coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विशेषज्ञ चिकित्सक लिएर गाउँ पुग्यो सेना

कोभिड–१९ का कारण अस्पतालसम्म पुग्न नसकेका स्थानीयको स्वास्थ्य परीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना गाउँगाउँ पुगेको छ। स्त्रीरोग विशेषज्ञ र जनरल मेडिसिनका चिकित्सक लिएर सेना गाउँमै पुगेको हो।  

‘कोभिडका कारण जनताले अस्पतालसम्म पुगेर ढुक्कसँग उपचार गर्न पाएका छैनन्,’ नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले भने, ‘जनताको स्वास्थ्य अवस्था सुधारका लागि गाउँमै विशेषज्ञ चिकित्सक ल्याएका हौं। विशेषज्ञ चिकित्सक गाउँमै ल्याएर उपचार गर्दा जनता निकै उत्साहित भए।’ जुम्लाको गठिचौर गाउँपालिका–३ गज्र्याङकोटमा विशेषज्ञ चिकित्सकसहित नेपाली सेना नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र २४ नम्बर फिएले गाउँमै चिकित्सक पुर्‍यायो। कोभिड–१९ का कारण स्वास्थ्य संस्था र अस्पतालसम्म पुग्न नसकेका स्थानीयका लागि यो सेवा केन्द्रित रहेको २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटाले जानकारी दिए। उनले भने, ‘जनताको हरेक सुखदुःखमा साथ दिन्छौं। सेना जनताको असल सेवक बन्न चाहन्छ। जनताको स्वास्थ्यमा संवेदनशील भएर कार्य गरिरहेका छौं। यो यसैको एक उदाहरण हो।’

स्थानीय कृष्णबहादुर बुढाले सामान्य बिरामीको उपचार र जटिल रोगको समेत सेवा पाउँदा उत्साहित भएको बताए। ढाड दुखेको, आँखा दुख्ने र ज्वरो आउने समस्याले ग्रसित उनी गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसी लागेको बताउँछन्। ‘मैले आर्थिक अभावका कारण अस्पतालसम्म पुगेर उपचार गर्न सकेको छैन,’ उनले भने, ‘सेनाले गाउँमै विशेषज्ञ चिकित्सक ल्याएर उपचार गराइदिएको प्रति निकै खुसी छु। स्वास्थ्य जाँच गरेर औषधि पनि निःशुल्क पाउदा दंग छौं।’ गरिबलाई यो शिविरले गाउँमै अस्पताल खुलेको जस्तो अनूभति गराएको उनी बताउँछन्। तल्लो पेट र छाती दुख्ने समस्या लिएर आएकी ललिता बुढा गाउँमै उपचार पाउँदा खुसी भइन्। उनले भनिन्, ‘आर्थिक अभाव र बेफुर्सदीका कारण अस्पताल जान सकेकी थिइनँ। रोग पालेर बेसकी थिएँ। बल्ल सेनाको सहयोगमा चेकजाँच गराएँ, औषधि उपचार पाएँ।’ उनले नेपाली सेना त जनताको सुखदुःखको सारथि रहेको अनुभूति दिलाएको बताइन्।  

श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा विशेषज्ञ स्वास्थ्य सेवाले निकै राहत मिलेको बताउँछन्। उनले भने, ‘कोभिडका कारण स्थानीय अस्पतालसम्म पुग्न सकेका छैनन्। रोग बोकेर गाउँमै थन्किएका छन्। आर्थिक अभावका कारण सबै नागरिक स्वास्थ्य सेवाको पहुँचसम्म पुग्न सकेका छैनन्। त्यसका लागि यो सेनाले दिएको विशेषज्ञ स्वास्थ्य सेवा उपलब्धिपूर्ण छ।’ गाउँमा सेवा दिँदै गर्दा उपचार हुन नसकेका बिरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरेर उपचार हुनेछ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म विशेषज्ञ सेवा दिइएको छ। गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सेनाले स्वास्थ्य सेवामार्फत जनसम्बन्ध सुमधुर बनाउन थालेको अनुभूति भइरहेको बताए। उनले भने, ‘नेपाली सेना पटकपटक गाउँपालिका आएर हरेक विषयमा तालिम प्रशिक्षण गर्दै सम्बन्ध विस्तार गरिरहेको छ। यो राम्रो विषय हो। आगामी दिनमा भौतिक पूर्वाधार निर्माण र सचेतनाका क्रियाकलापमा सहकार्य गर्नेछौं।’

शिविरले स्वास्थ्य सेवामार्फत जनताको मन जित्न लागिरहेको उनले बताए। वडाध्यक्ष प्रेमबहादुर बुढाले गाउँमा सेनाको स्वास्थ्य शिविर बसेर विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउँदा उत्साहित बनाएको बताए। उनले भने, ‘पहिले सेना देख्नेबित्तिकै त्रसित हुनुपर्ने अवस्था थियो। यो शिविरपछि सेना देख्नेबित्तिकै आशा र भरोसा लाग्ने वातावरण बन्यो।’ गाउँमा पुगेका चिकित्सकले ४ सय ३८ जनाको उपचार गरेका छन्। जसमा महिला १ सय ५१, पुरुष २ सय ३५ र बालबालिका ५३ जनाले विशेषज्ञ सेवा लिएका हुन्। बाहिनीपति सापकोटा र गणपति रायमाझीले खटेर स्वास्थ्य सेवा दिएका हुन्। बाहिनीपति सापकोटा जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिका पुगेर जनतासँगको भेटघाट, छलफल र सम्बन्ध सुधारका क्रियाकलापमा सहभागी भइरहेका छन्।  

अधिकतर महिलामा पाठेघरको समस्या भेटिएको स्त्रीरोग विशेषज्ञ डाक्टर सुवी बस्नेत बताउँछिन्। स्वास्थ्य जाँच गरेका १ सय ५१ जना महिलामध्ये करिब ९० प्रतिशत महिलामा पाठेघर क्यान्सरको जोखिम, सेतो पानी बग्ने र महिनावारी भएको बेला रक्तश्राव हुने समस्या बढी देखिएको उनले बताइन्।

प्रकाशित: ११ फाल्गुन २०७७ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App