८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

५५ वर्षमाथिका र दीर्घरोगीलाई फागुन तेस्रो सातादेखि खोप

नेपालमा ५५ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप तेस्रो चरणमा दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतबाट खरिद गरी ल्याइने थप १० लाख र कोभ्याक्सले दिने २० प्रतिशत खोप तेस्रो चरणमा ५५ वर्षमाथिका नागरिकलाई दिने तयारी मन्त्रालयले गरिरहेको मन्त्रालयका विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए।  

कोभ्याक्सले दिने खोप फेबु्रअरी दोस्रो साताभित्र आउने र भारतबाट पनि खोप खरिद प्रक्रिया अघि बढिसकेकोले फागुनको तेस्रो सातादेखि यो उमेरभन्दा माथिका नागरिकलाई खोप दिन सम्भव हुने कोभिड १९ खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीले बताए।  

सरकारले पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार, विदेशी कूटनीतिक नियोगका कर्मचारी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शववाहन, वृद्धाआश्रम व्यवस्थापक तथा फोहोरमैला व्यवस्थापन कर्मचारीलाई खोप दिइसकेको छ। यो समूहले लिएर बाँकी रहेको ३ लाख खोप प्रहरी, स्थानीय सबै जिल्लाका सेवाप्रदायक कार्यालयका कर्मचारी, मालपोत, नापी, बैंक, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका कर्मचारीलगायतलाई दिइने मन्त्रालयले जनाएको छ।  

हाल मौज्दात खोपको मात्रा कम भएकाले जोखिममा रहेका दीर्घरोगी तथा जेष्ठ नागरिकभन्दा पहिले अन्य समूहलाई खोप दिइएको मन्त्रालयको भनाइ छ। त्यसैगरी अहिलेकै डोजमा रहेको खोप जेष्ठ नागरिकलाई दिनका लागि समुदायस्तरमा खोप केन्द्र स्थापना गर्नुपर्ने र यसो गर्दा खर्चिलो हुने भएकाले पनि पहिलोचरणको बाँकी खोप ५५ वर्षमाथिको समूहलाई दिन सम्भव नभएको श्रेष्ठले बताए। ‘अहिले जिल्ला सदरमुकाम र ठूला अस्पतालमा मात्र खोप केन्द्र छन्, जेष्ठ नागरिकहरूलाई ती केन्द्रमा लगेर खोप लगाउन सम्भव छैन। त्यसैले तेस्रो चरणमा समुदायमै खोप केन्द्र सञ्चालन गरिएपछि खोप सहज हुन्छ,’ उनले भने।

प्रकाशित: २९ माघ २०७७ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App