५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

डेन्टल भ्यानबाट निःशुल्क दन्तसेवा

पोखरास्थित नेलम्बो नेपालले घरघरमा पुगेर निःशुल्क दन्तसेवा दिने भएको छ। जैविक विविधता, वातावरण र मानव स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले गण्डकी प्रदेशभरका विपन्न, सीमान्तकृत समुदाय, पिछडा वर्ग तथा असहायको घरघर पुगी मोबाइल डेन्टल भ्यानमार्फत निःशुल्क दन्तसेवा दिने भएको हो।  

सो सेवाको शुभारम्भ शुक्रबारदेखि गरिएको छ। पोखरा महानगरपालिका–२६ स्थित फरक क्षमता भएकाहरू अध्ययन गर्ने सृजना बहिरा माविका विद्यार्थीको स्वास्थ्य जाँच तथा उपचार गरेर सो सेवा शुभारम्भ गरिएको हो। जहाँ ४६ जिल्लाका २ सय २० भन्दा बढी फरक क्षमता (बहिरा) विद्यार्थी अध्ययन गर्ने गर्दछन्। कार्यक्रमको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माले रिबन काटेर उद्घाटन गरे।

निःशुल्क मुख तथा दन्तसेवा दिनकै लागि नेलम्बो नेपालले ६८ लाख रूपैयाँमा डेन्टल भ्यान खरिद गरेको छ। जसमा डेन्टलका लागि आवश्यक डेन्टल केयर इक्युपमेन्ट, एक्स–रे मेसिनलगायत इक्युपमेन्टहरू जडान गरिएको छ। डेन्टल भ्यानमा सधैं दाँतसम्बन्धी विशेषज्ञ डाक्टरसहित मुख स्वास्थ्य र दन्त स्वास्थ्यसम्बन्धी कर्मचारी रहनेछन्। शिविर सञ्चालन गर्ने समयमा भने ६/७ जनाको समूह खटिने नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए।

नेलम्बो नेपालले गण्डकी प्रदेशभर निःशुल्क मुख तथा दन्तसेवा दिने लक्ष्य राखेको छ। जसका लागि लक्षित वर्ग विपन्न, सीमान्तकृत, पिछडा वर्ग तथा असहाय समुदायले शिविरका लागि स्थानीय सरकार (पालिका र वडा)को सिफारिससहित माग गर्नुपर्ने अध्यक्ष देवकोटाले बताए। माग आएपछि नेलम्बो नेपालले आवश्यकताका आधारमा सेवा प्रदान गर्ने उनको भनाइ छ।

नेलम्बोका अनुसार डेन्टल भ्यानमार्फत दाँत सफा गर्ने, दाँत भर्ने, दाँतमा पोलिस गर्ने, दाँतको एक्स–रे गर्ने, दाँतको जरादेखि नै उपचार गर्ने पद्धति रुट क्यानल ट्रिटमेन्ट (आरसिटी) गर्ने तथा मुखसम्बन्धी घाउ, पिप जमेको उपचारदेखि अन्य सबै प्रकारका उपचार गरिने नेलम्बो नेपालका मिडिया संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिए। नेलम्बोले उपचार मात्र नभई आवश्यक औषधिसमेत निःशुल्क वितरण गर्ने भएको छ।

उनले उपचारका क्रममा डेन्टल भ्यानमार्फत उपचार हुन नसक्ने अवस्थामा बिरामीलाई पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा लगेर उपचार गरिने बताए। तर त्यसका लागि गरिब तथा विपन्न समुदायको अनिवार्य हुनुपर्ने सर्त रहेको उनको भनाइ छ। त्यस्तै नेलम्बोले एक पटक उपचार गरेको ठाउँमा आवश्यकता अनुसार एकदेखि डेढ महिनामा फलोअप शिविर राख्ने जनाएको छ।

स्थानीय सरकारसँगको समन्वयमा निःशुल्क दन्त शिविर गर्ने बताएको नेलम्बो नेपालले त्यसरी शिविर आयोजना गर्नका लागि प्रदेशको समाज कल्याण परिषद्बाट स्वीकृति लिएको अध्यक्ष एकदेव देवकोटाले बताए। विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपालद्वारा सञ्चालित नेलम्बो नेपालले कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकालाई बेस बनाए पनि डेन्टल हेल्थको सन्दर्भमा भने गण्डकी प्रदेशभर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App