coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोसी अस्पतालले फिर्ता पायो जग्गा

६१ वर्षदेखि नेपाल क्षयरोग निवारण संस्थाले उपभोग गर्दै आएको सरकारी जग्गा फिर्ता भएको छ। संस्थाले कोसी अस्पतालका नाममा रहेको जग्गालाई आफ्नो भन्दै स्थायी संरचना बनाएर उपभोग गर्दै आएको थियो। प्रादेशिक अस्पतालका रूपमा रहेको कोसी अस्पताललाई स्तरोन्नती गर्ने योजना अनुरूप जग्गा खोजी गर्दा क्षयरोग निवारण संस्थाले प्रयोग गर्दै आएको भेटिएको हो।  

संस्थाले ६ कठ्ठा ८ धुर जग्गा उपभोग गर्दै स्थायी संरचना बनाएर आफूले र अन्य घर कोठा भाडा (बाहाल)मा दिएर आम्दानी गर्दै आएको थियो। अस्पतालको पुरानो संरचना भत्काएर आधुनिक सुविधासम्पन्न बनाउनका लागि अस्पताल प्रशासनले त्यहाँ रहेको संरचना खाली गराएर भत्काउन लाग्दा संस्थाले विरोध गरेको थियो। संस्थाले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै विराटनगरस्थित उच्च अदालतमा अन्तरिम आदेश माग गर्दै गत कात्तिकमा रिट दायर गरेको थियो।

अस्पतालविरुद्ध परेको रिटमा कात्तिक २६ गते तत्काल विवादित जग्गामा काम अघि नबढाउन अदालतले आदेश जारी गरेको थियो। जग्गा विवाद सम्बन्धी मुद्दामा संस्थाले दायर गरेको रिट निवेदनमाथी अन्तिम सुनुवाई गर्दै गत माघ २६ गते रिट खारेज गर्दै अस्पतालको पक्षमा फैसला भएको थियो। उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार संस्थाले गरेको जग्गा आफ्नो हक र स्वामित्वमा रहेको माग दाबी नपुग्ने ठहर गर्दै अदालतले रिट खारेज गरेको बताए।  

माघ २६ गते न्यायाधीशद्वय कृष्णकमल अधिकारी र मिलनकुमार राईको संयुक्त इजलासले रिट खारेजीको फैसला गरेको थियो। संघीय सरकारले ६ तले नयाँ भवन निर्माण गर्न बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि १२ करोड बजेट विनियोजन गरेको छ। ‘अदालती प्रक्रिया पूरा भएर मुद्दा अस्पतालले जितिसकेका कारण यसअघि रोकिएको भवनलगायतका संरचना विस्तारको काम अघि बढ्ने छ,’ अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीलेभ भने, ‘अस्पतालको दीर्घकालीन विकासका लागि आफ्नो स्वामित्वमा भएको जग्गा संरक्षण गर्ने र मास्टर प्लानअनुसार अस्पतालको काम योजनावद्ध रूपमा अघि बढ्ने छ। संस्थालाई पनि अदालतको आदेशानुसार जग्गा उपलब्ध गराउन पहल भइरहेको छ।’  

अण्डरग्राउण्ड पार्किङसहित बन्ने नयाँ भवनमा भूँइतलामा ४७ बेडको इमर्जेन्सी वार्ड, २० वटा जनरल बेड, पहिलो तलामा आईसीयू, एचडियू, आइसोलेसन र क्याबिन कोठा बन्ने छ। दोस्रो तलामा १२ बेडको डाइलसिससहित अन्य बेड हुनेछ। तेस्रो तलामा मुटु, न्युरो, सिसियू बेड हुनेछ।

सरकारी स्वामित्वमा रहेको अस्पतालको नाममा मुख्य बजारमा साढे ५ बिघा जग्गा रहेको छ। जसमध्ये विराटनगर अस्पताल चोकमा रहेको गणेश मन्दिरले १ कठ्ठा १० धुर, देवकोटा पुस्तकालयले २ कठ्ठा र रेडक्रस सोसाइटीले १ कठ्ठा १३ धुर प्रयोग गरिरहेका छन्।

प्रकाशित: ६ फाल्गुन २०७७ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App