८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनाविरुद्ध खोप अभियान : नेपाल पनि अघिअघि

विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको छ।  दक्षिण एसियामा अहिलेसम्म नेपालसहित बंगलादेश, भारत र श्रीलंकाले खोप अभियान सुरु गरेका छन्। पाकिस्तान, भुटान र अफगानिस्तानमा खोप अभियान सुरु हुन सकेको छैन।

नेपालमा सरकारको तयारी र भारत सरकारको सहयोगका कारण खोप अभियान छिटै सुरु हुन सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ बताउँछन्। ‘मुख्य कुरा, हाम्रो तीव्र तयारी नै हो, जसका कारण खोप अभियान समयमै चलाउन सफल भयौं’, उनले भने।पहिलो चरणमा नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरिसकेको छ। त्यसमध्ये १० लाख डोज आइतबार नेपाल आइसकेको छ भने थप १० लाख डोज दुई साताभित्र नेपाल आइपुग्ने कोभिड १९ विरुद्धको खोप अभियानका संयोजक डा. श्यामराज उपे्रतीले बताए।

 नेपालले कोभ्याक्सले दिने २० प्रतिशत खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप दिने स्थिति देखिएको छ। ‘हामीले कोभ्याक्सले दिने खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप लगाउन सक्षम हुन भयौं। यो अन्य देशको तुलनामा राम्रो प्रगति हो’, डा. उप्रेतीले भने।सरकारको आफ्नै व्यवस्थापकीय तयारीका कारण कोभिडविरुद्ध खोप अभियानमा नेपाल विश्वका थुप्रै धनी तथा विकसित देशभन्दा अघि आउन सफल भएको उनले बताए।  

नेपालले खोप किन्न सुरुमै बजेट तयारी अवस्थामा राख्नु, छिमेकी राष्ट्रहरूसँग पहल गर्नु, खोप उत्पादक कम्पनीसित पहल गर्न सफल हुनुलगायतले अभियान प्रभावकारी ढंगले सुरु भएको उनको भनाइ छ। ‘सीधै खोप किन्न बाधा बनेको कानुनी बाटो खोल्ने, बजेट निकासा गर्नेजस्ता काममा हामीले एकपछि अर्को निर्णय छिटोछिटो गर्दै गयौं’, उनले भने। नेपालले कोभिड १९ विरुद्धको खोप खरिदका लागि ४८ अर्ब बजेट तयारी अवस्थामा राखेको छ। यसमध्येबाट भारतबाट करिब ९३ करोडको खोप खरिद गरिसकिएको छ। नेपाल सरकारले असारअघि नै २० प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ।

भारतबाट खरिद गरिएको १० लाख डोज र भारतले अनुदानमा दिएको पाँच लाख डोज खोप नेपाल आइसकेको छ। भारतबाट खरिद गरिएको १० लाख डोज, भारतबाट अनुदानमा प्राप्त हुने ५ लाख डोज, चीन सरकारले अनुदानमा दिने ५ लाख डोज र कोभ्याक्सले दिने २२ लाख ५६ हजारसहित ४२ लाख ५६ हजार डोज खोप फागुनभित्रै नेपाल आइपुग्ने निश्चित भएको छ। थप खोप पनि खरिद गर्ने प्रक्रियामा रहेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए। ‘हामी थप खोप खरिदको प्रयासमा छौं’, उनले आइतबार नागरिकसित भने। केही डोज खोप एनआरएनले उपलब्ध गराउन लागेको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए। ‘हामी खरिद प्रक्रियामा पनि जान्छौं, एनआरएनले पनि दिन्छ’, उनले भने।

चालक र शिक्षकलाई पनि खोप

सरकारले कोभिड १९ विरुद्धको खोपअभियानको तेस्रो चरणमा शिक्षक र सार्वजनिक यातायातका चालकलाई पनि खोप दिने निर्णय गरेको छ। यो निर्णयअनुसार विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक बसका चालक र सहचालकलाई खोप दिइनेछ। यसअघि नै औषधि पसलमा कार्यरत कर्मचारी, प्रयोगशालामा कार्यरत कर्मचारी तथा सफाइ कर्मचारीलाई पहिलो प्राथमिकतामा खोप दिने निर्णय भएको छ।

तथ्यांकअनुसार नेपालमा सरकारी शिक्षकको संख्या १ लाख ८० हजार, निजी विद्यालयका शिक्षकको संख्या ८८ हजार ८ सय ४८ छ। सार्वजनिक बसका चालक र सहचालकको संख्या करिब २ लाख रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला बताउँछन्। यो हिसाबले तेस्रो चरणमा ४ लाख ६८ हजारजनालाई खोप दिनुपर्छ। फागुन २३ गतेबाट सरकारले ५५ वर्षमाथिका नागरिकलाई खोप दिने निर्णय गरेको छ। प्राथमिकताको पहिलो नम्बरमा ६० वर्षमाथिका र दोस्रोमा ५५ वर्षमाथिका पर्नेछन्। नेपालमा ५५ वर्षमाथिकाको जनसंख्या ३७ लाख छ। यी सबै समूह गरी ४१ लाख बढीलाई पहिलो डोजको खोप दिनुपर्नेछ। पहिलो चरणमा नेपालका करिब ५ लाख नागरिकले खोप लगाइसकेका छन्।

प्रकाशित: १० फाल्गुन २०७७ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App