coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोभ्याक्सले दिने खोप फागुनभित्रै आउने

नेपाललाई कोभ्याक्सले दिने भनेको २२ लाख ५६ हजार कोभिड–१९ विरुद्धको खोप फागुनभित्रै आइपुग्ने भएको छ। गत साता कोभ्याक्स अभियानका लागि एउटा निकाय गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाइसकेको कोभिड–१९ खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीले जनाए। ‘गाभीले पत्र पठाइसकेको छ,’ उनले भने, ‘फागुनको दोस्रो साताभित्र २० प्रतिशतमध्ये केही खोप आइपुग्छ।’  

कोभ्याक्स विश्वभरि कोभिड–१९ विरुद्धको खोप धनी तथा विपन्न राष्ट्रहरू दुवैको पहुँचमा समान वितरण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफ मिलेर बनेको साझा अभियान हो। यो अभियानअन्तर्गत नेपालमा पहिलो चरणमा २० प्रतिशत खोप वितरण हुने घोषणा भएको थियो। त्यही २० प्रतिशतमध्येबाट २२ लाख ५६ हजार पहिलो चरणमा पठाउनेछ। त्यसपछि क्रमश चरणबद्ध रूपमा पठाउँदा ६० लाख जनसंख्यालाई पुग्नेगरी पठाउनुपर्नेछ। विश्व स्वास्थ्य संगठनका अनुसार कोभ्याक्सले बंगलादेशलाई नेपालको तुलनामा दोब्बर मात्रा १ करोड २७ लाख ९२ हजार दिने भएको छ।  

कोभ्याक्सले अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनिकाले निर्माण गरेकै खोप पठाउँदैछ। तर कुन देशमा उत्पादित खोप पठाउँदैछ भन्ने निक्र्योल भने नभएको डा. उप्रेतीले बताए। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलका अनुसार हाल भारतले अनुदानस्वरूप दिएको सेरम इन्स्टिच्युट अफ इन्डियाको खोप नेपालका लागि उपयुक्त हुने स्थिति छ। ‘हामीकहाँ कोभिड सिल्ड खोप भण्डारण गर्न उपयुक्त तापक्रम छ,’ उनले भने, ‘यही कम्पनीबाट पनि थप खोप खरिद हुन सक्छ।’ सरकारले आगामी दिनमा थप खोप पनि सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गर्ने सम्भावना रहेको उनले पोखरेलले बताए।  

नेपाललाई कोभ्याक्सले खोप दिने विषयमा नेपालका लागि बेलायती राजदूत निकोलापोलिटले बिहीबार नै ट्विट गरेर आफूलाई खुसी लागेको जनाएकी छन्। उनको ट्विटमा उल्लेख छ, ‘बेलायत सरकारको कोभ्याक्सलाई करिब साढे ७ खर्ब (५ सय ५० पाउन्ड) सहयोगले नेपाललाई २० लाखभन्दा बढी डोज आगामी महिनासम्म आउने भएकोमा खुसी छु।’

त्यसैगरी गाभीले आफ्नो वेबसाइटमार्फत कोभ्याक्सले यो वर्षभित्र ९२ वटा कम आय भएका देशहरूका लागि १ अर्ब ३० करोड खोप उपलब्ध गराउने जनाएको छ। तर यो आउनुपूर्व नै भारतले १० लाख खोप अनुदानका रूपमा दिएपछि अग्रपंक्तिमा काम गर्नेका लागि खोप अभियान सुरु भएको छ। विश्व स्वास्थ्य संगठनले कोभ्याक्स अभियानका संगठनहरूलाई पहिलो चरणको खोप वितरण तालिका सूचनामार्फत जानकारी गराउँदै फाइजर बायोटेक र एस्ट्राजेनिकाले खोप सन् २०२१ को ६ महिनाभित्र उपलब्ध गराउनेगरी सम्झौता भएको जानकारी दिएको छ।  

थप खोप भारतबाट किन्ने पहल

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २० लाख खोप भारतबाटै ल्याउने पहल भइरहेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ। महाशाखा प्रमुख भीमसिंह तिंकरीका अनुसार फागुनभित्रै ल्याउनेगरी नेपालले भारत सरकारसँग पहल गरिरहेको छ। यो खोप किनेर ल्याउनुपर्नेछ। विश्वभरि खोपको माग बढिरहेको र बजारमा खोप अभाव भइरहेकाले बजारमा खरिद प्रक्रियाबाट खोप ल्याउन सम्भव नभएको तिंकरीले बताए।

कति मूल्य बराबरको खोप ल्याउन लागेको विषयमा भने यकिन नभएको तर खोप ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पहल भइरहेको डा. तिंकरीले बताए। ‘सिधै किनेर ल्याउनुपरे पनि बंगालदेशले भन्दा कम मूल्यमा नेपाल ल्याउन सफल हुने देखिएको छ,’ उनले भने।

प्रकाशित: २४ माघ २०७७ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App