४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

‘हामीले भरपर्दाे स्वास्थ्य सेवा पाएनौं’

कर्णालीका दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको उपचार नपाएर बर्सेनी दर्जन बढीको मृत्यु हुन्छ । कहिले चिकित्सक नहुँदा त कहिले बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा भौगोलिक विकटताको बहानामा कर्णालीवासीले उपचार नपाएरै अकालमा ज्यान फाल्नुपर्ने अवस्था छ । कर्णालीका दुर्गम क्षेत्रमात्र होइन प्रदेश राजधानी वीरेन्द्रनगरभित्रै सहरी क्षेत्रमा भरपर्दाे उपचार नपाएको भन्दै नागरिक प्रदर्शनमा उत्रिन थालेका छन् ।

बिहीबार वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको सहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै नागरिकहरुले प्रदर्शन गरे । यो पदर्शनले प्रष्ट पार्छ की, ‘प्रदेश राजधानीवासी नै प्रभावकारी स्वास्थ्यबाट वञ्चित छन् ।’ खजुराका स्थानीयले स्वास्थ्य सेवा केन्द्रबाट पाउने स्वास्थ्य सेवा नपाएको गुनासो गर्दै वीरेन्द्रनगर नगरपालिका अगाडि प्रदर्शन गरेका थिए । उनीहरुले प्रभावकारी स्वास्थ्य सेवा दिनुपर्ने भन्दै चर्को नाराबाजीसमेत गरे । ‘हाम्रो स्वास्थ्य, हाम्रो धन प्राणभन्दा प्यारो छ’, ‘गरिब जनता मार्न पाइँदै’, ‘स्वास्थ्यचौकीको सुधार गर, होइन भने बन्द गर’ जस्ता नारा लगाएर स्थानीयले प्रदर्शन गरेका थिए ।

प्रदेश राजधानीभित्रै भरपर्दाे गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदा प्रदर्शन गर्नु परेको स्थानीय तुल्सी पुलामीले बताइन् । ‘हामी उपचार लिन जाँदा स्वास्थ्यकर्मीहरुले राम्रो व्यवहारसमेत देखाउँदैनन्,’ उनले भनिन्, ‘सेवाग्राही गए पनि स्वास्थ्यकर्मीले बेवास्ता गरेर आफ्ना व्यक्तिगत काम र मोबाइल चलाउन व्यस्त हुन्छन् ।’ स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा स्वास्थ्यकर्मीहरुले लापरबाही गरेको प्रदर्शनमा उत्रिएका स्थानीयको भनाइ छ । स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार भएकाले सहज र भरपर्दाे स्वास्थ्यसेवा दिनुपर्ने उनीहरु बताउँछन् ।  

आफूले आधारभूत स्वास्थ्य सेवासमेत नपाएको स्थानीय देवबहादुर सुनारले बताए । ‘बिरामी भएर स्वास्थ्य चौकीभित्र जान खोज्दा जानसमेत दिएनन्,’ उनले भने, ‘कोभिड–१९ (कोरोना भाइरस) सर्ने त्रास देखाएर उपचार गर्नै मानेनन् ।’ सामान्य प्रेसर र तौल नापसमेत गर्न नदिएको उनको भनाइ छ । यता विष्णु बिकले सामान्य उपचार गराउन जाँदा उपचार नहुने गरेको बताइन् । ‘स्वास्थ्यचौकी जाँदा उपचार त पाइन्न पाइन्न,’ उनी भन्छिन्, ‘स्वास्थ्यचौकीको शौचालयसमेत प्रयोग गर्न दिइँदैन ।’ स्वास्थ्यकर्मीको मनोमानीले आफूहरुलाई असहज भएको उनको भनाइ छ ।

यता वीरेन्द्रनगर नगरपालिकाले उक्त विषयमा गम्भीरताका साथ लाग्ने बताएको छ । बिहीबारै कर्मचारीहरुको बैठक बसेर स्वास्थ्य सेवा गुणस्तरीय बनाउने विषयमा छलफल भएको नगरपालिकाको भनाइ छ । नागरिकलाई भरपर्दाे स्वास्थ्य सेवा दिने विषयमा थप गम्भीर भएर लाग्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जनाए । ‘हामीले नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छौं,’ उनले भने, ‘काम गर्दा कतै कमी कमजोरी भए हामी सच्याएर अगाडि बढ्छौं ।’  

सहरी स्वास्थ्य सेवा केन्द्रकी इन्चार्ज प्रेमा थानीले सीमित स्रोत साधनबाट केन्द्रले उपलब्ध गराउने सेवा दिइरहेको बताइन् । ‘हामीले दिन सक्ने र दिन मिल्ने सेवा दिइरहेका छौं,’ उनले भनिन्, ‘जनशक्ति अभाव हुँदा पनि सेवाप्रवाहमा समस्या भएको छ ।’

प्रकाशित: ६ फाल्गुन २०७७ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App