coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

वीपीमा सहमतिपछि उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको ताला खुल्यो

प्रतिष्ठानका पदाधिकारीहरु र आन्दोलनरत फ्याकल्टीका पदाधिकारीहरु सहमति पछि । तस्बिर : नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको ताला खुलेको छ। आन्दोलनरत चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजसँग आज भएको वार्तामा सहमति भएपछि ताला खुलेको हो। समाजले विभिन्न माग राख्दै माघ २३ गते शिक्षाध्यक्ष प्रा.डा.गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेको थियो भने फागुन ५ गते उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेको थियो। आज प्रतिष्ठानका उपकुलपति डा.गिरी, शिक्षाध्यक्ष डा.खनाल, रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह गरी चारै पदाधिकारी र आन्दोलनरत पक्षबीच वार्ता भएको थियो। वार्तामा सहमति जुटेपछि तालाबन्दी खुलेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए।

वार्तामा फ्याक्ल्टीहरुको बढुवा सम्बन्धमा एक महिना भित्र प्रमोशनको विज्ञापन प्रकाशित गर्ने सहमति भएको छ। यस्तै, जोखिम भत्ता फागुन १४ गतेभित्र वितरण गर्न सुरु गर्ने र अन्य मागहरुका सम्बन्धमा एक हप्ताभित्र तार्किक निष्कर्षमा पुग्ने गरी कार्य गर्नेसमेत सहमति भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए। तालाबन्दी भएपछि प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्ष दुवै चिकित्सकहरूको बढुवा प्रक्रिया लगायत अन्य कार्यको लागि काठमाडौ गएका थिए। मन्त्रालयलयमा सकारात्मकरुपमा प्रक्रिया अघि बढेको प्रतिष्ठानका पदाधिकारीहरुको भनाइ छ।  

प्रतिष्ठनमा विगत २ वर्षभन्दा बढी समयदेखि नियमित हुनुपर्ने प्रमोसन अवरुद्ध हुँदा वृत्ति विकासमा गम्भीर असर परिरहेको भन्दै फ्याकल्टीहरु आन्दोलित छन्। कतिपय फ्याकल्टीहरु प्रमोसन रोकिएर निराश भई प्रतिष्ठान छोड्ने मनस्थितिमा पुगेको समाजका अध्यक्ष डा.विष्णु पोखरेल बताउँछन्। वार्तामा सहमति भएपछि तत्कालको लागि आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता गरिएको अध्यक्ष पोखरेलले बताए। सहमति पत्रमा प्रतिष्ठानका चारैजना पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् भने समाजका तर्फबाट अध्यक्ष सहित महासचिव सूर्य प्रसाद रिमाल, सहसचिव सन्दिप साह, कोषाध्यक्ष अन्जनी कुमार यादव, सदस्य मनोज भट्टराई, निर्मलप्रसाद साह र लक्ष्मण खनालले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७७ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App