाई खोप उपलब्ध गराउने भनेकोमा पहिलो लटमा ३ लाख ४८ हजार खोपको डोज केही दिनमै नेपाल आउन लागेको हो।  

कोभ्याक्सले नेपाल सरकारलाई हालै लेखेको एक पत्रका उक्त मात्रामा खोपको डोज उपलब्ध गराउन लागिएको उल्लेख गरिएको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको दक्षिण तथा पूर्वीएसिया क्षेत्रका कार्यलयका एक अधिकारीले बताए। डब्लुएचओले मे अन्त्यसम्ममा २२ लाख ५६ हजार डोज खोप नेपाललाई उपलव्ध गराउने तयारी गरेको छ।  

नेपाललाई भारतले अनुदानममा झण्डै डेढ महिनाअघि उपलब्ध गराएको १० लाख डोज खोप र यही साता खरिद गरिएका थप १० लाख डोजमार्फत खोप अभियान सञ्चालन गरिरहेको छ। दुवै प्रक्रियाद्वारा नेपाललाई उपलब्ध भएका अक्सफोर्ड र अष्ट्राजेनेकाद्वारा विकास गरिएको एवं भारतको सेरम इन्सिच्युटद्वारा उत्पादित कोभासिल्ड खोप हो।

विश्व स्वास्थ्य संगठनले हालसम्म आफ्नो आपतकालीन प्रयोग सूचीमा सूचीकृत गरेका खोपमा अमेरिका फाइजर, भारत र दक्षिण कोरियामा निर्मित अक्सफोर्ड र अष्ट्राजेनेकाले विकास गरेका खोप मात्र रहेका छन्।  

नेपालको औषधि व्यवस्था विभागले चीनको सरकारी स्वामित्वमा रहेको सिनोफर्मद्वारा उत्पादिन खोपलाई पनि गत साता आपतकालीन प्रयोग अनुमति दिइसकेको छ। त्यसअघि सेरम इन्सिच्यूटद्वारा खोपलाई नेपालले प्रयोग अनुमति दिएको थियो। चिनियाँ खोपलाई विभागले प्रयोग अनुमति दिनुअघि नै चीन सरकारले ५ लाख डोज खोप नेपाललाई दिने घोषणा गरिसकेको थियो। चीनले नेपाललाई उपलब्ध गराउन घोषणा गरेको खोप अहिले विश्व स्वास्थ संगठनले प्रभावकारिताको समीक्षा गरिरहेका चारवटा खोपमध्ये एक हो। संगठनले हाल चीनको सिनोफर्म र सिनोभ्याक, अमेरिकी खोप मार्डना र जोन्सन एण्ड जोन्सनद्वारा विकास गरिएको खोपको प्रभावकारिताको अध्ययन गर्देछ। आगामी ३ सातामा उक्त समीक्षाको नतिजा आइसक्ने डब्लुएचओको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यलयका ती अधिकारीले बताए। अहिले विश्वमा खोपको आपूर्ति जनस्वास्थ्यको विषयभन्दा पनि राजनीतिक र कूटनीतिक विषय बनेको छ। खोप कूटनीतिमार्फत आफ्नो प्रभाव क्षेत्र विस्तारमा विभिन्न देश तथा औषधि उत्पादक कम्पनी लागेका छन्।

‘मार्चको मध्यसम्ममा उक्त समीक्षात्मक अध्ययनको प्रारम्भिक नतिजा आइसक्नेछ, त्यसैले नेपालले हाल उपलब्ध खोपको खपतमा बढी ध्यान दिनु उपयुक्त हुन्छ,’ ती अधिकारीको सुझाव छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चीनले दिने भनिएको खोप कहिले आउँछ भन्ने अझै निश्चित नभएको बताए। ‘उनीहरूले जहिले दिन्छन्, त्यहीबेला नै खोप आउनेछ,’ उनले भने।  

सामान्यतया खोपको उत्पादन भएपश्चात ६ महिनाभित्र प्रयोग भइसक्नुपदर्छ। उत्पादन भैसकेको पछि गुणस्तर परीक्षणका लागि १ महिना लाग्ने र त्यसको ढुवानीमा समेत समय खर्च हुने भएकाले कुनै पनि देशले खोप उपलब्ध भएको ३ देखि ४ महिनामा प्रयोग गरिसक्नुपर्ने विज्ञ बताउँछन्।  

‘अहिले नेपालमा उपलब्ध खोपको उपयोगको गति ढिलो भएकाले खोपको खपत नेपालका लागि प्राथमिकताको विषय हुनुपर्दछ,’ विश्व स्वास्थ संगठनका ती अधिकारीले भने। त्यसो त, डब्लुएचओले नेपालले सञ्चालन गरेको खोप अभियानको प्रशंसा गरेको छ। नेपालले खोप खरिद प्रक्रियालाई सरलीकृत गरेर ४ अमेरिकी डलरमा सेरम खोप खरिद गर्नसक्नु अत्यन्त महत्वपूर्ण उपलब्धि रहेको डब्लुएचओ अधिकारीको कथन छ।  

‘विश्वका १३० देशमा कोभिड–१९ खोप लगाउनसमेत सुरु भइनसकेको अवस्थामा नेपालले यति धेरै मात्रामा खोपको जोहो गर्नसक्नु प्रशंसनीय कार्य हो,’ ती अधिकारीले नयाँ दिल्लीबाट नागरिकलाई भने। नेपालले सुरुमा १५ वर्षमाथिका २ करोड १६ लाख जनसंख्यालाई खोप दिने भनेकोमा कोभिसिल्ड खोप १८ वर्षमाथिका लागि मात्र प्रयोग हुने भएकाले २ करोडको हाराहारीको जनसंख्यालाई खोप दिने तयारी गरिएका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक गौतमले बताए। उनले पहिलो र दोस्रो चरणमा लक्षित गरिएका कुल ४७ लाखलाई असारसम्म खोप लगाइसकिने पनि बताए।

खोप अभियानअन्तर्गत नेपालले पहिलो चरणमा सफाइकर्मी, अग्रपंक्तिमा खटिएका स्वास्थकर्मी, सफाइकर्मी तथा अस्पतालका खटिएका कर्मचारीलाई, त्यसपछि पत्रकार, संयुक्त राष्ट्रसंघीय निकाय तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप उपलब्ध गराएको छ। पछिल्ला दिनमा निजामती कर्मचारी, स्थानीय तहका प्रतिनिधि, संस्थान तथा बैंकका कर्मचारी, स्वास्थ्य स्वयंमसेवक, एम्बुलेन्स चालक, शववाहन चालक तथा शव वाहन व्यवस्थापनमा खटिएका कर्मचारीलाई खोप दिइएको छ। दोस्रो चरणअन्तर्गत ५५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई समुदायस्तरमा खोप उपलब्ध गराउने तयारी छ। नेपालमा पहिलो चरणको खोप अभियानअन्तर्गत सोमबारसम्म कुल ४ लाख ३० हजार जनाले खोप लगाइसकेका छन्।

विश्व स्वास्थ्य संगठनले नेपालको खोपको योजना, खोप लगाइसकेपछि हुनसक्ने प्रतिकूल प्रभावको व्यवस्थापन, खोपका लागि स्वास्थ्यकर्मी तालिमलगायत विषयमा प्रभावकारी कार्य गरेको जनाएको छ। जर्मनीले समेत खोप लगाइसकेपछि पर्ने प्रतिकूल प्रभाव रोकथाम (एडभर्स इम्प्याक्ट फ्लोइङ इम्युनाइजेसन–एइएफआई) किट तयार गर्न तथा खोप प्रोटोकल बनाएर कार्यान्वयन गर्न नसकेको चर्चा गर्दै संगठनका ती अधिकारीले संगठनले नेपालको तयारीलाई औपचारिक रूपमै प्रंशसा गरेको बताए। नेपालमा खोप लगाएकालाई सामान्य असरबाहेक गम्भिर प्रकृतिका प्रतिकूल प्रभाव कसैलाई पनि देखिएको छैन।

प्रकाशित: १३ फाल्गुन २०७७ ००:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App